शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

प्रहरीले दीपेश पुनसहित ५ जनामाथि विज्ञ टोलीको सहायतामा अनुसन्धान गर्दै

बयानका क्रममा पुनले भने, ‘आर्थिक विषयमा हस्ताक्षर गरेको छैन, म निर्दोष छु’
मङ्गलबार, १३ चैत २०८०, २१ : १७
मङ्गलबार, १३ चैत २०८०

 

तेजेन्द्र के.सी.

बुटवल । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुनसहित ५ जनामाथि प्रहरीले विज्ञ टोलीको सहायतामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनसहित  पदाधिकारी एवं कर्मचारीलाई अनुसन्धान गर्नको लागि रुपन्देही प्रहरीले सहकारी रजिस्ट्रार र कम्पनी रजिस्ट्रार कार्यालयबाट विज्ञ टोली र सीबीआईका अनुसन्धान अधिकृतको सहायता लिएको हो । 

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका पुनलाई गत शुक्रवार काठमाडौँमा पक्राउ गरी बुटवल ल्याइएको थियो । प्रहरीले उनीसँगै सोही सहकारीको रकम अपचलनको आरोपमा पोखरामा पक्राउ परेका सहकारीका सचिव कुमार रम्तेल र आईटी प्रमुख भविश्वर अर्याललाई पनि बुटवलमा ल्याएर अनुसन्धान गर्दै छ । 

बचतकर्ताहरूले रकम फिर्तामा माग गर्दै उजुरी दिएपछि गत फागुन ३ गते सुप्रिम सहकारी बुटवलका अध्यक्ष ओम गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईंलार्ई पनि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई जिल्ला अदालत रुपन्देहीबाट हिरासतमा राख्ने अनुमित लिँदै सहकारी विज्ञहरू सहित अनुसन्धान अगाडि बढाएको रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले रातोपाटीलाई बताए।  

उनले भने, ‘ठुलो आर्थिक विषयसँग जोडिएकोले केस भएकोले हामीले मात्रै अनुसन्धान गर्न कठिन हुन्छ । त्यही कारणले कम्पनीको विषय, सफ्टवेयर आदि हेर्नुपर्ने भएकोले सहकारी विज्ञदेखि सीबीआईसम्मको मद्दतमा काम गरेका छौँ ।’ 

उनीहरूमाथि सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । उक्त प्रकरणका मुख्य नाइकेको आरोप लागेका सहकारीको संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु (जिबी) राई अहिलेसम्म पक्राउ परेका छैनन् भने बुटवलका व्यवस्थापक सागर केसी पनि फरार रहेका छन् । 

  • बयानका क्रममा पुनले भने, ‘म निर्दोष छु’

दीपेश पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको छ । सहकारीको संस्थापक सचिव रहेको बेला बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरेको उजुरी परेपछि पुनलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गर्दे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

स्रोतका अनुसार पुनले बयानका क्रममा आफू पदाधिकारी भएको नाताले बुटवलमा बेला–बेला आउने मात्रै गरेको तर आफूले रकम हिनामिना नगरेको बताएका छन् । उनले आफूले आर्थिक विषयमा हस्ताक्षर पनि नगरेको जिकिर गर्दे पदाधिकारी भएको नाताले बुटवलमा आउँदा यस्तो लफडामा परेको गुनासो समेत गरेका छन् ।

अनुसन्धान खटिएका एक प्रहरी अधिकारीका अनुसार आफूले सहकारी पदाधिकारीको हैसियतमा नियम सङ्गत रूपमा पाउने सामान्य रकमबाहेक कर्जा प्रवाह तथा अरू कुनै रकम आफूले नखाएको जिकिर गरेका छन् ।  उनले सहकारीलाई प्रक्रिया अनुसार अगाडि बढाउने उद्देश्यले पदाधिकारी  भएपनि यस्तो अवस्था कसरी आयो आफू नै अचम्ममा परेको बयान क्रममा बताएको ती अधिकारीले खुलाए । 

स्रोतका अनुसार पुनले अहिलेसम्म हस्ताक्षर चल्ने कर्मचारी या संरक्षक जिबी राईलगायत कसैलाई पनि पोलेका छैनन् । अरूलाई दोष नलगाई पुनले केबल आफू निर्दोष मात्रै भएको जिकिर गरेका छन् । 

यस अघि बुटवलका शाखा अध्यक्ष ओम गुरुङले आफू अध्यक्ष भए पनि शाखा व्यवस्थापकमा सागर केसी पनि हस्ताक्षर चल्ने हुँदा यहाँको रकम काठमाडौँ पठाउने गरेको बयानका क्रममा बताएका थिए । फरार रहेका  व्यवस्थापक केसीलाई राई र पुनका  खास मान्छे रूपमा हेरिएको छ । 

केसीले सफ्टवेयरको एक्सेस अध्यक्ष गुरुङलाई दिएका नदिई भागेका थिए । काठमाडौँ पुगेको रकम पुन र राई लगायतले हिनामिना गरेको आशकाँ रहेको छ । रुपन्देहीका प्रहरी प्रमुख राठौरले बयानमा जसले जे भने पनि  प्रहरी प्रमाणको खोजी गर्न लागेको भन्दै पुनको कहाँ के–के संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको रातोपाटीलाई बताए ।

सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको देखिन्छ । २०७६ कात्तिक १६ गते भएको सहकारीको साधारण सभाबाट दीपेश पुन सचिव रहेकै बेला सहकारीको ७८ करोड बढी रकम अपचलन भएको देखिएको प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 

रुपन्देही लगायतका जिल्लाका बचतकर्ताहरूको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरूले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप