बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्गा प्रसाईंका दुई योजना :

‘अब मसँग पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु’

आइतबार, १८ चैत २०८०, १४ : ००
आइतबार, १८ चैत २०८०

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाई करिब २० दिनको भारत भ्रमणपछि आइतबार स्वदेश फर्किए । काठमाडौँ उत्रनासाथ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्साहका साथ सञ्चारकर्मीहरुमाझ प्रस्तुत भए ।

उनी पत्रकार सम्मेलनमा उत्साहित हुनुको कारण थियो, १३ वर्षदेखि अल्झिएको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने बाटो खुल्नु । उनी भारतको मुम्बई र दिल्ली रहेकै बेला सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेजलाई सम्बोधन दिन आदेश दिएको थियो । अदालतले बुधबार प्रसाईंको अर्बौँ लगानी भइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको थियो ।  न्यायाधीशहरू डा कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नरोक्न आदेश जारी गरेसँगै प्रसाईंले दुई योजना पनि सुनाउन भ्याएका छन् ।

  • एक–मेडिकल कलेज सञ्चालन गरेर टन्न पैसा कमाउने
  • दुई–हाल अभियानमार्फत सञ्चालन गर्दै आएको गतिविधिलाई निरन्तरता दिने

पत्रकारहरुसँग उनले भने, ‘अब मसँग पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु ।’ तर अहिलेसम्म तपाईंले सम्बन्धनकै लागि यो सबै गर्नुभएको भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘सम्बन्धनको लडाइँ आफ्नो ठाउँमा छ । यो भनेको राष्ट्र बचाउने हो । देश बचाउने हो । भूइमान्छे बचाउने हो ।’ राजनीतिक दलका नेताहरुले नबोलेका कारण आफू गरिबको पक्षमा बोलेको उनको दाबी छ । अभियानअनुसार जुम्लामा २२, दाङमा २४ गते र  इलाममा ६ गते कार्यक्रम रहेको बताए । उनले आफूलाई राज्यले पक्राउ गर्न खोजेको आरोप लगाउँदै पक्रेर देखाउन चुनौती समेत दिए ।

सोही क्रममा  प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने पनि बताएका छन् । उनले आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको जिकिर गरे ।

प्रसाईंले भने, ‘एफिलेसन आयो, कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन । तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ ? गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको ।’

१३ वर्षदेखि राज्यले तड्पायो

दुर्गा प्रसाईंले राज्यले १३ वर्षदेखि बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएर आफूलाई तड्पाइरहेकोमा अहिले आएर सर्वोच्चले न्याय दिएको बताए । ‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ ।  एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो’, उनले भने, ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ।  न्यायपालिकालाई धन्यवाद दिन चाहान्छु ।’

प्रसाईंले राज्य अहिले आफ्नो हतियारमा भुलेको पनि बताए । उनले सर्वोच्च अदालत परिसरबाट आफ्नो अंगरक्षकलाई प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरेको विषय सर्वोच्चको आदेशबाटै पुष्टि भएको प्रतिक्रिया दिए । प्रसाईंले आफूले राज्यको निकायकै निर्णयको आधारमा २२ बोरको हतियार विदेशबाट ल्याएको र लाइसेन्स लिएर प्रयोग गरिरहेको बताए ।

‘झापा जिल्ला प्रशासनको सिफारिसमा गृह मन्त्रालयको सुरक्षा समितिको बैठकले मलाई हतियार दिने भनेर निर्णय गरेको हो । गृहमन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चिठी लेखेको थियो । त्यो चिठीको आधारमा हामीले हतियार मगाएका हौँ’, उनले भने, ‘त्यो चिठीको आधारमा हामीले लाइसेन्स पनि पाएका हौँ । अहिले राज्य मेरो हतियारमा भुलेको छ ।’

उनले आफ्नो हतियारमा भुल्नुभन्दा एमालेका नेताबाट शोभा पाठकमाथि अन्याय परेको दाबी गर्दै उनलाई न्याय दिन आग्रह गरे ।  उनले लाइसेन्सप्राप्त हतियार बोक्दा सर्वोच्च परिसरमा प्रहरीले जबरजस्ती गरेर गैरकानुनी हर्कत गरेको आरोप समेत लगाए । यस्तै उनले हतियार र पैसालगायतका सामग्री प्रहरीले नियन्त्रणमा लिएको भन्दै त्यो फिर्ता नभए अर्को मुद्दा बोकेर जाने बताए । हतियार नियन्त्रणमा लिएको विषयमा उनी प्रहरीमाथि आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

तस्करको फोटो सार्वजनिक गर्ने

प्रसाईंले आफूले तस्करको फोटो सार्वजनिक गर्ने समेत सञ्चारकर्मीहरुसँग बताए । गृहमन्त्री रवि लामिछानेले तस्करको फोटो सार्वजनिक नगर्न आफूलाई आग्रह दाबी गर्दै प्रसाईले रोक्ने प्रयास भए जनतालाई सोधेर गर्ने बताए ।

उनले भने, ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, खबर पठाउनु भएको छ । फोटो सार्वजनिक गर्छु जहाँपनि तस्करहरुको । यो चुनौती हो । तस्करको फोटो सार्वजनिक गर्छु ।’

उनले आफूले प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्ने र कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए । गृहमन्त्रीले तस्करलाई कारबाही गरेमा आफ्नो पूर्ण साथ हुने प्रसाईंको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप