आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, ०९ जेठ २०८१, २२ : ००
बुधबार, ०९ जेठ २०८१

आज २०८१ साल जेठ ९ गते बुधबार । प्रस्तुत छ, दिनभरका मुख्य–मुख्य घटनाक्रमको सँगालो 'रातोपाटी ब्रिफिङ’:

  • कैलाश सिरोहिया

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएका हुन् ।

  • संसदीय छानबिन समिति

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको मागसहित संसद् अवरुद्ध गर्दै आइरहेको छ । विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट प्रक्रिया पुर्‍याइ ऋण लिइ अपचलन गरेको आरोप गृहमन्त्री लामिछानेमाथि लगाइएको छ ।

  • आएन भिसा

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् । बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो। 

  • भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

  • जसपा नेपाल अलपत्र

मधेस प्रदेश सरकारका लागि केन्द्रको सत्ता गठबन्धनले गृहकार्य सुरु गरे पनि जसपा नेपाल चुपचाप छ । मधेस सरकारको नेतृत्व जनता समाजवादी पार्टी नेपालले गरिरहेको छ । जसपा नेपाल नेतृत्वको सरकारलाई हालसम्म नेकपा एकीकृत समाजवादीले मात्र साथ दिएको छ ।

  • रवि लामिछाने

गृहमन्त्री रवि लामिछानेलाई  सहकारी प्रकरणमा ‘क्लिन चिट’ दिने गरी महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न बाटो खुलेको छ। अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ हुने आदेश गरेको थियो । 

  • काठमाडौँमा प्रदर्शन

नेपाली कांग्रेसले यही जेठ १३ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले १३ गते २ बजे काठमाडौँ जिल्ला समितिको संयोजनमा विशेष प्रदर्शन गर्ने निर्णय गरेको हो । 

नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गरी सहकारीको रकम अपचलनबारे निरूपण हुनुपर्ने बताएको छ । बैठकले सहकारी ठगी गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका पीडकहरूलाई कारबाहीको दायरामा ल्याउन दबाब दिने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

  • कोशी प्रदेश

 सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध दायर रिटमा मिसिल मगाउने आदेश गरेको छ । बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदाको सम्पूर्ण फाइल र अन्य फाइलहरू मगाउने आदेश गरेको हो ।

  • खानी खन्दै सरकार

सरकारले सुन, फलाम, पेट्रोल र तामासहित १२ वटा खानी उत्खनन, सम्भाव्यता अध्ययन र अन्वेषणको प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनसहित ग्रेनाइट, लाइमस्टोन, डोलोमाइट, म्याग्नेसाइट, आइरन र फस्फोराइटसहितको १२ वटा खानी सम्बन्धी उत्खनन, अन्वेषण र सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाएको हो ।

  • गण्डकी प्रदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको रिट ‘हेर्दाहेर्दै’ राखिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा बहस नसकिएपछि आगामी सोमबारलाई हेर्दाहेर्दै राखिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप