लघुवित्त र मिटरब्याजी पीडितहरू भन्छन्– माग सम्बोधन नभई घर फर्किँदैनौँ
काठमाडौँ । काठमाडौँ केन्द्रित दोस्रो चरणको आन्दोलनमा होमिएको लघुवित्त तथा मिटर ब्याज पीडितहरूले आफ्नो समस्या समाधान नभई घर नफर्कने चेतावनी दिएका छन् । उनीहरुले लघुवित्त तत्काल खारेज गर्न पनि सरकारलाई दबाब दिएका छन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत काठमाडौँको खुला चौरमा आश्रय लिएर बसेका उनीहरुले लघुवित्त संस्थाहरूको ऋण नतिर्ने जिकिर समेत गरेका छन् ।
आफ्ना सन्तानलाई समेत दुःख दिएकाले लघुवित्त संस्थाहरू सरकारले तत्काल खारेज गर्नुपर्ने गोरखा कुरिनटारकी कमला मगरले बताइन् । शनिवार काठमाडौँको जयवागेश्वरीमा सामूहिक रूपमा बस्दै आएकी उनले आफूहरूको बास नै उठाउने त्यस्ता संस्था नचाहिने बताइन् ।
पीडित मगरले भनिन्– ‘नेपाल सरकारले यदि लघुवित्त संस्था खारेज गर्दैन भने हामी एक रुपैयाँ ऋण तिर्ने वाला छैनौँ । र हामी तिर्दा पनि तिर्दैनौँ । यही लघुवित्तले गर्दा हाम्रा बालबच्चाले पढ्न पाएका छैनन् । उनीहरुले पनि सुख, शान्ति पाएको छैन । हामी आमाबुबालाई त फसायो, फसायो । मेरा छोराछोरीलाई, नाता नातिनीलाई नफसुन् भन्न चाहन्छु । यो लुटेरा, झोलेहरूको ऋण हामी तिर्दैनौँ । हामीलाई यो चाहिँदैन ।’
अर्का पीडित अछामका अगस्ट अधिकारीले आफूहरूको माग पूरा नभई घर फर्कन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिए । उनले नव सामन्तको रूपमा उदाएको लघुवित्त संस्था खारेज हुनुपर्ने, महिलाहरूमाथि लगाइएको सामूहिक ऋण मिनाहा हुनुपर्ने, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका आफूहरूको नौ बुँदे माग सरकारले सम्बोधन गर्नै पर्ने जिकिर गरे ।
अधिकारीले भने– ‘नव सामन्तको रूपमा उदाएको लघुवित्त खारेज गर । महिलाहरूमाथि लगाइएको सामूहिक ऋण मिनाहा गर । आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर । माग पूरा नहुन्जेल हामी घर फर्कने वाला छैनौँ । गर वा मरको स्थितिमा हामी छौँ ।’
पीडितहरूले लघु वित्तीय संस्थाहरूले घरमा बस्न नदिएपछि आफूहरू बाध्य भएर दोसोपटक पनि आन्दोलनका लागि काठमाडौँ आउनुपरेको गुनासो गरेका छन् । कञ्चनपुरका अमर नेपालीले गाउँका बस्न लघुवित्त संस्थाहरूले नदिए पनि महिला दिदी बहिनीहरूले समेत घर छोडेर आउनुपरेको बताए । नेपालीले अब समस्या समाधान नभई आफूहरू घर फर्कने अवस्था नरहेको बताए ।
उनले भने, ‘निष्कर्ष लिएरै जाने हो अब त । त्यत्तिकै कहाँ छोडिन्छ र ? दुई दुई चोटि हामीले आन्दोलन गरिसकेका छौँ । कति दिदीबहिनी त कोही बाटोमै फेन्ट भएका छन् । पैदल यात्रामा आउँदा बिजोग भएको छ । अब त्यत्तिकै घर जान त सक्दैनन् नि । घर गए पनि उहाँहरूको बस्ने अवस्था नै छैन । लघुवित्त कर्मचारीहरूले झन् बढी दबाउँछन् । गाई वस्तु खोलदिने, सुन चाँदी लगिदिने कर्मचारीहरूले अब गाउँ गएपछि बस्न दिन्छन् र ? राख्दैनन् नि त । उहाँहरूले झन् च्याप्छन् । पहिले त बाख्रा, खसी लैजाने गरेको थियो । अब त मान्छे नै लैजाने डर छ । त्यहाँ सहन नसक्ने भएपछि त उहाँहरू यहाँ आउनुभएको हो नि । नत्र घरको लक्ष्मी त बाहिर जाँदैन नि त ।’
यता, मिटर ब्याज पीडितहरूको पनि आफूहरूको माग सम्बोधन गर्न सरकारले खासै चासो नदिएको गुनासो छ । उनीहरुले काठमाडौँको रत्नपार्कमा विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुले माग सम्बोधनका लागि सरकारलाई दबाब दिन काठमाडौँमा दैनिक मौन जुलुस निकाल्ने कामलाई निरन्तरता दिएका छन् । मिटर ब्याज पीडित सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले पीडितको समस्या समाधानका लागि सरकारसँग वार्ता पनि जारी रहेको र आन्दोलनको कार्यक्रमलाई पनि निरन्तरता दिइएको बताए ।
प्रवक्ता नवीनले भने, ‘सरकारसँग वार्ता चलिराखेको छ । सरकारसँगको हिजोको वार्ता सकारात्मक छ । आज गृहकार्यमा जुटेका छौँ । दुवै वार्ता टोली गृहकार्यमा छ । आजै वार्ता गरेर परिणाम निकाल्न हामी लाग्ने भन्नेछ । अब सरकारी वार्ता टोलीले कतिको तयारी गरेको छ, पछि थाहा हुन्छ ।’
मिटर ब्याज पीडितहरूले गत माग १६ गतेबाट मिटर ब्याज विरुद्धको न्याय मार्च झापाको काँकडभिट्टाबाट निकालेका थिए । अझै आफूहरूको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै सङ्घर्ष समितिका प्रवक्ता नवीनले आक्रोश व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
-
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
-
नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा
-
२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण