आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्‍मा सेवा–सुविधा

सुदूरपश्चिमका सभामुख र प्रदेशसभा सदस्यको तलब सर्वाधिक, उपसभामुखको तलब गण्डकीमा धेरै

सात वटै प्रदेशका प्रदेशसभा सदस्यको पारिश्रमिकमा मात्र कम्तीमा दुई करोड ९४ लाख रुपैयाँ मासिक खर्च
सोमबार, २२ माघ २०८०, १९ : २५
सोमबार, २२ माघ २०८०

काठमाडौँ । सातवटै प्रदेशसभाका सदस्यहरुको पारिश्रमिकका लागिमात्र देशले मासिक कम्तीमा पनि दुई करोड ९४ लाख १४ हजार ४०० रुपैयाँ खर्चिँदै आएको छ ।

प्रदेशसभाका सभामुख, उपसभामुखसहितका पदाधिकारी र प्रदेशसभा सदस्यको पारिश्रमिकको हिसाबले सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि छ भने बागमती र लुम्बिनी प्रदेश सबैभन्दा पछाडि छन् ।

उल्लेखनीय छ, तिनै प्रदेशसभा सदस्यमध्येबाट सात जना मुख्यमन्त्री, कयौँ मन्त्री छन् जसको पारिश्रमिक प्रदेशसभा सदस्यको तुलनामा बढी हुन्छ । यस अतिरिक्त सात प्रदेशसभाका सभामुख, उपसभामुख, विपक्षी दलको नेता, अन्य पदाधिकारीको पारिश्रमिक प्रदेशसभा सदस्यको तुलनामा बढी नै हुन्छ, जो प्रदेशसभा सदस्यका हैसियतले ती पदमा पुगेका हुन्छन् । उनीहरुले आफू बहालमा रहेको पद अनुसारकै पारिश्रमिक सुविधा पाउँछन् । त्यसैले सरदर मासिक पारिश्रमिकको हिसाबमा उल्लेखित रकम दुई करोड ९४ लाख १४ हजार ४०० रुपैयाँभन्दा बढी रकम राज्यकोषबाट उनीहरुको पारिश्रमिकबापत खर्च हुने गरेको छ ।

यसअघि रातोपाटीले सात वटै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिकको लेखाजोखा गरेको थियो । यहाँ सातवटै प्रदेशका सभामुख, उपसभामुख र प्रदेशसभा सदस्यहरुको पारिश्रमिकको लेखाजोखा गरिएको छ ।

मासिक तलबका अतिरिक्त पनि प्रदेशसभाका पदाधिकारीले आवास सुविधा, अतिथि सत्कारबापत रकम, सवारी साधन, इन्धन, पानी–बत्तीको भुक्तानी, सञ्चार सुविधाबापत निश्चित रकम, बैठक भत्ता, भ्रमण भत्ता लगायतका सुविधा प्राप्त गर्दछन् ।

पारिश्रमिकबारे कुन प्रदेशमा कस्तो व्यवस्था ?

कोशी प्रदेश:

कोशी प्रदेशका सभामुखको मासिक पारिश्रमिक ६२ हजार ५४० रुपैयाँ तोकिएको छ । यस्तै, उपसभामुखको मासिक पारिश्रमिक ५९ हजार छ भने प्रदेशसभा सदस्यको मासिक पारिश्रमिक ५३ हजार १ सय रुपैयाँ निर्धारित छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा प्रदेशसभा सदस्यकै तलबमानलाई आधार मान्ने हो भने पनि मासिक ४९ लाख ३८ हजार ३०० रुपैयाँ सांसदहरुको तलबकै लागि खर्च गर्नुपर्दछ ।

मधेस प्रदेश:

मधेस प्रदेशसभाका सभामुखको मासिक पारिश्रमिक ६१ हजार रुपैयाँ तोकिएको छ । यस्तै, उपसभामुखको मासिक पारिश्रमिक ५९ हजार ७८० रुपैयाँ छ भने प्रदेशसभा सदस्यको मासिक पारिश्रमिक ५४ हजार ६०० रुपैयाँ छ ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा प्रदेशसभा सदस्यहरुको तलबमानलाई नै आधार मान्ने हो भने प्रदेशसभाका जनप्रतिनिधिको तलबमा मासिक ५८ लाख ४२ हजार २०० रुपैयाँ खर्च हुँदै आएको छ ।

बागमती प्रदेश:

बागमती प्रदेशसभाको सभामुखले मासिक ६१ हजार ४८० रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ । यस्तै उपसभामुखलाई मासिक ५८ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध हुन्छ । बागमती प्रदेशसभा सदस्यलाई मासिक पारिश्रमिक (तलब) ५२ हजार २०० रुपैयाँ निर्धारित छ । यस हिसाबले ११० सदस्यीय प्रदेशसभाका जनप्रतिनिधिका लागि बागमती प्रदेशले मासिक ५७ लाख ४२ हजार रुपैयाँ खर्चिनु पर्दछ । यद्यपि, तलबमान दर अन्य प्रदेशको तुलनामा बागमती र लुम्बिनी प्रदेशमा कम छ ।

गण्डकी प्रदेश:

गण्डकी प्रदेशसभाका सभामुखले मासिक ६३ हजार ४ सय ८० रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ । देशका सातवटा प्रदेशमध्ये मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिकमा गण्डकी प्रदेश अगाडि रहे पनि सभामुखको पारिश्रमिकमा भने यो प्रदेश दोस्रो स्थानमा छ तर उपसभामुखको पारिश्रमिक भने अन्य प्रदेशको तुलनामा गण्डकीमा बढी छ । गण्डकी प्रदेशसभाको उपसभामुखले मासिक ६० हजार रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ । गण्डकीका प्रदेशसभा सदस्यलाई मासिक ५४ हजार २ सय रुपैयाँ पारिश्रमिकको व्यवस्था छ । ६० सदस्यीय गण्डकी प्रदेशसभा सदस्यहरुका लागि मासिक तलब बापतमात्र ३२ लाख ५२ हजार रुपैयाँ खर्च हुने गरेको छ ।

लुम्बिनी प्रदेश:

लुम्बिनी प्रदेशसभाको सभामुखलाई मासिक ६१ हजार ४८० रुपैयाँ पारिश्रमिकको व्यवस्था छ । यस्तै, उपसभामुखको पारिश्रमिक ५८ हजार रुपैयाँ निर्धारित छ । लुम्बिनीका प्रदेशसभा सदस्यको मासिक पारिश्रमिक ५२ हजार २०० रुपैयाँ छ । प्रदेशसभा सदस्यकै मात्र पारिश्रमिकलाई आधार मान्ने हो भने पनि ८७ सदस्यीय लुम्बिनी प्रदेशसभाका जनप्रतिनिधिका लागि मासिक कम्तीमा ४५ लाख ४१ हजार ४०० रुपैयाँ खर्च हुँदै आएको छ ।

कर्णाली प्रदेश:

कर्णाली प्रदेशसभाका सभामुखले मासिक ६१ हजार ४८० रुपैयाँ र उपसभामुखले मासिक ५८ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । कर्णाली प्रदेशसभा सदस्यको मासिक पारिश्रमिक ५२ हजार ६०० रुपैयाँ छ । ४० सदस्यीय प्रदेशसभाका सदस्यहरुको पारिश्रमिकबापत न्यूनतम २१ लाख ४ हजार रुपैयाँ खर्च हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेश:

सुदूरपश्चिम प्रदेशसभाका सभामुखले मासिक ६४ हजार तलब पाउँछन् । उपसभामुखले भने मासिक ५९ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभा सदस्यले मासिक ५६ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउँछन् । सात वटै प्रदेशमध्ये प्रदेशसभा सदस्यहरुको पारिश्रमिक सुदूरपश्चिममा सर्वाधिक छ । प्रदेशसभा सदस्यको पारिश्रमिकलाई नै आधार मान्ने हो भने पनि ५३ सदस्यीय प्रदेशसभा सदस्यका लागि न्यूनतम २९ लाख ९४ हजार ५०० रुपैयाँ खर्च हुन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप