मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सुप्रिम सहकारी ठगी प्रकरण

बदमास सञ्चालक : सफ्टवेयरभित्रै छिरेर ‘ठगी’ को हिसाब मिलान !

मङ्गलबार, ०४ वैशाख २०८१, २१ : २२
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । सहकारी संस्था सञ्चालन तथा व्यवस्थापन संस्थाको आर्थिक स्थिति बिग्रनुमा सञ्चालक बढी जिम्मेवार छन् । संस्थाको आर्थिक कारोबारमा मनलाग्दी गर्ने, विनाधितो कर्जा प्रवाह गर्ने र अझ बढी जति सक्दो बचत रकम सञ्चालक आफैँले कुम्ल्याउने गर्नाले पछिल्लो समय एकपछि अर्को सहकारी समस्यामा परिरहेको हो ।

हजारौँ बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गरेर संस्थाको सफ्टवेयरभित्रै अनधिकृत रूपमा छिरेर सञ्चालकहरूले ठगीको हिसाब मिलान गर्ने गरेको गम्भीर अपराध समेत बाहिरिएको छ । मुलुकको उच्च ओहोदामा आसीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको समेत मुछिएको रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा सञ्चालक तथा पूर्वसञ्चालकहरुले करोडौँ रुपैयाँ हिनामिना भएको घटना बाहिरिएको छ । बचतकर्ताहरूको करोडौँ बचत अपचलन मात्र नगरेर संस्थाका सञ्चालकहरूले मनलाग्दी खर्च गरेको पैसासमेत सफ्टवेयरमा नै प्रवेश गरेर हिसाब मिलान गर्ने गरेको तथ्य भेटिएको हो ।

‘सहकारी ठगी’ मुद्दामा सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुविरुद्ध सोमबार (वैशाख ३, २०८१) पेस गरेको अभियोग पत्रमा सञ्चालकहरूकै मिलेमतोमा करोडौँ रकम ठगी भएको दाबी पेस गरेको छ । 

कृष्णप्रसाद खरेलसहित १८३१ जना वादीको जाहेरीका आधारमा गरिएको अनुसन्धानबाट २८ जना प्रतिवादी (सञ्चालकहरू) ले ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको देखिएको भन्दै सोही रकम बराबर बिगो असुलीको माग दाबीसहित जिल्ला अदालत रुपन्देहीमा अभियोग पत्र दायर गरिएको छ ।

  • प्रतिवादी बनाइएका सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापक

१.गितेन्द्र बाबु राई (जि.बी. राई) – पूर्व अध्यक्ष÷संरक्षक

२.दीपेश कुमार पुन – पूर्वसचिव, सञ्चालक समिति

३.सुरज श्रेष्ठ – पूर्व सदस्य, सञ्चालक समिति

४.राजु बराल – पूर्व सदस्य, सञ्चालक समिति

५.भूपेन्द्र राई – पूर्व सदस्य, सञ्चालक समिति

६.देवेन्द्र बाबु राई – पूर्व सदस्य, सञ्चालक समिति

७.मझर महमद – पूर्व सदस्य, सञ्चालक समिति

८.असरफ अली सिद्धिकी – उपाध्यक्ष

९.कुमार रम्तेल – सचिव

१०.आशिष आनन्द – कोषाध्यक्ष

११.बुद्धि गुरुङ – सदस्य, सञ्चालक समिति

१२.धिरज कुमार दास – सदस्य, सञ्चालक समिति

१३.दिनेश रोका – सदस्य, सञ्चालक समिति

१४.भबिश्वर अर्याल – लेखा समितिको पूर्व संयोजक (आईटी विज्ञ)

१५.सागर के.सी. – व्यवस्थापक

१६.दुर्गा चापागाई पाण्डे – सेवा केन्द्र भैरहवाका प्रमुख

यी सञ्चालक तथा पूर्व सञ्चालकहरूले मिलेमतोमा विभिन्न १० वटा कम्पनीलाई नियम विपरीत असम्बन्धित व्यक्तिलाई ऋणीको रूपमा खडा गरी करोडौँ रुपैयाँ अपचलन गरेको सरकारी वकिल कार्यालयले पेस गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ । 

स्प्रिङ उड रियल स्टेट एण्ड हाउजिङ्गको नाममा ८ करोड ९९ लाख ७२ हजार, नेचर नेस्ट प्रा.लि.को नाममा ७ करोड ८८ लाख ११ हजार, जिबी ग्रुप अफ कम्पनी प्रा.लि.को नाममा ६ करोड ९६ लाख २३ हजार, गोर्खा मिडिया नेटवर्क प्रा.लि. (भूपेन्द्र बाबु राई) को नाममा ३ करोड ३० लाख रुपैयाँ सावाँ ब्याज गरी अपचलन भएको छ । 

यसैगरी स्प्रिङ उड रियल स्टेट एण्ड हाउजिङ्गका लागि विभिन्न व्यक्तिको नाममा पुनः २ करोड ९८ लाख ५० हजार, गोर्खा मिडिया नेटवर्क प्रा.लि. (छविलाल जोशी) को नाममा २ करोड ५० लाख, स्प्रिङ उड रियल स्टेट एण्ड हाउजिङ्गको नाममा फेरि २ करोड रुपैयाँ प्रवाह भएकोमा गोर्खा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन सेयर होल्डर तथा व्यवस्थापक रहेका गृहमन्त्री रवि लामिछानेको नाममा समेत २ करोड रुपैयाँ (सेवा शुल्क ४ लाख रुपैयाँ कट्टी) गएको देखिन्छ । 

खासगरी संस्थाको पूर्व अध्यक्ष समेत रहेका संरक्षण जिबी राईकै अध्यक्षतामा रहेको गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा नै जाने गरी सेयर साझेदार रवि लामिछानेको नाममा ऋणी खडा गरी उक्त ऋण लिएको देखिन्छ । 

रवि लामिछानेको नाम ऋण खडा गरी २०७७ चैत १८ गते गोर्खा मिडिया नेटवर्क प्रा.लि.को ग्लोबल आईएमई बैंकको खातामा सेवा शुल्क बापत ४ लाख रुपैयाँ कट्टीपछि १ करोड ९६ लाख रुपैयाँ जम्मा भएको देखिएको सरकारी वकिल कार्यालय रुपन्देहीले नै आफ्नो अभियोग पत्रमा उल्लेख गरेको छ । 

लामिछानेको विवरण वैध कि अवैध यसको अनुसन्धान हुन बाँकी छ । यता सङ्घीय सहकारी विभाग भने नक्कली ऋणीलाई नियामकले नचिन्ने बताउँछ । 

  • सञ्चालक र लेखा सुपरिवेक्षण समिति नै मुख्य जिम्मेवार

सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्याय सहकारीबाट कसले ऋण पायो र लग्यो भन्दा पनि संस्थाले कस्तो व्यक्तिलाई ऋण दियो भन्ने कुरा महत्त्वपूर्ण हुने बताउँछन् । ‘सहकारी ऐन, २०७४ ले स्पष्ट भनेको छ, कुनै पनि सहकारीले गैरसदस्यलाई ऋण प्रवाह गर्नै पाउँदैन । सदस्यभित्र पनि कस्तो व्यक्ति र कस्तो धितोलाई ऋण दिने भन्ने स्पष्ट व्यवस्था छ । तर, संस्थाले नियम कानुन व्यवस्था केहीलाई पनि नहेरी ऋण प्रवाह गर्छ भने त्यो सञ्चालक समितिको नै दोष हो । यसमा लेखा सुपरिवेक्षण समिति जिम्मेवार हुन्छन् ।’

नियामकले खडा गरिएका ऋणीलाई नचिन्ने बताउँदै उपरजिस्ट्रार उपाध्यायले भने, ‘यसमा शत प्रतिशत गल्ती सञ्चालक र लेखा सुपरिवेक्षण समितिकै हो । यसै कारबाहीको भागिदार उनीहरू नै हुन्छन् ।’ 

तथापि, रवि लामिछानेको हक उच्च ओहोदामा रहेको सार्वजनिक व्यक्ति भएकाले उनको नाममा कसरी सहकारीको कर्जा प्रवाह भयो ? भन्ने प्रश्न स्वाभाविक उठ्ने उपरजिस्ट्रार उपाध्यायले रातोपाटीसँग बताए ।

सुप्रिम सहकारीबाट बरामद गरिएको कागजात तथा प्रमाणहरूका आधारमा पूर्वअध्यक्ष तथा संस्थाको संरक्षक जिबी राईकै एकल स्वार्थमा आफ्नै कम्पनी तथा सिस्टर संस्थाहरूमा बढी ऋण ल्याएको देखिन्छ । यसमा कुनै पनि मानेमा अरु सञ्चालक तथा व्यवस्थापकहरू पनि उत्तिकै दोषी छन् ।

  • संस्थाको सम्पत्ति र पेस्कीमा मनलाग्दी, सफ्टवेयरमा मिलान 

ऋणको पैसा मात्र होइन सुप्रिम सहकारीबाट सञ्चालक तथा व्यवस्थापकले मनलाग्दी पैसा चलाएको र संस्थाको सम्पत्ति हिनामिना गरेको अध्ययन पछिको अभियोग पत्रमा उल्लेख गरिएको छ । 

सञ्चालक बबिता गुरुङ, विशाल तामाङ, दिनेश पुन, गोकर्ण लामिछाने, ओमप्रकाश गुरुङ, पुष्पराज गुरुङ, सविना थापाको नाममा पेस्की रकम लगिएको तर फर्छ्यौट नगरिएको भेटिएको छ । यतिमात्र नभएर सोही संस्थाबाट पूर्वअध्यक्ष जिबी राईको कम्पनी गोर्खा मिडिया प्रा.लि.को नाममा विभिन्न समयमा गरी ३ करोड ३० लाख रुपैयाँ पठाईकोमा २ करोड ५० लाख रुपैयाँ फर्छ्यौट गरिएकोमा ८० लाख रुपैयाँ पेस्कीकै रूपमा उल्लेख गरिएको भेटिएको अभियोग पत्रमा उल्लेख गरिएको छ । 

यस्तै अन्य व्यक्तिलाई प्रवाह गरिएको ऋणलाई पेस्कीमा राखिएको तर फर्छ्यौट नगरिएको पाइएकोमा जिन्सी सम्पत्ति सवारी साधन खरिद बिक्रीमा समेत प्रमाण नराखी हिनामिना गरिएको पाइएको अभियोग पत्रमा उल्लेख गरिएको छ । 

बरु, यस्तो खर्च हिसाब मिलान गर्न संस्थाको सफ्टवेयरमा अनधिकृत रूपमा छिरेर प्राविधिकको प्रयोग गरेर हिसाब मिलान गर्ने गरेको पाइएको अभियोग पत्रमा उल्लेख गरिएको छ । 

‘हामीले देखेको, भेटेको आधारमा सम्पूर्ण सम्पत्तिहरूको, दायित्वहरूको कैफियत विवरणमा उल्लेख गरेको छु । मुख्य मुख्य कुराहरू बुँदागत रूपमा उल्लेख गरिएको छ । सहकारीबाट विभिन्न कम्पनीहरूको खातामा रकम जम्मा गरेको देखियो । उल्लेखित कम्पनीहरूको खातामा रकम जम्मा गर्ने, सफ्टवेयरबाट हिसाब मिलान गर्ने, व्यक्तिहरूको नाममा ऋण खडा गरेर कम्पनीलाई रकम पठाउने, सफ्टवेयरमा लुकाएर हिसाब मिलान गरिदिने, इत्यादि काममा निर्देशन जसको भए पनि कामलाई अन्जाम दिने काम सागर केसीको हो भन्ने पाइयो,’ अभियोग पत्रमा भनिएको छ । उल्लेखित सागर केसी सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप