बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, १३ जेठ २०८१, २१ : ४५
आइतबार, १३ जेठ २०८१

आज मिति २०८१ साल जेठ महिनाको १३ गते आइतबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • संसद् बैठक

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबारको संसद बैठकमा फरक दृश्य देखिएको छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बिच सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको छ । गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्‌मा पेश गरेका थिए । सोही नीति तथा कार्यक्रममाथि छलफलका लागि यसअघि राखिएको छलफल कार्यक्रममा प्रतिपक्षीले सहकारी मुद्दालाई लिएर विरोध जारी राखेपछि आइतबारका लागि बैठक धकेलिएको थियो । तर यस दिन पनि प्रतिपक्षीले विरोध जारी राखेपछि सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको हो । 

  • सडकमा पनि कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारी ठगीको मुद्दा लिएर सडकमा पुगेको छ । सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि संसदीय छानबिन समितिको माग राखी संसदमा आवाज उठाइरहेको कांग्रेस सडकमा पुगेको हो ।

  • बजेट

युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा मुलपानी क्रिकेट एकेडेमीका लागि ५० करोड रुपैयाँ बजेट माग गरेको छ । पछिल्लो समय देशमा क्रिकेट नतिजामुखी खेलका रूपमा देखिएको र क्रिकेटको भौतिक पूर्वाधार कमजोर रहेकाले मुलपानी क्रिकेट एकेडेमीलाई प्राथमिकतामा राखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

  • प्रहरीमा प्रतिस्पर्धा

नेपाल प्रहरीमा जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को ४ सिट रिक्त भएको छ । जेठ ४ मा बढुवा समितिले चार जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको थियो । 

  • महालेखा प्रतिवेदन

महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम रायले आज राष्ट्रपति समक्ष ६१औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

  • भुवन गिरी दोषी ठहर

जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन् ।

  • तातो लहरको चेतावनी

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ ।

  • नगरपालिका प्रमुखलाई पक्राउ गर्न आदेश

काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित दुई जना वडाध्यक्ष र एक वडा सदस्यलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ गर्न आदेश जारी गरेको छ । 

  • नयाँ मुख्यमन्त्री को ?

मधेस प्रदेशमा कुन दलको नेतृत्वमा सरकार बन्ने अझै अनिश्चित देखिएको छ । केही समयअघि प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने चर्चा चलेको थियो । जनमत पार्टीबाट महेश यादव मुख्यमन्त्री बन्ने सहमति भएको कुरा पनि बाहिर आएको थियो । 

  • बंगालको खाडीमा चक्रवात

बंगालको खाडीमा उत्पन्न ‘रेमल’ नामक शक्तिशाली चक्रवातको  सामान्य असर नेपालमा पनि पर्ने मौसमविद्ले बताएका छन् । रेमल नामकरण गरिएको बंगालको खाडीको सो चक्रपातबाट नेपालको पूर्वी क्षेत्रमा सामान्य असर पर्ने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाका मौसमविद् निरु महर्जनले रातोपाटीलाई जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप