शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
वर्ष समीक्षा

वर्ष २०८० : गायकदेखि पाइलटसम्मले गरे फिल्ममा डेब्यु, को–कति सफल ?

शुक्रबार, ३० चैत २०८०, ०६ : ३४
शुक्रबार, ३० चैत २०८०

काठमाडौंँ । नेपाली फिल्मको व्यवसाय राम्रो होस् या नहोस्, यस क्षेत्रप्रतिको आकर्षण बढ्दो छ । त्यसैले बर्सेनि फिल्म क्षेत्रमा सुनौलो भविष्यको कल्पनासहित भित्रिने युवायुवतीको भिड बाक्लिँदो छ । यो भिडमा कतिपय त्यसै हराएका छन् भने केही सफल पनि भएका देखिन्छन् ।

२०८० साललाई फर्केर हेर्ने हो भने नेपाली फिल्म क्षेत्रमा थुप्रै नयाँ अनुहारको प्रवेश देखिन्छ । तर सफलता र चर्चा भने केहीले मात्र पाए ।

यो वर्ष फिल्म अभिनयमा डेब्यु गर्ने नयाँ अनुहारमा गायक, पाइलटदेखि सञ्चारकर्मका सफल व्यक्तित्वसम्म छन् । तर अभिनयमा भने उनीहरू असफल नै देखिए ।

वर्षको सुरुवात महिना वैशाखमा रिलिज भएको फिल्म ‘बुलाकी’मार्फत विराज बिष्टले अभिनय यात्रा थाले । सो फिल्मका अभिनेता रहेका उनले खासै चर्चा पाउन सकेनन् ।

फिल्म ‘नाइ नभन्नु ल ६’बाट आशीर्वाद क्षेत्रीले डेब्यू गरे । हिट फिल्म ‘नाइ नभन्नु ल’को सिक्वेलका रुपमा निर्माण भएको यो फिल्म बक्सअफिसमा नराम्रोसँग पछारियो । त्यसपछि क्षेत्री ओझेलमा परे ।

जेठमा रिलिज तीन फिल्म ‘ए साथी सुन’, ‘टुल्की’ र ‘हुक्का’बाट पनि केही नयाँ कलाकार भित्रिए । फिल्म ‘ए साथी सुन’ बाट रमेश बानियाँ अभिनयमा प्रवेश गरेका थिए । राम राधव आचार्य निर्देशित फिल्म बक्सअफिसमा एक साता पनि टिक्न सकेन ।

4

फिल्म ‘टुल्की’बाट स्वस्तिमा कार्की अभिनयमा देखिइन् । बहुपति प्रथामा आधारित फिल्मको कथा र कार्कीको अभिनयले दर्शकको मन जिते पनि फिल्म भने बक्सअफिसमा सफल हुन सकेन । जसका कारण स्वस्तिमाको ‘डेब्यु’ खल्लो रहन पुग्यो । उनी अहिलेसम्म कुनै निर्माता निर्देशकको नजरमा पर्न सकेकी छैनन् ।

फिल्म ‘हुक्का’बाट प्रमिला खनालले अभिनयमा डेब्यु गरिन् । शम्भु थापा निर्देशित फिल्मले व्यवसाय गर्न सकेन । प्रमिलाले भने अभिनयबाट राम्रो तारिफ पाएकी थिइन् ।

6

यस्तै असारमा रिलिज फिल्म ‘बगान’बाट प्रमिला कार्कीले अभिनयमा डेब्यु गरिन् । सञ्चारकर्मबाट प्रमिला फिल्म अभिनयमा भित्रिएकी हुन् । फिल्मले जसोतसो लगानी सुरक्षित गरेको बताइन्छ ।

भदौमा रिलिज ‘जुलेबी’बाट मोनिका थापाले अभिनयमा डेब्यु गरिन् । गणेश देव पाण्डे निर्देशित फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी लगायतको समेत अभिनय थियो । तर उक्त फिल्मपछि मोनिका ओझेलमा परिन् ।

असोजमा प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ मार्फत गायक प्रकाश सपुतले ठुलो पर्दामा डेब्यु गरे । राजेश वंशल र नरायण रायमाझीको लगानी रहेको फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन् । हिट फिल्म ‘परदेशी’को सिक्वेलको रुपमा बनेको यो फिल्ममा प्रकाश सपुत, दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा शिवाकोटीलगायतको अभिनय थियो । फिल्म हिट हुँदा प्रकाशले पनि केही श्रेय पाए ।

मंसिरमा रिलिज फिल्म ‘दुई कदम’बाट इओन लिम्बु र सिमोन गिरीले अभियानमा डेब्यु गरे । तर यो फिल्मले राम्रो व्यवसाय गर्न सकेन । ‘दुई कदम’पछि यी दुवै कलाकार ओझेलमा परे ।

पुस महिनामा रिलिज फिल्म ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’मा पनि नवकलाकार देखिए । ‘चित्रा’बाट सन्तोष अधिकारी मुख्य भुमिकामा देखिएका हुन् । निर्माता समेत रहेका सन्तोषको न कामले तारिफ पायो, न फिल्मले लगानी उठायो । फिल्म ‘पर्खी बसेँ तिमीलाई’बाट किरण श्रेष्ठ र रक्षा बुढाथोकी फिल्ममा भित्रिए । किरण श्रेष्ठ थिएटरबाट फिल्ममा भित्रिएका थिए भने रक्षाले फिल्म अघि केही म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । तर फिल्म फ्लप भयो । किरणले अहिले केही फिल्ममा अभिनय गर्दैछन् भने रक्षा गुमनाम भइन् ।

फागुनमा रिलिज फिल्म ‘गोर्खा वारियर’ र ‘उपहार’ले पनि फिल्म क्षेत्रमा नयाँ कलाकार भित्र्याए । ‘गोर्खा वारियर’मार्फत रितेश चाम्स अभिनयमा देखिएका थिए । निकै हल्लाखल्ला भएको फिल्मले दर्शक रिझाउन भने सकेन । मिलन चाम्स निर्देशित फिल्मबाट रितेशले राम्रै चर्चा भने बटुले । तर ‘गोर्खा वारियर’पछि उनको हातमा अन्य फिल्म परेको सुन्न पाइएको छैन ।

फिल्म ‘उपहार’बाट समर्पणजङ्ग कार्की नायकको रुपमा देखिए । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मले व्यवसाय भने गर्न सकेन । ‘मिष्टर नेपाल’ विजेता कार्कीको कामको पनि तारिफ भएन । पेसाले पाइलट समर्पण भने फिल्म क्षेत्रमा निरन्तर लाग्ने सोच रहेको बताउँछन् ।

ff

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप