सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सहकारी ठगी

रास्वपा सभापति जोडिएको सहकारीको अनुसन्धान फाइल सीआईबीले झिकायो

आइतबार, ०७ माघ २०८०, १४ : ३८
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईका साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल सीआईबीले झिकाएको छ । उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाएर थप अनुसन्धान सुरु गरिएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई जानकारी दिए । 

जिबी राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड भन्दा बढी हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति लामिछानेले पनि बिना धितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।

बुटवल स्थित सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगन्जको सानो पाइलाबारे स्थानीय प्रहरीले गरेको अनुसन्धान फाइल केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँमा झिकाएको छ । लामिछाने र राईले सहकारीको रकम अनधिकृत रूपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको आरोप छ । 

काठमाडौँ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी घोटालामा पनि जीबी र रवि जोडिएका छन् । लामिछानेका तर्फबाट सुप्रिम सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा ट्रान्सफर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको २५ करोड रुपैयाँ डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । 

यसअघि राई र लामिछानेविरुद्ध सहकारी विभागमा पनि उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप