आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

आज रातिदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्न निषेध

सोमबार, ०८ माघ २०८०, १४ : ३४
सोमबार, ०८ माघ २०८०

काठमाडौँ ।  माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले माघ ८ गते (सोमबार) राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म निर्वाचनको प्रचारप्रसारमा रोक लगाएको छ ।

आयोगका अनुसार राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाउनेछैनन् । त्यस्तै कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न,  सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन पाउने छैनन् ।

त्यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था सहितको तयारी कार्य पुरा भएको पनि निर्वाचन आयोगले जनाएको छ । यस निर्वाचनमा  निर्वाचक मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रूपमा उक्त दिन बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको आयोगको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप