शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

चलचित्र बहस : नेपाली सिनेमाको नायक कोसँग लडिरहेछ ?

सोमबार, ०६ चैत २०७९, १३ : १४
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । शुक्रबार काठमाडौँमा ‘भूराजनीतिमा सिनेमाको भूमिका’ विषयक छलफल भयो । छलफलमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सांसद् डा. लीला न्याइच्याई, प्रा.डा. खड्ग केसी र चलचित्रकर्मी प्रकाश सायमी सहभागी थिए । शनिबार ‘हेर्दाहेर्दै कहाँ पुग्यौँ’ (इभोलुसन अफ नेपाली अडियन्स) विषयक छलफल भयो, छलफलमा चलचित्र निर्माता, निर्देशक र कलाकार अशोक शर्मा, कलाकार स्वस्तिमा खड्का र निर्देशक सुजित बिडारी सहभागी थिए । 

यी दुवै छलफलमा बसिसकेपछि मलाई लाग्यो– वास्तवमा नेपाली फिल्मबारे मूलभूत बहसको विषय के हो ? मूलधारका भनिएका नेपाली फिल्मले कस्ता मुद्दा उठाउँदै आइरहेका छन् ? बलिउडको नायक फिल्ममा सिमाना, गुन्डा, फोहोरी राजनीति, केही बेथिति आदिसँग लडिरहेको देखिन्छ । त्यस्तै हलिउडका फिचर फिल्ममा पृथ्वीका अन्य देशहरूसँग उसको उत्रो लडाइँ देखिँदैन, ऊ अर्को कुनै ग्रहका एलियनसँग लड्छ । पृथ्वीमै लड्नुपरे उसले आतंकवादको नाम दिन्छ । साँच्ची, नेपाली फिल्मको नायक (स्त्री–पुरुष दुवै) केसँग लडिरहेको छ ? 
प्रकाश सायमी भन्छन्, ‘नेपाली फिल्मको नायक जमिनदार, सामन्त, शोषण, अत्याचार आदिको विरुद्ध लडिरहेको छ ।’  

यही प्रश्न मैले अशोक शर्मालाई राखेँ । उनले फ्याट्टै भने, ‘हामी हलिउड र बलिउडसँग लडिरहेछौँ ।’ शर्माको भनाइले धेरैतिर व्यंग्य गरेको आभास हुन्छ ।  यही प्रश्न मैले निर्देशक मनोज पण्डितलाई राखेँ । उनले भने, ‘नेपाली फिल्ममा हामीले नायक वा चरित्रको विकास गर्न, जन्माउनै सकेका छैनौँ ।’ राजनीतिक खलनायकहरूको मुकुण्डो उतार्ने ढंगले हामीकहाँ फिल्मको कथा आउन नसकेकोतिर पण्डितको संकेत थियो । 

यही प्रश्न मैले चीनका चलचित्रकर्मी छियाङ फुलाई राखेँ । उनले सन् २०१९ मा प्रदर्शनमा आएको चिनियाँ साइन्स फिक्सन फिल्म ‘द वान्डरिङ अर्थ’लाई उदाहरण स्वरूप पेस गरे । यो फिल्ममा ध्वस्त हुन लागेको पृथ्वी जोगाउने कथा छ । अर्थात् उनीहरूको सोच सारा पृथ्वीका मानिसलाई जोगाउनेतिर छ । 
फिल्मले कथा (यथार्थ र कल्पना दुवै) भन्छ, कथामा पात्र हुन्छन् र पात्रमा पनि प्रधानपात्र वा नायक (स्त्री–पुरुष दुवै) हुन्छन् । हरेक कथाको जग कुनै विषयसँगको द्वन्द्व वा संघर्षसम्म पुग्छ । मान्छेले प्रकृतिसँग संघर्ष गर्दै आयो, यससँग सम्बन्धित अनेक कथा बने, कति कथा बुनिए । मान्छे समूह–समूहसँग लड्दै आयो अर्थात् राज्यको उत्पत्तिको कथा सुरु हुन थाले र बहादुर शासकका कथा बने, बुनिए । प्रकृतिसँगको संघर्ष र समूह–समूहबीचको संघर्षका कथाका पिँधबाट कति संस्कृति बने, बनाइए । 

राज्यको उत्पत्ति अर्थात् जमिनमाथिको हक, विवाह संस्थाको उत्पत्ति अर्थात् महिलामाथि पुरुषको हैकम, राज्यको विस्तार (साम्राज्यवाद)सँगै सांस्कृतिक प्रभुत्व (कल्चरल हेजेमोनी) आदि घटनाक्रमसँगै संसारमा शासक र शासितको कथा सुरु हुँदै आए । र, प्रकाश सायमीले भनेजस्तै हाम्रा केही (अर्थात् मूलधारका भन्न सकियो) फिल्मका नायक जमिनदार, सामन्त, शोषण, अत्याचार आदिको विरुद्ध लड्नुपर्ने भयो । 

धेरै पर नजाऊँ, नेपाली जनता राणाशासनका विरुद्ध लडे । त्यतिबेला कुरा स्वतन्त्रताको मात्रै थिएन, जमिनको पनि थियो, अधिकांश जमिनमा शासक वर्गकै स्वामित्व थियो, रहँदै आएकै हो । तर, यो लडाइँ र उपलब्धिले समाजका कथित अभिजातका उच्च र मध्यम वर्गलाई नै हित ग¥यो । कारण यस लडाइँका नायकहरू कथित अभिजात वर्गबाटै थिए । त्यसमाथि कसोकसो अन्ततः सामन्तका केन्द्र वा प्रतीक राजालाई नायक भन्न थालिएन मात्रै, त्यस्तै स्थान दिइयो  । 

हाम्रै देश र समाजका अनेक कथा छन् । कथा खोज्दै समाजमा जाने, समाजबाट इतिहासमा जाने र इतिहासको पनि हतिहासमा जाने हो भने हामीले कथैकथा पाउँछौँ । ती कथाले हामीलाई गर्व र दर्द दुवै महसुस गराउँछन् । अर्थात् ती कथाभित्र शोषण, विभेद, अन्याय, अत्याचार थुप्रै छन् । कथा (साहित्य) कल्पना पनि हो, यद्यपि कल्पनाको आधार प्रकृति र समाजभन्दा पर हुँदैन । फिल्मको कथा साहित्य पनि हुने भएकाले हामी पछाडि (इतिहासतिर) नफर्केर अगाडि (भविष्यको समाजतिर) पनि फर्कन सक्छौँ, यसका लागि विगत र वर्तमान समाजको राम्रो ज्ञान हुन आवश्यक हुन्छ । 

फिल्ममा मुद्दा
कुनै पनि फिल्मको कथामा घोरिने हो भने देखिन्छ– त्यसमा कुनै मिसन (उद्देश्य), कुनै क्याम्पियन (अभियान) र कुनै विद्रोह वा आवाज लुकेको हुन्छ । संसारकै मानिसको हित वा सामाजिक न्यायको उद्देश्य फिल्मले नलिए पनि फिल्म निर्देशक वा निर्माताको उद्देश्य रहन्छ– पैसा कमाउने । यसो भएपछि कस्तो फिल्म चल्छ भनेर उनीहरूले सोच्नुपर्ने हुन्छ । अनि हामी चलचित्रको बहसमा बजारिया फिल्मभन्दा पर सोच्नै सक्दैनौँ ।

पैसा नकमाउने उद्देश्य लिएर सामाजिक न्यायमै आधारित फिल्म बनाउँछु, मौलिक कथा भन्छु भनी कसैले भन्छ भने उसले ‘कम बजेट’मा फिल्म बनाउनेतिर सोच्नुपर्ने हुन्छ । पछिल्लो समय हामीकहाँ मौलिक कथाको खुब बहस हुन थालेको छ । हामीकहाँ एक खालको भ्रम पनि देखिन्छ– कुनै क्षेत्र वा समुदायका मानिसको लबज मात्रै ल्याए कथा मौलिक भइगयो । हो, मौलिक कथाले देशभित्रका कुनै जातजाति वा समुदायको संस्कृति, विकृति, इतिहास र वर्तमान, देशकै इतिहास आदिलाई समेट्छ । तर, यस्ता फिल्म वा साहित्य केही अनुसन्धानमा आधारित हुनुपर्छ । मौलिक कथाले देशभित्रका मानिसले भोगेको विभेद र अन्यायलाई समेत समेट्छ । र, मौलिक कथाले  देशभित्रका सबै मानिसले गर्व गर्ने खालको कथालाई पनि समेट्छ । अर्थात् मौलिक कथा भन्ने नाममा सामाजिक न्यायमा चिप्लिनुहुँदैन । 

cc

अस्ति भर्खर मैले नेपाली फिल्म ‘ह्यारीकी प्यारी’ हेरेको थिएँ । त्यस फिल्ममा नायिकाले पुरुषको वीर्य नै किन्ने क्रान्तिकारी कुरा त गर्छे, तर उसले आफूलाई क्रमशः पुरुषवादतिर ढाल्दै लैजानुपर्छ । अन्ततः उही पुरुषको खुट्टा ढोग्न पुग्नुपर्छ । यसमा अर्को एउटा दृश्य छ– बफ मःम खाने बेला जनै अगाडि आउने । विज्ञानको युगमा, आफ्नो शरीर र स्वास्थ्यलाई हित गर्ने चिज खाए भयो, अहित गर्ने चिज नखाए भयो, बेकारमा विभेदको प्रतीक जनैलाई किन अगाडि ल्याउनू ? जनैमाथि नै अनुसन्धान गरिएको फिल्म भए एउटा कुरा भयो । फिल्ममा यस्ता दृश्य ल्याउनु सांस्कृतिक प्रभुत्ववादी मानसिकताको उपज हो, बहुसंख्यकवादी राष्ट्रवाद हो । अर्थात् फिल्म बजारले बहुसंख्यकको संस्कृति र उसको गौरवको इतिहास खोज्छ, ताकि धेरैले फिल्म हेरून् । 

शनिबारको छलफलमा नायिका स्वस्तिमा खड्का भन्दै थिइन्, ‘हाम्रो संस्कृतिमा बिहे हुँदा रत्यौली खेल्छौँ । आई थिंक, त्यो अहिलेसम्म कुनै फिल्ममा कुरा आएको छैन, त्यो पनि एउटा गीत हो नि ।’ उनको भनाइ आफ्नो ठाउँमा छ । मलाई लाग्छ– रत्यौलीको एउटा दृश्य वा त्यसमा गाइने गीतलाई मात्रै फिल्ममा राख्दा त्यो अश्लील र अभद्र बन्न पुग्छ, (मैले केटाकेटीमा लुकेर रत्यौली हेरेको अनुभवका आधारमा भन्दैछु) । तर, रत्यौली संस्कृतिमाथि नै अनुसन्धान गरी फिल्म बनाउँदा यसबाट यौनशिक्षाका अनेक पाटा, स्त्रीले चाहेको स्वतन्त्रताका पक्ष देखाउन सकिन्छ । 

स्वस्तिमा भन्दै थिइन्, ‘फिल्म मेकरहरूसँग कुरा गर्दा उहाँहरू भन्नुहुन्छ– अब हामीले नेपाल सोच्न हुन्न, इन्टरनेसलन ढंगले सोच्नुपर्छ ।’ एकातिर, हामी विदेशी पुरस्कार पाएर ठूलो फिल्मकर्मीको ठप्पा लाउने होडबाजीमा देखिन्छौँ । अर्कोतिर, फिल्म चलाएर पैसा कमाउनुपर्ने छँदैछ । हलिउड, बलिउडले ठूलो बजेटमा फिल्म बनाउँछन्, उनीहरूसँगको प्रतिस्पर्धा पनि छ । यी सबै प्रसंग एकातिर छन्, अन्ततः हामी हाम्रो फिल्ममा नायक कोसँग लड्ने हो भन्ने मूल प्रश्नमै पुग्नुपर्छ, यसमा विभिन्न पक्ष हुन सक्छन् । 

पैसा नकमाउने उद्देश्य लिएर सामाजिक न्यायमै आधारित फिल्म बनाउँछु, मौलिक कथा भन्छु भनी कसैले भन्छ भने उसले ‘कम बजेट’मा फिल्म बनाउनेतिर सोच्नुपर्ने हुन्छ ।

हिजो मूलधारका भनिएका अधिकांश फिल्ममा संवाद र लडाइँ बढी हुन्थ्यो । फिल्म यस्तो बन्नुमा छिमेकी देश भारतको प्रभाव र आफ्नै देशको इतिहास पनि कतै उत्प्रेरक थिए । जहाँ बढी विभेद र थिचोमिचो हुन्छ, त्यहाँ आक्रोश बढी हुन्छ । भारतीय जनताले लामो समय अंग्रेजको थिचोमिचो सहे, त्यसले उनीहरूलाई अंग्रेजप्रति आक्रोशित बनायो, यो त साझा मुद्दा थियो । समाजका जमिनदार, अभिजात वर्ग र शासक वर्गको थिचोमिचोमा पनि मानिसहरू थिए र छन्, यसले पनि नजानिँदो ढंगले जनतामा आक्रोशको भावना ल्याइरहन्छ । हाम्रो कुरा गर्दा, हामीले लामो समय जहाँनियाँ राणाशासन भोग्यौँ । शाहकाल सुरु भएसँगै दलित, जनजाति लगायत माथिको थिचोमिचो अर्कोतिर थियो र छ । 

निरंकुश शासनको विरुद्धमा होस् वा सामाजिक जीवनमा, भन्दाभन्दा (वा नारा लगाउँदा) नबुझेपछि हात–हतियार उठाउनुपर्छ । त्यसैले नेपाली र भारतीय फिल्ममा संवाद र लडाइँ बढी हुन थाले । अर्कोतिर, यस भूगोलका मानिसले दुःखसुखमा संगीतलाई साथमा लिएर हिँडे र फिल्ममा गीतहरू ठीक लागे ।
समाज र समाजको इतिहास जस्तो छ, त्यस्तै कथा, कला र कलाकार जन्मने हुन् । पछिल्लो समय, फरक शैलीमा कथा भन्ने ट्रेन्ड सुरु भयो । तर, ती फिल्मका कथा कमजोर भए । उही बैंक लुटेर धनी हुने, चुनाव जित्न र युवती पाउन अनेक प्रपञ्च गर्ने कथा नै फिल्मले पस्के । किनकि हाम्रो समाज यस्तै छ । समाजलाई बदल्ने फिल्म बनाउन अलिकति बौद्धिक वर्गले कथामा काम गर्नैपर्छ ।    

शुक्रबारको छलफलमा ‘भूराजनीति’को कुरा उठ्यो । भूराजनीति एउटा रणनीति हो, भूराजनीतिसँगै भूअर्थशास्त्र जोडिएर आउँछ । अर्थशास्त्रभित्र धेरै स्रोत–साधन पर्ने नै भए, योसँगै भूराजनीतिमा सिमानाका विवाद आउनै नै भए, संस्कृति पनि उनिएर आउँछन् । भनिन्छ, कुनै समुदायलाई सिध्याउनुछ भने उसको संस्कृतिमा प्रहार गर । तर, हामी संकुचित भएर यस भनाइको पछि लाग्नु हुँदैन, विभेदकारी संस्कृतिलाई सच्याउन प्रहार गर्नैपर्छ । 

फिल्मलाई सफ्ट पावर बनाउने बहस, रणनीति र अभ्यास विश्वका देशले गर्दै आएका छन् । हाम्रा पनि सिमानाका विवाद छन् । हामी अझै असमान सन्धिले जकडिएका छौँ । सिमानाका विषयलाई लिएर केही डकुमेन्ट्री, फिल्म (ग्रेटर नेपाल, दशगजा आदि) हामीकहाँ बनेका छन् । हाम्रोजस्तो भूपरिवेष्ठित देशमा भूराजनीतिलाई लिएर मुद्दा नभएका होइनन् । अर्कोतिर, शक्तिशाली राष्ट्रहरूको सांस्कृतिक प्रभुत्व एकातिर छ, देशभित्रै पनि बहुसंख्यकबाट अल्पसंख्यकहरू सांस्कृतिक दमनमा परिरहेका छन् । यो अवस्थामा हामीले सिनेमाको नायकलाई सिमानासम्मै बन्दुक बोकेर जाने कथा रच्नु सान्दर्भिक नहोला, तर बौद्धिक र कूटनीतिक बहस गराउने फिल्म ल्याउन सक्छौँ । यद्यपि, दुईवटा छलफलमा बस्दा मैले गहकिलो छलफल भएको पाइनँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप