‘द टाइगर्स नेस्ट’को प्रदर्शनसँगै किम्फ सुरु

काठमाडौँ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को एसिया प्रिमियरसँगै २१ औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ । ‘द टाइगर्स नेस्ट’ एक किशोर (बालमणि) र बाघको बच्चाबिचको आत्मीय सम्बन्धको कथा हो ।
भुइँचालोमा आमा गुमाएपछि अनाथ आश्रममा बसिरहेका बालमणिले सोही आश्रम नजिकैको जङ्गलबाट बाघको बच्चाको शिकारीबाट उद्धार गर्छन् । त्यसपछि रोचक र अनौठो ढङ्गले यी दुईबिच मित्रता गाँसिन्छ । यो मित्रतापछि उनीहरू हिमालयमुनिको रोमाञ्चक यात्रामा निस्कन्छन् । तर उनीहरूको पछि पछि सिकारी र अनाथ आश्रमका सञ्चालक पनि दौडिन्छन्, जसले यी दुई पात्रको यात्रामा आरोह अवरोह ल्याइदिन्छ ।
फिल्मको कथा बौद्ध धर्मको एउटा किंवदन्तीमा आधारित छ । मान्छे र जनावरको भावनात्मक सम्बन्धको कथा चित्रण गर्ने यो फिल्ममा हिमालको प्राकृतिक चित्रण पनि उत्तिकै सशक्त छ । नेपालमा छायाङ्कन भएको यो फिल्ममा नेपाली कलाकारहरू लुनिभा तुलाधर, भूमिका चौधरीलगायतको समेत अभिनय छ । १ घण्टा ३४ मिनेटको ‘द टाइगर्स नेस्ट’ शुक्रबार २ बजे पुनः प्रदर्शन हुनेछ ।
फिल्म प्रदर्शन अघि भएको उद्घाटन समारोहमा किम्फकी अध्यक्ष रम्यता लिम्बूले महोत्सवको थिम परिवर्तनको प्रतिध्वनिले किम्फकै परिवर्तनलाई पनि इंगित गर्ने बताइन् । उनले भनिन्, ‘किम्फमा छनोट भएका विदेशी फिल्ममार्फत विश्वव्यापी र नेपाली फिल्ममार्फत हाम्रै समाजका मुद्दाहरू र कथाशैलीबारे जानकारी तथा अनुभव लिन पाइन्छ ।’
काठमाडौँ महानगरपालिकाका प्रतिनिधि प्रदीप परियारले महानगरपालिका किम्फको सहआयोजक भएकोमा खुसी व्यक्त गर्दै भने, सिनेमा नेपाली कला संस्कृतिलाई विश्व अवसरमा पुर्याउने माध्यम हो र किम्फले त्यो अवसर प्रदान गरेको छ ।’
लेखक तथा निर्देशक जोन पोर्टरले उद्घाटन समारोहमा किनोट स्पिच दिएका थिए । उद्घाटन सत्रको सुरुमा महिलाहरूको वाद्यवादन रहेको श्रीतारा ब्यान्डले साङ्गीतिक प्रस्तुति दिएको थियो । जेठ २० सम्म प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने किम्फमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू