शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलका बुद्धिजीवीले दिए कांग्रेस नेता डा.शेखर कोइरालालाई सुझाव

बिहीबार, ०८ चैत २०८०, १४ : ०३
बिहीबार, ०८ चैत २०८०

बुटवल । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला दुई दिनदेखि रुपन्देहीमा छन् । गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार रुपन्देहीमा आएका कोइराला बिहीबार पनि विभिन्न कार्यक्रममा व्यस्त छन् । डा. कोइराला नेपाल चिकित्सक संघले बुटवलमा आयोजना गरेको बुद्धिजीवीसँग छलफल कार्यक्रमका सहभागी भइ विभिन्न पेसामा रहेका ४० जनाको सुझाव टिपेका छन् ।

डा.कोइरालाले नेपाली कांग्रेसको आगामी बाटो, निर्वाचनमा समानुपातिक प्रणाली, भ्रातृ सङ्गठनको पुनर्जागरण, मुलुकको आर्थिक अवस्था आदिको विषयमा पेसाकर्मीसँग सुझाव लिएर पार्टी, सांसद र सरकारलाई सोही अनुसार काम गर्न दबाब दिने प्रस्ट्याए ।

समानुपातिक निर्वाचन प्रणालीमा विकृति भएको भन्दै विज्ञहरूले नेताका आफन्तलाई मात्र यसले फाइदा पुग्ने गरेको टिप्पणी गरे । यस्तै, बैंकहरूको ब्याजदरले बजारमा निम्त्याएको असहजतालाई सम्बोधन गर्ने नीति पार्टीले तत्काल ल्याउनुपर्ने सुझाव पनि दिएका छन् ।

भ्रातृ सङ्गठनको महाधिवेशन तोकिएको मितिमा गरी लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्दै आफू निकटकालाई मनोनयन गरेर चलाउने परिपाटी अन्त्य गर्नुपर्ने राय पनि सहभागीहरूले दिएका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निर्माणदेखि बुटवल–नारायणगढसम्मको सडक समयमै निर्माण सम्पन्न गर्न दबाब दिनुपर्ने बताए ।

3 (1)

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्न पहल हुनुपर्नेमा जोड दिएका थिए । बुटवलका उद्योगी गणेशचन्द्र पोखरेलले बैंकर, बीमा र उद्योगी एउटै व्यक्ति हुँदा स्वार्थ  बाझिने भन्दै त्यो रोक्नका लागि सरकारले नीति बनाउनुपर्ने सुझाव दिए ।

उद्योगी कृष्ण शर्मा र नवराज श्रेष्ठले नेपाली कांग्रेस खुला अर्थनीतिको पक्षपाती रहे पनि सरकारमा रहँदा कृषि, पर्यटनका लागि स्पष्ट योजना ल्याउन नसकेको भन्दै साना उद्योगी र व्यापारीलाई संरक्षण हुने गरी भन्सार र करको नीति ल्याउन सुझाव दिए ।

नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय सभापति डा. बुद्धबहादुर थापा, डा.कृष्ण खरेल, प्राध्यापक नुरजङ्ग केसी, अधिवक्ता कृष्ण पोखरेलले नेपाली कांग्रेसभित्र गुटबन्दीका कारण क्षमतावानहरू कहिल्यै पार्टी र भ्रातृ संगठनको नेतृत्वमा जान नपाएको बताए ।

पूर्व शिक्षक तिलकराम शर्मा, सहप्राध्यापक डा.ओमप्रकाश अर्यालले नेपाली कांग्रेसले  गठबन्धन गर्दा कार्यकर्ताहरूले चुनाव चिह्न नै बिर्सन थालेको भन्दै अरूको बुई चढेर सरकारमा जान नहुने सुझाव दिएका थिए । इन्जिनियर मिलन थापाले नेपालमा भएका खानीको सदुपयोग गर्ने नीति ल्याउनुपर्ने सुझाव दिएका थिए । अर्का इन्जिनियर शैलेन्द्र श्रेष्ठले विभिन्न सरकारी कार्यालयमा इन्जिनियरको दरबन्दी रिक्त रहेको जनाउँदै पदपूर्तिका लागि विज्ञापन आह्वान गर्नुपर्ने सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप