बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागुऔषध कोडिनसहित ५ जना प्रहरी नियन्त्रणमा

आइतबार, २१ असोज २०८०, १८ : ३२
आइतबार, २१ असोज २०८०

हेटौंडा । मकवानपुरको मनहरीबाट लागुऔषध कोडिनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीले विशेष सूचनाको आधारमा लागुऔषध कोडिन ६०२ बोतलसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार  विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले असोज २० गते राती साढे ९ बजेको समयमा मनहरी–६ नयाँबस्तिस्थित प्रतापपुरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । 

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–८ घर भई हाल मनहरी–६ बस्ने वर्ष ३३ को विकास भन्ने कुमार मोक्तान, कैलाश–८ बस्ने वर्ष ३५ को रामबहादुर स्याङ्वो, मनहरी–४ रमनटार  बस्ने वर्ष ३० रामचन्द्र गोले, मनहरी–४ बस्ने वर्ष २० को दालबहादुर मोक्तान र पर्सा ठोरी–८ बस्ने वर्ष ३२ को जितबहादुर चापागाई रहेका छन् ।

प्रतापपुर कच्ची सडकमा पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकल र सो मोटरसाइकलको पछाडि भारी बोकी हिँडाउँदै आइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताए । 

शंकाका आधारमा चेकजाँच गर्दा उनीहरुले बोकेको भारीमा लुकाई छिपाई गरी ल्याएको अवस्थामा ६०२ बोतल कोडिन, २५ ग्राम चरेश तथा नगद ८ लाख रुपैयाँ समेत फेला परेको छ ।  

प्रहरी उपरीक्षक रिजालका अनुसार निज कुमार मोक्तान लागुऔषध कारोवारी रहेका छन् । मोक्तानले भारतबाट तयारी लागुऔषध र मकवानपुरबाट लागुऔषध गाँजा भारततर्फ ओसार पसार गर्ने गरेका छन् । 

प्रहरी उपरीक्षक रिजालका अनुसार उनीहरुलाई पक्राउ गरिएका स्थानमा लागुऔषध लुकाउन ठुल्ठुला खाडल निर्माण गरिएको थियो । निज मोक्तान लागुऔषध मुद्धामा २ वर्ष जेल सजाय काटेर केही समय अघि मात्र रिहा भएका थिए । 

मोक्तानलाई २०७६ फागुन १६ गते इलाका प्रहरी कार्यालय मनहरीबाट लागुऔषध ओनरेक्स ७३ बोतलसहित पक्राउ गरी मुद्दा दर्ता गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप