शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तर्वार्ता

‘यस्तो गहकिलो परिवर्तन हाँक्ने व्यक्तिहरू उदाहरणीय बन्न सकेनन्’

राजेश हमाललाई प्रश्न : सिनेमा र समाजबिच दूरी कति छ ?
शनिबार, १६ मङ्सिर २०८०, १७ : २७
शनिबार, १६ मङ्सिर २०८०

नेपाली चलचित्र जगतमा साढे तीन दशक बिताएका अभिनेता राजेश हमालको अनुभवको आँखाले सिनेमा र समाजबिच कति दूरी देख्ला ? बौद्धिक अभिनेताको छवि बनाएका हमालसँग यही प्रश्नमा केन्द्रित भएर संवाद गर्‍यौँ । प्रस्तुत छ, अभिनेता हमालसँगको संवादको सम्पादित अंंश : 

  • सिनेमा क्षेत्रमा यहाँको साढे तीन दशक लामो अनुभव छ, मनोरञ्जनका लागि सिनेमा र सन्देशका लागि सिनेमा भन्ने पक्षबाट बहस भइरहेको देखिन्छ, यहाँलाई के लाग्छ ? 

सिनेमामा मनोरञ्जनको तत्त्व हुनैपर्छ, जसले जेसुकै भने पनि । सिनेमामार्फत तपाईं चाहे गहकिलो विषयवस्तु वा गम्भीर मुद्दा उठाउनुस्, सिनेमामार्फत जेसुकै भन्नुस्, तर मनोरञ्जनकै प्याकिजिङमा त्यसलाई प्रस्तुत गर्नुपर्छ । नत्रभने सिनेमा प्रत्युत्पादक हुन्छ । 

कुनै विशेष समूहलाई शिक्षा वा ज्ञान दिनका लागि फिल्म बनाइएको छ भने बेग्लै कुरा हो । आम दर्शकलाई मध्यनजर गरेर फिल्म बनाउनुभएको छ र गहकिलै विषयवस्तु पस्कनका लागि पनि त्यसमा मनोरञ्जनको प्याकेजिङ हुनैपर्छ । जसरी बच्चालाई तितो औषधि खुवाउँदा त्यसमा ‘सुगर कोटिङ’ (गुलियो लेप) गरिन्छ, यसरी नै फिल्ममार्फत गहकिलो विषयवस्तु दर्शकलाई हेराउन मनोरञ्जनको तत्त्व मिसाउनुपर्छ । मनोरञ्जनको तत्त्व भएन भने दर्शक अडिँदैनन् । 

rajesh hamal (1)

  • सिनेमा र समाज, सिनेमा र व्यवस्थाबीच यहाँले कति दूरी देख्नुहुन्छ ? 

सिनेमा र समाज एउटा विशेष सर्कलजस्तो हो । सिनेमा, कला–साहित्य, कथा, कविता जे भए पनि त्यसको प्रेरणाको स्रोत समाज नै हुन्छ । समाजमा देखिएका कुरा, समाजमै घटेका घटना, समाजमै अनुभव गरेका भावनाहरूबाट सर्जक प्रेरित हुन्छ । सर्जकले समाजमा जे देख्यो, त्यसलाई पहिले कथाको रूपमा बुन्छ, त्यसपछि उसले त्यसलाई कथा, कविता, उपन्यास, सिनेमा जेमा ढालोस्, त्यसो हुँदाबित्तिकै उसले सुरुमा देखेको घटनामा हल्का अर्को डाइमेन्सन हुन्छ, अर्थात् केही थपघट हुन जान्छ । सिनेमाको हकमा कतिपय विषय अझ आकर्षित रूपमा प्रस्तुत गरिन्छ । दर्शकले आफ्नो समाजकै कथामा बनेको सिनेमा हेर्छन्, तर त्यसलाई अरु धेरै कुराले प्रभावित गरेको हुन्छ । समाजको कथालाई राम्रा–राम्रा हिरो–हिरोइन्मार्फत भनिन्छ र त्यसबाट समाज प्रभावित हुन्छ । समाजका केही कुरा सिनेमाले लिन्छ, सिनेमाबाट केही कुरा समाजले लिन्छ, यसरी सिनेमा र समाजको एउटा सर्कल बन्छ । 

कुनै पनि सिर्जना मानिसको दिमागबाट आउने हो, मानिसको दिमागमा अनुभवहरू नै हुन्छन् । समाजकै कुरा सर्जकले देखेको, सुनेको र भोगेको होला, त्यसैलाई उसले आफ्नो दिमागमा राखेको होला । त्यसैका आधारमा उसले आफ्ना सिर्जना पस्कन्छ होला । त्यसैलाई उसले आफ्नो विशुद्ध सिर्जना भन्छ होला, तर सिर्जना विशुद्ध आफ्नो भन्ने हुन सक्दैन । 

हामीकहाँ परिवर्तन चानचुने होइन तर यस्तो गहकिलो परिवर्तन हाँक्ने व्यक्तिहरू त्यही किसिमको उदाहरणीय चरित्र बन्न सकेनन् । हामीले बैठक कक्षमा फोटो टाँस्ने किसिमको आदर्श व्यक्ति नै पाएनौ । त्यसकारण चलचित्रकर्मीहरू पनि मोटिभेट भएनन् । त्यही किसिमको भयङ्कर पात्र, त्यही किमिसको प्रभावकारिता, त्यही किसिमको आदर्श भइदिएको भए धेरैले आ–आफ्नो ढङ्गले इन्टरप्रेटेसन गरेर त्यसलाई खडा गर्थे होला । 
  • नेपाली सिनेमा र समाज सँगसँगै हिँडेका छन् वा अघि–पछि, यहाँले के देख्नुहुन्छ ?

समाज सँगसँगै हिँड्नुपर्ने हुन्छ, कुनै पनि सिर्जना । हिँडेन भने त्यो प्रत्युत्पादक हुन्छ । यतिखेर हामी सिनेमाको कुरा गर्दैछौँ । प्रायः सिनेमाले तत्कालीन समाजको दृष्टिकोण, भावना, परिवेश आदिसँग मेल खाने विषयवस्तु पस्केको हुन्छ । 

मैले सिनेमामा काम सुरु गर्दा एक प्रकारको समाज थियो । त्यही बेलाका युवाको आकाङ्क्षा, त्यही बेलाका आर्थिक र राजनीतिक अप्ठेरा, त्यही बेलाको जीवनशैली, त्यही बेलाका सामाजिक र सांस्कृतिक पक्ष वा चुनौतीहरूलाई चलचित्रमा प्रतिविम्बित हुन्थ्यो । 

सुरुवातमा मैले प्रायः फिल्ममा विद्रोही युवाको भूमिका निभाएँ । समाजका हुने थिचोमिचो, धनी–गरिबको भावना आदिका कारण युवाहरू त्यतिबेला विद्रोही र आक्रोशित नै थिए । एउटा आक्रोशित युवाले गर्न चाहेको कुरा कहीँ न कहीँ मैले निभाएको चरित्रमा आउँथ्यो । 

अहिले वागमतीमुनि धेरै पानी बगिसक्यो । अहिले युवाको आकाङ्क्षा, जीवनशैली, उहाँहरूले खोज्ने स्वादमा धेरै परिवर्तन भएका छन् । अहिलेका चलचित्रले कहीँ न कहीँ वर्तमान समाजलाई नै प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । हामी भन्छौँ — पहिलेको चलचित्र यस्तो, अहिलेको चलचित्र उस्तो । यसो भन्नुको अर्थ पहिलेको र अहिलेको समाज भन्ने नै हो । यो पहिले र अहिले भन्ने जुनसुकै कालखण्डमा हुन्छ । यही हो, सिनेमाले वर्तमान समाजलाई नै प्रतिविम्बित गर्नुपर्छ, गरेन भने प्रत्युत्पादक हुन्छ । 

rajesh hamal (9)

  • कला वा सिनेमा समाजभन्दा अगाडि हुनुपर्छ र त्यसले समाजलाई मार्गनिर्देशन गर्नुपर्छ भन्नेहरू पनि छन्, यसमा यहाँको धारणा ? 

सिनेमाको सशक्ततालाई नजरअन्दाज गर्न मिल्दैन, कथा भन्ने असाध्यै सशक्त माध्यम हो सिनेमा । अंग्रेजी भनाइ छ, ‘सिइङ इज् बिलिभिङ’ । सुनेको वा पढेको कुराभन्दा देखेको दृश्यलाई व्यक्तिले झट्ट पत्याउँछ । दर्शकलाई थाहा हुन्छ — सिनेमामा देखाइएका घटना नाटकीय हुन्, यसमा पस्केको सबै कलाकारिता हो । यो थाहा हुँदाहुँदै पनि सिनेमामा कथालाई प्रभावकारी हिसाबबाट पस्किएको छ भने दर्शक बहकिन्छन् । सिनेमाका दृश्यबाट दर्शक उत्तेजित हुन सक्छन्, खुसी वा दुःखी हुन सक्छन्, रुन्छन् पनि । यसकारण सिनेमा असाध्यै प्रभावकारी माध्यम हो, यसका मेकरहरूले यसलाई बुझेका हुन्छन् । 

हाम्रो परिवेशमा हामीले समाजलाई परिवर्तन गर्ने सोचले, त्यो गहिराइबाट चलचित्र बनायौँ वा बनाएनौँ त्यो आफ्नो ठाउँमा छ । विभिन्न राष्ट्रले भने सिनेमामार्फत नजाँनिदो ढङ्गले समाजको दृष्टिकोण बल्दन खोजेको देखिन्छ । यसो गर्नुमा विभिन्न तत्त्वले भूमिका खेलेको हुन सक्छ । सिनेमा मनोरञ्जनकै साधन भए पनि त्यसको प्रभावकारितालाई त्यहाँका राजनीतिज्ञले, त्यहाँका धनाढ्य व्यक्तिले बुझेका हुन्छन् । सिनेमा बनाउने व्यक्तिको पनि त्यहाँ ठूलो स्थान वा प्रभाव हुन्छ । यी व्यक्तिको सायद इन्ट्रेस्ट होला, समाजलाई यो प्रकारको कुरा बुझाउँ भन्ने । यो ढङ्गले फिल्म बनाए पनि दर्शकले मनोरञ्जन लिनकै लागि हेर्न सक्छन् तर मनोरञ्जनकै बिचमा कहीँ न कहीँ सामाजिक दृष्टिकोण, राजनीतिक दृष्टिकोण, धार्मिक दृष्टिकोण बदल्ने ढङ्गले कथा आएको हुन सक्छ । तर यस्ता विषयलाई प्रभावकारी ढङ्गले मनोरञ्जनको ‘कोटिङ’मा पस्केको देखिन्छ । जसले समाजलाई प्रभाव पनि पारेको छ । 

कलाकार भनेको विशेष गरेर भावनासँग खेल्ने व्यक्ति हो । भावना मान्छेहरूका लागि असाध्यै महत्त्वपूर्ण छ । विडम्बना के छ भने समाजमा मान्छेले आफूले चाहेजस्तो हिसाबबाट आफ्नो जीवनकालमा भावनाहरू प्रकट गर्न सक्दैन ।

कति राष्ट्र वा कुनै समूहले फलानो सिनेमा ब्यान्ड गर्नुपर्छ भनेको सुनिन्छ । फिल्मका पात्र र घटना काल्पनिक भए पनि, मनोरञ्जनको हेतुले फिल्म बनाइए पनि उनीहरूलाई लाग्छ कि यो हेरिसकेपछि दर्शकको सोचाइमा केही न केही परिवर्तन हुन्छ । हामीले पनि फिल्मको सशक्ततालाई बुझ्नुपर्छ । 

हामी सच्चा सर्जक हौँ, हामीमा सिर्जना गर्ने त्यही किसिमको क्षमता र गहिराइ छ भने हामीले सिनेमाका माध्यमबाट समाजलाई केही सकारात्मक सन्देश दिन सक्छौँ, समाजको सोचमा केही परिवर्तन ल्याउन सक्छौँ । 

  • कलाकार भनेको के रहेछ ?

कलाकार भनेको विशेष गरेर भावनासँग खेल्ने व्यक्ति हो । भावना मान्छेहरूका लागि असाध्यै महत्त्वपूर्ण छ । विडम्बना के छ भने समाजमा मान्छेले आफूले चाहेजस्तो हिसाबबाट आफ्नो जीवनकालमा भावनाहरू प्रकट गर्न सक्दैन । किनकि समाजमा विभिन्न किसिमका परिधि छन् । समाजमा तपाईंले चाहे जति प्रेम, चाहेजति घृणा, चाहे जति आक्रोश व्यक्त गर्न सक्नुहुन्न । यतिसम्म कि तपाईं चाहेजति हाँस्न सक्नुहुन्न । तपाईं संकुचित बन्नुपर्छ, मैले यसो गर्दा अरुले के भन्लान् भनेर सोच्नुपर्छ । 

rajesh hamal (8)

रेस्टुरेन्टमा गज्जबकी युवती देख्नुभयो । ‘आहा ! कति राम्री यार, गएर आई लभ यु भन्न पाए’ भनी सोच्नुभयो भने तपाईं ‘भन्न पाए’मै गुम्सिरहनुहुन्छ । तपाईं सोच्नुहुन्छ कि मैले यसो भन्दा उसको प्रतिक्रिया के हुने हो ! सिनेमामा यही खालको स्क्रिप्टमा काम गर्न सकिन्छ । रेस्टुरेन्टमा बसिरहेकी युवतीको अगाडि सिधै गएर एउटा घुँडाले टेकेर आई लभ यु भन्ने दृश्य छ भने कलाकारले निर्देशकको निर्देशन अनुसार दिल खोलेर भन्न सक्छ । सिनेमामा भिलेनको कठालो समातेर चिच्याउन सकिन्छ । वास्तविक जीवनमा यी कार्य गर्न सम्भव छैन । कलाकारिताको भिन्नता यही हो, यी सबै नवरस, सबै भावनाहरूलाई कलामार्फत प्रकट गर्न सकिन्छ । 

गीत, सिनेमा, लेख वा कुनै सिर्जनामार्फत मानिसले आफूलाई अभिव्यक्त गरिरहेको हुन्छ । यस्ता सिर्जना नगर्नेले एकआपसमा कुरा गरेर मात्रै पनि आफूलाई अभिव्यक्त गरिरहेका हुन्छन्् ।

  • एउटा कलाकारमा ‘पोलिटिकल लिटरेसी’ हुन आवश्यक छ वा छैन ?

दुवै हो । आवश्यक छ भनेर म ठोकुवाका साथ भन्न सक्दिनँ । किनकि धेरै राम्रा कलाकार पनि हुनुहुन्छ, जो कलाकारितामा पोख्त हुनुहुन्छ, तर उहाँहरूलाई राजनीतिक कुरामा कुनै मतलब छैन । 

देशमा को प्रधानमन्त्री छ, देशमा कुन सत्ता वा आइडियोलजीले भूमिका खेलिरहेको छ, यसबारे जान्न मलाई खाँचो र चासो छैन । मेरो काम वा विधा भनेको सिर्जना गर्नु हो, अभिनय गर्नु हो, म यही मुडमा बस्न चाहन्छु र यही मात्रै गर्छु भन्ने कलाकार पनि छन् — हलिउडदेखि बलिउडसम्म । हामीकहाँ पनि छन् होला । उहाँहरूलाई गएर ए तिमीले खराब गर्‍यौ भन्न मिल्दैन । किनभने उहाँहरूले जे काम गर्न खोजेको हो, त्यसलाई सही ढङ्गले गरिरहनुभएको छ । एउटा कलाकार नृत्यमा पोख्त छ भने उसलाई मल्लकालको अर्थनीतिका बारेमा सोध्न आवश्यक छैन । अथवा देशको वर्तमान राष्ट्रिय राजनीति कसरी चलेको छ भनेर सोध्दा उसले भन्न सकेन भने उसलाई नालायक हो भन्न मिल्दैन । उसले आफ्नो काम गज्जब गरिरहेको छ । मेरो व्यक्तिगत दृष्टिकोणमा, राजनीतिक विषय जानेको खण्डमा राम्रो हो ।

अहिले सोभियत युनियन कोल्याप्स भयो, त्यसपछि हलिउडले अर्को नेगेटिभ पात्र खडा गर्नुपरेको छ । अहिले हलिउड हेर्नुभयो भने, या त आतंकवादी होला, या केही न केही नेगेटिभ तत्त्व कल्पना गरिएको हुन्छ । उनीहरूले पृथ्वीको मान्छे अन्य ग्रहको एलियनसँग लडेकोसम्म कल्पना गरेका छन् । 

सर्जकले सामाजिक अवस्था, राजनीतिक अवस्था, समाजको परिस्थितिलाई नै आधार बनाएर कुनै सिर्जना गरेको हुन्छ । फिल्मको कलाकारले म कलाकारितामा मात्रै सीमित हुन्छु, मलाई अरुको मतलब छैन भन्दै गर्दा कहिलकाहीँ त्यस्तै विषयवस्तु बोकेको फिल्ममा काम गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा कलाकारले आफूले भूमिका निभाउने पात्रको पृष्ठभूमि बुझ्नुपर्ने हुन्छ । फिल्म अनेक विषयवस्तुमा बन्न सक्छन् । 

भोलि जनयुद्धमा मात्रै केन्द्रित रहेर सिनेमा बन्न सक्छ । यसमा अभिनय गर्ने कलाकारले जनयुद्धको पृष्ठभूमि, त्यतिबेलाको राजनीतिक र सामाजिक अवस्था बुझ्नुपर्ने हुन सक्छ । भोलि ऐतिहासिक चलचित्र बन्ला, कसैले पृथ्वीनारायण शाहको बारेमा चलचित्र बनाउला, त्यसमा अभिनय गर्ने कलाकारलाई पृथ्वीनारायणका बारेमा सामान्य ज्ञान हुँदा सहज हुन्छ । अरु बेला बुझ्न नचाहे पनि खास राजनीतिक पात्र र परिस्थितिमा उभिँदा त्यसबारे बुझ्नुपर्ने हुन्छ, यदि ऊ सच्चा कलाकार हो भने । 

देश कसरी चलेको छ, समाज कस्तो भइरहेको छ, कुन दिशामा गइरहेको छ भन्ने जान्दा राम्रै हुन्छ । एकजना पोलिटिकल साइन्सका प्रोफेसरले मलाई भनेका थिए — समाजमा बसिसकेपछि तपाईंले राजनीतिमा चासो नराखे पनि राजनीतिले तपाईंप्रति चासो राख्छ । तपाईं राजनीतिबाट अलग्गिनु होला, तर राष्ट्रमा तपाईं बसिसकेपछि राष्ट्रको राजनीति तपाईंबाट अलग्गिन सक्दैन । किनभने राजनीतिक गतिविधि, देशको अर्थतन्त्र वा अर्थनीतिले हरेकको दैनिकीमा असर पारिरहेको हुन्छ । किन असर पारिरहेको छ भनेर थाहा पाउनु राम्रो हो । 

  • हलिउड नायकले आफ्नो देशका समस्या र पृथ्वीका मानिस वा देशसँग लड्न पुगेर एलियन वा अन्य ग्रहसँग लडेको जस्तो पनि देखिन्छ, लड्नैपरे आतंकवादसँग लड्छ । बलिउड नायक देशको सिमाना वा राष्ट्रियताका लागि र भ्रष्टाचारविरुद्ध लडेको देखिन्छ । वास्तवमा नेपाली सिनेमाको नायक कोसँग लडिरहेको थियो र छ ?

तपाईंले यो कुरा सोध्नुभयो, दर्शकले पनि कता न कता यो सोचिरहेका हुन्छन् । सर्जकले पनि यसै हिसाबले कथा बुनिरहेका हुन्छन् । 

rajesh hamal (5)

सिनेमामा जहिले पनि पोजिटिभ र नेगेटिभ तत्त्व राख्नैपर्ने हुन्छ, राख्दिनँ भन्दाभन्दै पनि । कहिलेकाहीँ वा कुनै बेला समाजमा प्रत्यक्ष नेगेटिभ तत्त्व देखिएको हुँदैन, अझ भनौँ टड्कारो रूपमा देखिएको हुँदैन । पहिले सोभियत युनियन कम्युनिस्ट राज्य थियो, त्यो बेला हलिउडले फिल्म बनाउँदा रसियालाई नेगेटिभ देखिरहेको हुन्थ्यो । अहिले सोभियत युनियन कोल्याप्स भयो, त्यसपछि हलिउडले अर्को नेगेटिभ पात्र खडा गर्नुपरेको छ । अहिले हलिउड हेर्नुभयो भने, या त आतंकवादी होला, या केही न केही नेगेटिभ तत्त्व कल्पना गरिएको हुन्छ । उनीहरूले पृथ्वीको मान्छे अन्य ग्रहको एलियनसँग लडेकोसम्म कल्पना गरेका छन् । 

बलिउडको कुरा गर्दा, राजनीतिक हिसाबले इन्डिया र पाकिस्तानबीच कन्फ्लिक्ट हुनु दुर्भाग्यपूर्ण छ तर सिनेमाको सर्जकले त्यसबाट मसला पाइरहेको छ । हाम्रो पेरिफेरीमा कुरा गर्दा, त्यसरी बाहिरी तत्त्वलाई फिल्ममा ल्याउने स्थानमा हामी छैनौँ । हाम्रो राजनीतिक र सामाजिक परिवेश पनि त्यो खालको होइन ।

यद्यपि राष्ट्रवाद भन्ने चिज यस्तो हो, जसलाई प्रायःले आत्मसात् गर्छन् । नेपाली झन्डा फहराएर रातो र चन्द्र सूर्य भन्ने गीत बज्दा हामीमा राष्ट्रवादको भावना जागिहाल्छ । अहिले इजरायलमा बमबारी भइरहेको छ, त्यहाँ बस्ने नेपाली महिलाले बमबारीकै बीचबाट म पनि गोरखालीको छोरी हो, म डराउँदिनँ भनिन् भने यहाँ नेपाली कता न कता जुर्मुरिइहाल्छन् । फिल्ममा सर्जकले यस्तै भावना तान्ने कोसिस गर्छ । मानिसलाई छुने यस्तो स्युर सट भावनालाई क्यास गर्न खोजिहाल्छन् । यस्ता भावना सशक्त ढङ्गले पस्केको खण्डमा फिल्ममा अन्य त्रुटि पनि नजरअन्दाजमा पर्छन् । जस्तो : भर्खरै भारतमा गदर २ फिल्म आयो । तपाईंले फिल्म मेकिङको पारखी भएर हेर्नुभयो भने त्यहाँ धेरै त्रुटि छन् । अहिले बलिउडमै पनि फिल्महरू हाई टेक्नोलोजीमा बनिरहेका छन् । त्यसको अनुपातमा यो फिल्म साह्रै फितलो छ तर राष्ट्रिय भावना प्रबल रूपमा आएपछि बाँकी कुरा नजरअन्दाज गरियो । 

नेगेटिभ र पोजिटिभ पक्षहरू फिल्ममा ल्याउने क्रममै राष्ट्रवादको भावना जगाउनेदेखि आफ्नो राष्ट्रको सामाजिक मुद्दाहरू उठाउने गरिन्छ । अहिले हामीले सिनेमाको कथामा विदेश जानुपरेको कारण खोतल्न सक्छौँ, राजनीतिका चलखेल, भ्रष्टाचारलाई देखाउन सक्छौँ ।

भारतमा हेर्नुस्, अंंग्रेज शासन गयो । उनीहरूले महात्मा गान्धी पाए, जवाहरलाल नेहरू पाए । हो, लोकतान्त्रिक परिवेशमा सबै व्यक्ति सबैलाई शतप्रतिशत मन पर्दैन, त्यो आफ्नो ठाउँमा छ तर पनि बहुसंख्यक जनताले आदर्श मान्ने पात्रहरू भारतले पायो । उनीहरूको कला र साहित्यमा गान्धी, नेहरू, सुवासचन्द्र बोस, भगतसिंह जस्ता पात्र कहीँ न कहीँ झल्किरहेका छन् ।

पछिल्लो १०–१२ वर्षमा विभिन्न मुद्दामा केन्द्रित भएर धेरै नेपाली चलचित्र बने । ती फिल्म झट्ट हेर्दा विगतका भन्दा अलि बेग्लै स्वादको जस्तो देखिन्थ्यो, दर्शकले यस्तै महसुस गरेको पाइयो । 

सुरुवाती चरणमा मैले जस्ता फिल्म खेलेँ, त्यतिबेला फिल्ममा कुन न कुनै रूपमा नायकको हिरोइजम् देखाइन्थ्यो । हरेक मुद्दामा नायक ‘लार्जर देन लाइफ’ जस्तो देखिएर समस्याको समाधानमा लाग्थ्यो वा त्यस्तै आश्वासन दिन्थ्यो । मैले खेलेका अधिकांश फिल्ममा त्यही किसिमको हिरोइजम्् झल्केको हुन्थ्यो । मैले एउटा ‘भरिया’ फिल्म खेलेको छु । ठेलगाडा चलाउने, भारी बोक्ने पात्र नै किन नहोस्, अन्त्यमा ऊ आफ्नो परिवार, परिवेश र समाजमा भएका थिचोमिचो तथा अन्यायमा समाधान खोज्ने विद्रोही भएर निस्कन्छ । अहिलेको नेपाली फिल्ममा त्यो किसिमको हिरोइजम् भएको पात्र देखिँदैन । 

पछिल्लो दशकमा जस्तो विषयवस्तु पस्कन खोजेको हो, सोहीअनुरूपको चरित्र निर्वाह गर्न सक्ने कलाकारलाई लिएर चलचित्र बनाउन थालियो । अहिले आएर कता–कता नेपाली दर्शकले त्यो (हिरोइजम्) पनि खोजिरहेको जस्तो फिल भइरहेको छ । 

बलिउडमा ८०–९० को दशकको तुलनामा अहिले चलचित्रको प्रस्तुतिमा धेरै भिन्नता आएको छ तर बलिउडले पहिलेको जस्तो हिरोइजम् क्यारेक्टरलाई छाडेको छैन । हामीकहाँ पनि यो आवश्यक देखिन्छ ।

मैले फिल्मका पात्रमार्फत प्रकट गरेको विद्रोह र आक्रोशलाई दर्शकले आफ्नो ठान्थे । जसले विद्रोहको भावना हुँदाहुँदै पनि विद्रोह प्रकट गर्न सक्दैनथे, आक्रोश प्रकट गर्न सक्दैनथे, ती दर्शक मैले निभाएको पात्रमा आफूलाई पाउँथे । 

अहिले सामाजिक र राजनीतिक रूपमा हामी यस्तो घडीमा आएका छौँ, आम जनसमुदायले केही समाधान देखिरहेका छैनन् । अहिले समाजमा कुरीति–बेथिति छ, राजनीतिक अवस्था फितलो छ, कोही मार्गनिर्देशन दिनेजस्तो पात्र देखियो भने त्यसलाई समाजले उचालेको देखिन्छ, वास्तविक जीवनमै पनि । कोही हिरोइजम् भएको व्यक्तिले लिड गरिदेओस् भन्ने मनसाय कता–कता समाजमा देखिन्छ । नेपाली चलचित्रमा अब हिरोइजम् क्यारेक्टर आयो भने सामाजिक र राजनीतिक बेथिति, विकृति र किचलोकै खिलाफमा आउने हो । एलियन वा थर्ड कन्ट्रीलाई नेगेटिभ पात्र बनाएर होइन, आफ्नै सामाजिक–राजनीतिक विकृति र विसंगतिका विरुद्ध लड्ने ‘लार्जर देन लाइफ’को क्यारेक्टर आइदियो भने मलाई लाग्छ दर्शकले आफ्ना गुम्सिएका–थिचिएका भावना उजागर भएको महसुस गर्नेछन् । 

किसान, मजदुर, विद्यार्थी वा प्रशासन हाँक्ने पात्र पुलिस इन्सपेक्टरकै चरित्रमा किन नहोस्, एक किसिमको सामाजिक कुरीति, वर्गीय थिचोमिचो, जमिनदारका अन्याय वा राजनीतिक बेथितिकै खिलाफमा उत्रने पात्रको भूमिका मैले अधिकांश चलचित्रमा निभाएको छु । लामो समयसम्म नेपाली समाज यस्तै खालको थिचोमिचोबाट गुज्रिरहेको पनि थियो । मैले गरेको बहादुर, गाउँले, एक नम्बरको पाखे, भरिया, किसान आदि फिल्ममा तत्कालीन सामाजिक थिचोमिचो वा जनसमुदायको असन्तुष्टि देखाइएको छ ।

मैले फिल्मका पात्रमार्फत प्रकट गरेको विद्रोह र आक्रोशलाई दर्शकले आफ्नो ठान्थे । जसले विद्रोहको भावना हुँदाहुँदै पनि विद्रोह प्रकट गर्न सक्दैनथे, आक्रोश प्रकट गर्न सक्दैनथे, ती दर्शक मैले निभाएको पात्रमा आफूलाई पाउँथे । 

  • गणतन्त्रपछि व्यवस्थालाई मजबुत बनाउने फिल्महरू आउनुपथ्र्यो वा पर्दैनथ्यो, यहाँलाई के लाग्छ ? 

यस्ता खालका फिल्महरू नआएका पनि होइनन् । सम्पूर्ण चलचित्र यही विषयवस्तुमा केन्द्रित रहेर बन्यो वा बनेन भन्ने पनि आफ्नो ठाउँमा छ । कतै न कतै फिल्मले बदलिँदो राजनीतिक व्यवस्थालाई उठान गरेका छन्, त्यसको प्रभावकारिता कति रह्यो भन्ने आफ्नै ठाउँमा छ । 

राजनीतिक रूपमा व्यवस्था परिवर्तन त भयो, अप्ठेरो के भयो भने, व्यवस्था हाँक्ने व्यक्तिहरू उदाहरणीय हुन सकेनन् । हाँक्ने व्यक्तिहरू उदाहरणीय भइदिएको भए, उहाँहरूको वास्तविक जीवनको हिरोइजम्बाट मोटिभेटेड भएर चलचित्रहरू बन्न सक्थे ।

rajesh hamal (4)

जुन परिवर्तन भयो, नेपाली परिवेशका लागि चानचुने परिवर्तन होइन । एक हिसाबले एउटा कालखण्डमा परिवर्तन हुन्छ भनेर सोच्नु पनि अकल्पनीय थियो । एउटा लोकतान्त्रिक माहोल दिन्छ, लोकतान्त्रिक सभ्यता स्थापित गर्छ भने यही व्यवस्था समाजका लागि सबैभन्दा उत्कृष्ट हो तर यो व्यवस्था हाँक्ने व्यक्तिहरू लामो समयसम्म समाज र राष्ट्रका लागि धेरै उदाहरणीय हुनुपर्ने थियो । यस्तो ठूलो परिवर्तन हुँदा पनि परिदृश्यमा व्यवस्थालाई हाँक्ने व्यक्तिहरूमा त्यो किसिमको हिरोइजम्् प्रकट हुन सकेन, यो विडम्बना हो । व्यवस्था हाँक्नेहरू उदाहरणीय भइदिएको भए समाज र राष्ट्रका लागि एउटा बेग्लै किसिमको ऊर्जा हुन्थ्यो । सर्जकले सिर्जना गर्नका लागि धेरै खुराक पाउँथेँ । तर हुन सकेन । 

भारतमा हेर्नुस्, अंंग्रेज शासन गयो । उनीहरूले महात्मा गान्धी पाए, जवाहरलाल नेहरू पाए । हो, लोकतान्त्रिक परिवेशमा सबै व्यक्ति सबैलाई शतप्रतिशत मन पर्दैन, त्यो आफ्नो ठाउँमा छ तर पनि बहुसंख्यक जनताले आदर्श मान्ने पात्रहरू भारतले पायो । उनीहरूको कला र साहित्यमा गान्धी, नेहरू, सुवासचन्द्र बोस, भगतसिंह जस्ता पात्र कहीँ न कहीँ झल्किरहेका छन् ।

हामीकहाँ परिवर्तन चानचुने होइन तर यस्तो गहकिलो परिवर्तन हाँक्ने व्यक्तिहरू त्यही किसिमको उदाहरणीय चरित्र बन्न सकेनन् । परिवर्तन हाँक्ने व्यक्तिहरू जुनसुकै विचारधाराका होऊन्, उनीहरू त हरेक पुस्ताले आफ्नो बैठक कक्षमा फोटो टाँस्ने किसिमको उदाहरणीय बन्नुपर्ने हो, हामीले फोटो टाँस्ने किसिमको आदर्श व्यक्ति नै पाएनौ । त्यसकारण चलचित्रकर्मीहरू पनि मोटिभेट भएनन् । त्यही किसिमको भयङ्कर पात्र, त्यही किमिसको प्रभावकारिता, त्यही किसिमको आदर्श भइदिएको भए धेरैले आ–आफ्नो ढङ्गले इन्टरप्रेटेसन गरेर त्यसलाई खडा गर्थे होला । कविले आफ्नो ढङ्गले, उपन्यासकारले आफ्नो ढङ्गले, चलचित्रकर्मीले आफ्नो ढङ्गले, तर हाम्रो परिदृश्यमा हामीले त्यस्तो पात्र पाएनौँ । 

व्यक्तिले मान्ने रोल मोडलले उसको आइडेन्टिफिकेसन पनि दर्शाउँछ ।

हामीले आफ्नो अस्तित्व र आइडेन्टिफिकेसन ठोस रूपमा कतैबाट पाउन सकिरहेका छैनौँ । आफ्नो इतिहास र इतिहासका पात्रले गरेका योगदानले हरेक राष्ट्रका नागरिकको ठोस पहिचानलाई निर्धारण गर्छन् । हामीकहाँ त्यस्तो छैन, हामीले कि बुद्धको नाम लिनुपर्छ, कि सगरमाथाको देश भन्नुपर्छ । हाम्रो राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण हुन् भन्यो भने अर्को पक्षले होइन भनिदिन्छ । यसरी हाम्रो राष्ट्रिय आइडेन्टिफिकेसन भएन । त्यसकारण अहिले ‘तिमीलाई कुन नेता मन पर्छ’ भन्यो भने नयाँ जेनेरेसनमध्ये ९९ प्रतिशतले कुनै न कुनै विदेशी राजनीतिज्ञको नाम लिन्छन् । यसले हामीले आफ्नो आइडेन्टिफिकेसन गुमाउँदै छौँ भन्ने बुझाउँछ । 

व्यक्तिले मान्ने रोल मोडलले उसको आइडेन्टिफिकेसन पनि दर्शाउँछ । आफूजस्तै देखिने, आफ्नोजस्तै शैली अपनाउने, आफ्नै समाजबाट उठेको व्यक्ति नै पर्फेक्ट रोल मोडल हुन्छ, जब तपाईंले अर्कै समाजमा हुर्केको, अर्कै भाषा बोलेको, अर्कै संस्कृति अपनाएको व्यक्तिलाई रोल मोडल मान्नुपर्ने वा अर्कै देशबाट रोल मोडल खोज्नुपर्ने हुन्छ, सम्झनुस् त्यो समाज दिशाहीन भइरहेको छ । 

  • हामीकहाँ विविधता भएर, राज्यबाट सबै भाषा तथा संंस्कृतिको कदर नभएर पनि यस्तो समस्या आएको हो कि ?

विविधता कहाँ हुँदैन र ? भारतमै हेरौँ, त्यहाँ जति विविधता हामीकहाँ छैन । एउटा नेपाली भारतको बिहारमा गयो भने आफूलाई समायोजन गर्न सक्छ, तर त्यहाँ मद्रासबाट आएको व्यक्तिले आफूलाई अन्योलतामा पाउँछ, न भाषा मिल्छ न खानपिन । विविधताको अस्तित्व बचाउन त्यो विविधताको कदर हुनैपर्छ तर विविधताका बिच राष्ट्रिय स्तरमा केही चिजहरू साझा हुनुपर्छ । सबै भारतीयले ‘हमारा भारत महान्’ भन्छन् होला, महात्मा गान्धीलाई सबैले मान्छन् । यस्ता विषयमा एकजुट बनाउन त्यहाँ सिनेमाले पनि भूमिका खेलेको छ । पहिले दक्षिण भारतमा बन्ने सिनेमाहरू त्यही सीमित हुन्थे भने अहिले पूरा भारतमा चल्न थालेको छ । त्यसले उनीहरूलाई एक किसिमको राष्ट्रिय पहिचान दिइरहेको छ । त्यसैले विविधता जहाँ पनि हुन्छ र हरेक विविधताको अस्तित्व बचाउनका लागि मानिसहरू प्रयासरत भइरहनुपर्छ । 

धर्मप्रति व्यक्तिको भावनात्मक सम्बन्ध रहन्छ । त्यसैले राज्य तथा समाजले आफ्नो धर्मलाई प्रतिनिधित्व गरिदियोस् भन्ने भावना हुन सक्छ । मेरो बुझाइमा धर्म र राजनीति अलग अलग कुरा हुन् ।

अर्को कुरा, विविधताभित्र केही समानता हुन्छन् । विविधता त एउटै परिवारका सदस्यबीच पनि हुन सक्छ, तर परिवारमा बस्नका लागि पारिवारिक मूल्य–मान्यतालाई साझा रूपले मान्नुपर्ने हुन्छ । त्यो किसिमको भावना जाग्नुपर्छ । जस्तो : बाबुछोराको झगडा हुँदा बिचमा छिमेकी आयो भने बाबुछोरा मिल्लान् । 

  • अहिले नेपाली समाजमा धर्मनिरपेक्षतालाई नबुझेको जस्तो र सोही खालका गतिविधि भएको देखिन्छ, यसलाई यहाँले कसरी लिनुभएको छ ? 

धर्म भनेको असाध्यै संवेदनशील विषय हो । बौद्धिकताबाट छलफल गर्नेभन्दा पनि भावनात्मक कुरा हो यो । भावनात्मक विषयवस्तुलाई सही र गलत भनेर प्रस्ट्याउन धेरै गाह्रो हुन्छ । बुद्धि–विवेकले ग्रहण गरेको कुरामा छलफल गरेर यो ठीक र यो बेठीक भनी मानिस एउटा निष्कर्षमा पुग्न सक्छ तर भावनामा बसिसकेको कुरामा छलफल गर्नुको प्रभावकारिता रहँदैन । 

धर्मप्रति व्यक्तिको भावनात्मक सम्बन्ध रहन्छ । त्यसैले राज्य तथा समाजले आफ्नो धर्मलाई प्रतिनिधित्व गरिदियोस् भन्ने भावना हुन सक्छ । मेरो बुझाइमा धर्म र राजनीति अलग अलग कुरा हुन् । राजनीतिको उदय नै धर्म र राजनीतिलाई अलग बनाउन भएको हो । पौराणिक कालमा हाम्रो समाजलाई, युरोप, चीन जहाँसुकैका सबै समाजलाई धर्मले नै सञ्चालन गरिरहेको थियो । समाजमा धर्मका रखवालाहरूकै प्रभावकारी भूमिका हुन्थ्यो । धर्मकै कुराहरू वैधानिक हुन्थे तर एउटा चरणमा पुगेर होइन धर्मलाई एक ठाउँमा राखौँ, राष्ट्र सञ्चालन गर्नका लागि एउटा भिन्दै किसिमको खाका कोरौँ भनेर राजनीतिक संविधान आए, हक र अधिकारका कुरा आए । धर्म भावनाको कुरा भएकाले जो–जोले जुन–जुन धर्म अपनाउनुहुन्छ, त्यो धर्मलाई जीवित राख्ने, त्यो धर्मलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने जिम्मेवारी पनि उहाँहरूकै हो । कुनै पनि राष्ट्रमा बहुसंख्यकले मान्ने कुनै धर्म छ भने स्वतःस्फूर्त रूपमा त्यो राष्ट्रले त्यही धर्मबाट आफ्नो पहिचान बनाउँछ तर धर्मलाई राजनीतिक मुद्दा बनायो भने त्यहाँ किचलो हुन्छ ।

  • गएको चैतमा भारतीय निर्देशक चन्द्रप्रकाश द्विवेदीसँगको अन्तक्रियात्मक कार्यक्रममा यहाँले सिनेमालाई ‘सफ्ट–पावर’का रूपमा चर्चा गर्नुभएको थियो, हामीले सिनेमालाई राजनीतिक र कूटनीतिक तहमा ‘सफ्ट पावर’का रूपमा ल्याउन सकेका छौँ वा छैनौँ ? 

सिनेमा सफ्ट पावर नै हो । विश्वमा प्रभाव पार्ने फिल्महरू हलिउडबाट निस्कन्छ, केही हदसम्म बलिउडबाट पनि निस्कन्छ । उनीहरूको दायरा अलि ठूलो छ । सफ्ट पावर भनेको कस्तो हो भने त्यसले अदृश्य रूपमा प्रभाव पारिरहेको हुन्छ । उदाहरणका लागि, हलिउडका सुपरम्यान, ब्याटम्यान, रेम्बो आदि । जहाँ समस्या छ, जहाँ विसंगति छ, जहाँ मानिसहरू तड्पिरहेका छन्, त्यो सबै समाधान गर्नका लागि अन्तमा रेम्बो आउँछ, सुपरम्यान आउँछ, ब्याटम्यान आउँछ तर ती गोरा मान्छेको आकारमा आउँछन्, द्याट इज् सफ्ट पावर । मान्छेले हेर्दा सुपरम्यान आएको देखिन्छ, तर कहीँ न कहीँ उसको सब कन्सियस माइन्डमा पर्छ — सुपरम्यान भनेको युरोपियनजस्तो देखिने मान्छे हो । 

rajesh hamal (7)

आममानिसले फिल्मलाई मनोरञ्जनका रूपमा हेरिरहेका हुन्छन्, तर फिल्मका पात्र वा घटनालाई उनीहरूले कहीँ न कहीँ मानसपटलमा राखेका हुन्छन् । भोलि त्यस्तै किसिमको फिल्म यहाँ हामीले बनाउन खोज्यौँ भने ‘ह्या त्यो रेम्बोजस्तो बनाउन खोजेको रहेछ’ भन्ने पर्छ । नेपाल, भारत, बंगलादेशका दर्शकको मानसपटलमा हलिउड फिल्म बस्नु भनेकै ‘सफ्ट पावर’बाट उनीहरूको आफ्नो उद्देश्य पूर्ति हुनु हो । 

जसलाई हामीले अहिले प्रभावकारी राष्ट्रहरू भनिरहेका छौँ वा सोच्छौँ, उनीहरूको राजनीति या सैन्यशक्ति प्रभावकारी भएर मात्रै होइन, उनीहरूले सफ्ट डिप्लोमेसीका माध्यमबाट पनि प्रभाव पारिरहेका छन् । उनीहरूको गीत–संगीत, खानपिन, सिनेमा, साहित्य आदिले विश्वमा अदृश्य रूपमा प्रभाव पारिरहेका छन् । अदृश्य तरिकाले तपाईं–हामी र हाम्रा बालबच्चा प्रभावित भइसकेका छन्, यसमा दुईमत छैन । 

अहिले कलाकारहरू चरित्रमा आउन थाले भनिएको छ, खै त मैले जति चरित्र निभाएको ? अहिले कसैको पनि नाम लिनुभयो भने मैले जति विविध पात्रको भूमिका निभाउने कोही देख्नुहुन्न ।
  • यहाँले सांस्कृतिक साम्राज्यवाद, कल्चरल हेजेमोनी (सांस्कृतिक प्रभुत्व)को चर्चा गर्नुभयो, नेपाली फिल्ममा सांस्कृतिक प्रभुत्व कतिको पाउनहुन्छ ?

मैले गरेको नब्बेको दशकका चलचित्र हेर्नुभयो भने, मैले जुनसुकै पात्र गरौँ, एउटा गीत लोकलयको हुन्थ्यो । बाँझो खेतमा, रातोटीका निधारमा, गोली सिसाको जस्ता लोकलयको गीतमा दौरासुरुवाल वा नेपालीपनमा देखिनैपथ्र्यो । 

मानिसहरू भन्छन्— पहिलेपहिले फिल्महरू उस्तै उस्तै बन्थ्यो भनेर, तर मैले जतिको विविध पात्रहरू सायद अब बिरलै कलाकारले गर्न पाउँछन् । पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि तराईसम्मका प्रायः सबै समुदायको लुगा लगाएर फिल्म गरेको छु । 

गुरुङ, मगर, तामाङ समुदायदेखि काठमाडौँको नेवार समुदायको पोसाक, तराईको लुङ्गी, धोती लगाएर मैले फिल्म गरेको छु । कुनै समुदाय छुटेको छैन । किसान, मजदुरदेखि फलामको काम गर्ने, लुगा सिलाउने, प्रोफेसर, पुलिस इन्स्पेक्टर, धनाढ्य बिजनेस म्यान र ‘वसन्ती’मा शासकसम्मको भूमिका गरेको छु । 

rajesh hamal (3)

अहिले कलाकारहरू चरित्रमा आउन थाले भनिएको छ, खै त मैले जति चरित्र निभाएको ? अहिले कसैको पनि नाम लिनुभयो भने मैले जति विविध पात्रको भूमिका निभाउने कोही देख्नुहुन्न । कछाड लगाएको कोही देख्नुहुन्न, मैले कछाड लगाएर पनि फिल्म गरेको छु । 

कल्चर हेजेमोनीको कुरा गर्दा, अहिले मलाई लाग्छ, हाम्रो कलाको क्षेत्र अलि फराकिलो भइसक्यो । हिजो मान्छेले सूचना वा मनोरञ्जनका सामग्री हेर्ने स्रोत असाध्यै सीमित थियो । प्रायः नेपाली दर्शकको सिनेमाको स्कुलिङ भारतीय चलचित्रबाट भएको थियो । आजभन्दा ५०–६० वर्षअघि नेपाली दर्शकले हेर्ने चलचित्र भारतीय नै थिए । भारतीय चलचित्रमा जस्तो किसिमको सुन्दरता देखाइयो, जस्तो किसिमको फेसन देखाइयो, त्यही एउटा मानक बन्यो । त्यसले एउटा प्रभाव पनि पार्‍यो । अहिलेको ग्लोबलाइजेसनमा ब्युटी र फेसनको मापदण्ड धेरै प्रकारले देखिएको छ । पहिले–पहिले कल्चरल हेजेमोनी थियो, किनकि सीमित स्रोत देखिन्थ्यो । अहिलेको परिवेशमा काला जाति, मंगोलियनहरू पनि मिस युनिभर्स भएका छन् । 

नेपालमा सक्दो फिल्म बन्नुपर्छ भन्ने पनि मेरो मान्यता थियो । म फिल्म क्षेत्रमा आउँदा नेपाली फिल्म त्यति बनिरहेका थिएनन् ।

यहाँले विषयवस्तुकै कारण कुनै फिल्म अस्वीकार गर्नुभएको छ ? 

जति बेला मैले १६–१८ घन्टा काम गर्थें, वर्षमा १०–१२ वटा फिल्म खेल्थेँ, त्यो बेला अस्वीकार गरिनँ । किनभने, ‘मैले यो ठिकठाकै सिनेमा बनाउँदै छु, त्यति राम्रो त हुँदैन, तपाईंले खेलिदिनुपर्‍यो’ भनेर स्क्रिप्ट लिएर कोही पनि आउँदैनथ्यो । तपाईंले अहिलेसम्म नगरेको कथा ल्याएको छु भनेरै आउँथे । बन्दै जाँदा विविध कारण कति फिल्म राम्रै बन्थे, कति ठिकै बन्थे ।

अर्को कुरा, नेपालमा सक्दो फिल्म बन्नुपर्छ भन्ने पनि मेरो मान्यता थियो । म फिल्म क्षेत्रमा आउँदा नेपाली फिल्म त्यति बनिरहेका थिएनन् । जति चलचित्र बन्यो, त्यति नै जनशक्ति त्यहाँ प्रयोग हुन्थ्यो । फिल्म क्षेत्र राम्रो हुन्थ्यो, त्यसैले मैले सुरुवाती बेला फिल्म अस्वीकार गरिनँ । अहिले आएर भने अस्वीकार गरिरहेको छु । पछिल्लो पाँच वर्षमा मैले चलचित्र गरेको छैन । यसको मतलब मलाई अफर नआएको होइन । अफर आइरहेको छ, अचेल त मैले यो मेरो लागि ठिक हुँदैन भनेर भेटेर छलफल गर्न पनि छाडेको छु । अहिले मलाई कस्तो फिल्म गर्ने भन्ने थाहा छ, भनेजस्तो फिल्म आएन भने नगरेरै बस्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप