बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

मङ्गलबार, १७ पुस २०८०, २१ : ०६
मङ्गलबार, १७ पुस २०८०

आज २०८० पुस १७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • माओवादीको पत्रकार सम्मेलन

नेकपा(माओवादी केन्द्र)ले समग्रमा विशेष रूपान्तरण अभियान उत्साहजनक भएको बताएको छ । पार्टीले सञ्चालन चारमहिने विशेष रूपान्तरण अभियान समापनको विषयमा प्रचार विभागले मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान सफल भएको निष्कर्ष निकालेको हो ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रियसभा सिट बाँडफाँटमा गठबन्धन दलहरूबिच सामान्य छलफल भएपनि निष्कर्षमा नपुगेको दाबी गरेका छन् ।

  • राष्ट्रियसभा निर्वाचन

नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारकाे मापदण्ड बनाउने भएको छ । यसअघि चुनाव हारेका र समानुपातिक सूचीमा नाम राखेकाहरु नै अहिले राष्ट्रियसभा सदस्य उम्मेदवार बन्न दौडधुपमा लागेपछि सो पार्टीले मापदण्ड बनाउन लागेको हो ।

  • वरिष्ठ सईहरू सर्वोच्चमा

प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) हरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले पाउनुपर्ने ग्रेड रकम नपाएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

  • जयशंकरको भ्रमण

भारतीय विदेश मन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउन लागेका छन् । नेपाल भारतको संयुक्त आयोगको बैठकमा सहभागी हुन् आइरहेका उनको यो भ्रमण जलविद्युत् तथा कनेक्टिभिटीमा केन्द्रित रहने बताइएको छ । 

  • निरीह मन्त्री

वनमन्त्री विरेन्द्र कुमार महतोले मन्त्रीकै कुर्सीमा बसेर निरीहता प्रकट गरेका छन् । उनले कर्मचारीले नटेरेको र घुमाएको घुमाएकै गर्ने गरेको भन्दै अब एक्सनमा जाने कि राजीनामा दिएर हिँड्ने भन्नेबारेमा सोचिरहेको बताए ।

  • पद रिक्त

 नेपाली कांग्रेसमा वडादेखि जिल्ला तहसम्म १२ सय ४ पद रिक्त रहेको पाइएको छ । कांग्रेस महामन्त्री गगन थापाले मङ्सिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिलाई तल्लो तहको रिक्त पदको विवरण पठाउन निर्देशन दिएका थिए ।

  • पर्यटन पुनरुत्थानको वर्ष

कोभिड–१९ पछि प्रायः सुस्त रहेको नेपालको पर्यटन क्षेत्र तीन वर्षपछि पुनर्जागृत भएको छ । सन् २०२३ मा १० लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । 

  • प्रचण्ड–ओली ‘गोप्य’ भेट

सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबिच आसन्न राष्ट्रिय सभा निर्वाचनको भागबन्डा ‘पेचिलो’ बनिरहेका बेला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच ‘गोप्य’ भेटवार्ता भएको छ ।

  • सडक विस्तारविरुद्धको रिट

 विगत देखि विवादित बनेको हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्धको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गत असार ३१ गतेदेखि साउन २४ सम्ममा दर्ता भएका हेटौंडा बजार क्षेत्र अन्तर्गत गर्ने राजमार्गको सडक विस्तार विरुद्धका रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो ।

  • अनदी धान 

हाइब्रिड तथा उन्नत जातका धानले नेपालका रैथाने धान विस्थापित गर्दै गइरहेका छन् । यसरी विस्थापित भएका रैथाने धानमध्येको एक हो ‘अनदी’ । चाडपर्वमा विशेष प्रयोग हुने अनदी धान पछिल्लो समय बजारमा पाउनै छाडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप