दोस्रो टेस्टमा पनि श्रीलङ्काको गजबको प्रदर्शन, बङ्गलादेशलाई १९२ रनले हरायो
काठमाडौँ । श्रीलङ्काले बुधबार सम्पन्न दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा बङ्गलादेशलाई एक सय ९२ रनको विशाल अन्तरले हराएको छ । जितसँगै श्रीलङ्काले दुई टेस्टको शृङ्खला पनि २–० ले नै आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलो टेस्टमा पनि श्रीलङ्का तीन सय २८ रनले विजयी भएको थियो ।
चटगाउँमा खेलिएको दोस्रो टेस्टमा पाँच सय ११ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली बङ्गलादेश पाँचौँ दिन बुधबार आफ्नो दोस्रो पालीमा तीन सय १८ रनमा अलआउट भएको थियो । दोस्रो पालीमा बङ्गलादेशका लागि दुई ब्याट्सम्यानले अर्ध शतक बनाए ।
मेहदी हसन मिराजले अविजित ८१ रन बनाए । उनले एक सय १० बलको सामना गरी १४ वटा चौका पनि हिर्काएका थिए । चौथो नम्बरका ब्याट्सम्यान मोमिनुल हकले पनि ५० रन बनाएका थिए । उनले ५६ बलमा एक छक्का र आठ चौका प्रहार गरे ।
लिटन दासले ३८ र सकिब अल हसनले ३६ रन जोडे । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । दोस्रो पालीमा श्रीलङ्काका बलर लाहिरु कुमाराले चार विकेट लिए । कामिन्दु मेन्डिसले पनि तीन विकेट हात पारे । प्रभात जयसूर्याले दुई र विश्वा फर्नान्डोले एक विकेट लिए ।
त्यसअघि श्रीलङ्काले सात विकेटको नोक्सानीमा एक सय ५७ रन बनाउँदै आफ्नो दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । श्रीलङ्काका लागि दोस्रो पालीमा एन्जेलो म्याथ्यूजले सर्वाधिक ५६ रन बनाएका थिए । उनले ७४ बलमा पाँच चौका पनि हिर्काए ।
ओपनर निशान मदुसकाले ३४ रन बनाए । प्रभात जयसूयाले पनि टोलीको खातामा अविजित २८ रन थपेका थिए । दोस्रो पालीमा बङ्गलादेशी बलर हसन महमुदले चार विकेट लिए । खालिद अहमदले दुई र सकिब अल हसनले एक विकेट लिए ।
त्यसअघि बङ्गलादेशी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ७८ रन बनाउँदै अलआउट भएको थियो । पहिलो पालीमा बङ्गलादेशका लागि ओपनर जाकिर हसनले सर्वाधिक ५४ रन बनाएका थिए । उनले एक सय चार बलमा आठ चौका पनि हिर्काए ।
मोमिनुल हकले ३३ रन बटुले । पहिलो पालीमा श्रीलंकाली टोलीका बलर आसिथ फर्नान्डोले चार विकेट लिएका थिए । विश्वा फर्नान्डो, लाहिरु कुमार र प्रभात जयसूर्याले पनि दुई–दुई विकेट हात पारेका थिए ।
त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको श्रीलङ्काले आफ्नो पहिलो पालीमा पाँच सय ३१ रनको विशाल योगफल तयार पारेको थियो । पहिलो पालीमा भ्रमणकारी टोली श्रीलङ्काका लागि कुशल मेन्डिसले ९३ रन बनाएका थिए ।

कामिन्दु मेन्डिसले पनि टोलीको खातामा अविजित ९२ रन थपे । ओपनर दिमुथ करुणारत्नेले पनि ८६ रन बनाए । कप्तान धनन्जय डा सिल्भाले ७० रनको योगदान गरे । दिनेश चन्डिमलले ५९ रन बनाए । ओपनर निशान मदुसकाले पनि ५७ रन जोडेका थिए ।
समग्रमा पहिलो पालीमा श्रीलङ्काका ६ जना ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । पहिलो पालीमा बङ्गलादेशका बलर सकिब अल हसनले तीन र हसन महमुदले दुई विकेट लिए । खालिद अहमद र मेहदी हसन मिराजले पनि एक–एक विकेट हात पारे । श्रीलङ्काका कामिन्दु मेन्डिस प्यलेयर अफ दी म्याच र प्लेयर अफ दी सिरिज घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण