आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
जसपा विभाजन

उपेन्द्र यादव पक्षको जसपा नेपाल निर्वाचन आयोगविरुद्ध अदालत जाने

सोमबार, २४ वैशाख २०८१, २१ : ००
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ । त्यसको विरुद्धमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कानुनी उपचार खोज्ने भएको हो ।

दल दर्ता सम्बन्धी कानुन निष्क्रिय भएको बेला निर्वाचन आयोगले राई नेतृत्वको पार्टी कसरी दर्ता गर्‍यो भन्दै यादव पक्षको जसपा त्यसका विरुद्धमा अदालत जाने भएको छ । जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिस सुमनले राई नेतृत्वमा जसपा नेपाल गठन भएको भनिएको कुरा नै गलत रहेको बताए ।

‘दल दर्ता कानुनसंवत छैन । अहिले देशमा दल दर्ता सम्बन्धी कानुन नै छैन । कानुन निष्क्रिय भएको बेला यो दल कसरी दर्ता भयो, यो नै अहिलेका लागि ठुलो प्रश्न हो,’ उनले भने, ‘जसपा नेपालमाथि ठुलो षड्यन्त्र भएको छ । त्यसमा केही साथीहरू प्रयोग हुनुभएको छ ।’

पार्टीका अर्का कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रकाश अधिकारीले निर्वाचन आयोगले राईलाई दिएको पार्टीको मान्यता विरुद्ध आफूहरू कानुनी उपचारमा जाने बताए । ‘कानुनी परामर्श गरिरहेका छौँ । निर्वाचन आयोगविरुद्ध हामी अदालत जान्छौँ,’ उनले भने, ‘कानुनमा व्यवस्था नै भएको आधारमा दल दर्ता गरिएको छ त्यो पनि फास्ट ट्रयाकबाट ।’ 

निर्वाचन आयोगलाई दल दर्ता गर्न हतार गरेको भन्दै उनले जसपा नेपालमाथि षड्यन्त्र भएको बताए । यसका विरुद्धमा जसपा नेपाल अदालत जाने उनले बताए ।

अशोक राईको नेतृत्वमा ७ जना सांसद उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपालबाट अलग भएर आइतबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । सो निवेदनको आधारमा अशोक राईले जसपाको आधिकारिता सोमबार प्राप्त गरेका छन् ।

आयोगको निर्णयमा भनिएको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानुनका प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावली ७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी (जसपा) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा रेकर्ड गर्ने ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप