शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ज्वाइँलाई कप्तानबाट हटाउने चर्चा चलेपछि प्रतिरक्षामा ओर्लिए चर्चित क्रिकेटर साहिद अफ्रिदी

बुधबार, १४ चैत २०८०, १४ : २९
बुधबार, १४ चैत २०८०

काठमाडौँ । पाकिस्तानको टी–२० क्रिकेट टोलीका कप्तान हुन्, साहिन शाह अफ्रिदी । उनी विश्व क्रिकेटकै प्रभावशाली तिब्रगतिका बलर पनि हुन् । तर, पाकिस्तानले अन्तर्राष्ट्रिय प्रतियोगिता खासै गतिलो नतिजा ल्याउन नसकेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले साहिन शाह अफ्रिदीलाई कप्तानबाट हटाउने तयारी गरिरहेको छ ।

पाकिस्तानका सञ्चारमाध्यमले पनि विगत केही समययता साहिन शाह अफ्रिदीलाई टी–२० कप्तानबाट हटाउने तयारी भइरहेको समाचार प्रकाशित गर्दै आएका छन् । यस्तोमा आफ्नो समयका चर्चित पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी आफ्नो ज्वाइँको प्रतिरक्षामा अगाडि आएका छन् ।

साहिन शाह अफ्रिदी पाकिस्तानी टोलीका पूर्वकप्तान समेत रहेका साहिद अफ्रिदीका ज्वाइँ हुन् । साहिद अफ्रिदीले कप्तानको भूमिकामा आफूलाई प्रमाणित गर्न साहिन शाह अफ्रिदीलाई पीसीबीले अझ केही समय दिनु पर्ने धारणा व्यक्त गरेका छन् ।

‘यदि कसैको क्षमतामाथि विश्वास गरेर राष्ट्रिय टोलीको कप्तान बनाइन्छ भने उसलाई आफ्नो क्षमता प्रदर्शन गर्न केही समय पनि दिनु पर्छ । कप्तानको जिम्मेबारी पाएको छोटो समयमा कसैले पनि आफूलाई प्रमाणित गरेर देखाउन सक्दैन । मेरो विचारमा पीसीबीले साहिन शाह अफ्रिदीलाई पनि अझ केही समय दिनु पर्छ,’ साहिद अफ्रिदीले भनेका छन् ।

साहिद अफ्रिदीले पीसीबीमा नेतृत्व परिवर्तन भएसँगै त्यसको छायाँ नीति, नियम र पद्धतिमा पनि पर्ने गरेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । ‘बोर्डमा अनुहार परिवर्तन हुनासाथ त्यसको छायाँ हाम्रो पद्धतिमा पनि पर्ने गरेको छ । यो सबैभन्दा ठूलो चिन्ताको विषय हो,’ उनले भनेका छन् ।

साहिन शाह अफ्रिदीलाई टी–२० राष्ट्रिय टोलीको कप्तान बनाउन पनि साहिद अफ्रिदीले ठूलै भूमिका निर्वाह गरेका थिए । आईसीसी एकदिवसीय विश्वकपताका बाबर आजमलाई हटाएर साहिन शाह अफ्रिदीलाई टी–२० टोलीको कप्तान बनाइएको थियो ।

साहिद अफ्रिदीले आफू राष्ट्रिय टोलीमा विदेशी प्रशिक्षक नियुक्त गरिनु पर्ने पक्षमा रहेको धारणा पनि व्यक्त गरेका छन् । ‘पक्कै पनि राष्ट्रिय टोलीमा विदेशी प्रशिक्षक चाहिन्छ । तर, विदेशी प्रशिक्षक नियुक्त गर्दा उसको क्षमतालाई पनि ध्यान दिनु पर्छ । एन्डी फ्लावरजस्तो गौरवशाली इतिहास बोकेको व्यक्तिलाई प्रशिक्षक बनाउनु पर्छ,’ उनले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप