कविता : सम्बन्धहरू
जसरी
घामजस्तै जून छैन ऊऽऽऽ त्यो आकाशमा
हो, त्यसरी नै बाबु जस्ता छैनन् छोराहरू
र छैनन्, आमा जस्तै छोरीहरू यी झुपडीहरूमा।
यहाँ,
मखमली फुल उनीरहने सुकोमल हातहरू
दिदीको जस्तै बहिनीको भइदिए
किन राख्थ्यो टल्काएर खुकुरी सिरानीमा
किन हान्थ्यो ताकी–ताकी सहोदर दाइको गर्धनमा
पाँच अमल जग्गा मिचेको आरोपमा,
माइलो भाइले ।
झोलाभरि दाइजोको सूची बोकेर
टुकुटुकु विद्यालय जाँदै गरेकी नातिनी देखेर
पावरवाला चस्मा लगाएर ओँठ मिठ्याइरहेका छन्
छिमेकी साइँला हजुरबा
थाहा छैन, यो दसैँमा विजयीको रातो टिका लगाइदिन्छन्
या , लुट्छन् बिच बाटोमै उनको झोला
या त च्यातिदिन्छन् कलिला कापीको पानाहरू
यो पनि थाहा छैन,
उनी ४ बजे घर फर्किने बिलौना गर्दै गर्दा
खुल्छ कि खुल्दैन बम्बईको कोठीको ढोका
किनकि,
माइली माइजू घाँस काटेर फर्किंदैछिन् उही बाटो ।
जसरी
संस्कृति रोकेर अघि बढिरहेको छ प्रविधि
हो, उसै गरी छोरीको सङ्ख्या घटाउने क्रममा छन्
सयौँ गुरूबा र गुरूमाहरू
भर्खरै गर्भपतन गरेर फर्किंदै गर्दा
एकजोडी ‘पप्पी’ काखीमा च्यापेर फुपाजुले उपहार दिँदै छन् फुपुलाई ।
साँच्चै, कलिला काँक्राका चिचिलाहरू
जति सुरक्षित छन् थाँक्राहरूमा
हो, एक रति सुरक्षित छैनन् दूर–दूरका गाउँ बस्तीहरू
जहाँ,
सालीजस्तै प्यारो बहिनीहरू हुन्थे भने
दीर्घायुको धागो बाँधेको हातले
फाल्ने थिएनन् होला आइरनडम
जात, धर्म, क्षेत्रको परिधि आँखाले नापेर ।
जसरी
चस्मा नलगाएकी युवतीको कोमल पाखुरामा समाएर उभिन्छन्
यो देशका जोसिला युवाहरू
र, लत्रक्क भिजाउँछन् नीलो जिन्स पाइन्ट
ड्राइभर दाइले झ्याप्प–झ्याप्प हानेको ब्रेकले
छचल्किएर जवानीको घैला
मावली बसेर पढेरहेकी भान्जीले
कैयौँपल्ट धोएकी छिन् उही पाइन्ट
जुन पाइन्ट,
खचाखच उभिएर यात्रा गर्दै गर्दा
आइपुग्थ्यो साझा बसको यात्रामा पछाडिबाट जोड–जोडले टाँसिँदै ।
पुलपुल्याएर पालेको कान्छो छोरो
उसकै लागि जवानीको एक एक इँटा थपेर उठाएको छानो
गल्र्याम्म ढलेर थुनिदिन्छ संघार
श्रीमतीको रातो साडीमा अल्झिएर
पछाडि फर्केर कैयौँपटक हेर्छन्
चराहरू बास बस्ने झम्के साँझमा
वृद्धाश्रम जाँदै गर्दा बुढेसकालका बाबु–आमा ।
न हिमालजस्तै अटल छन् हिमालमा बाँच्नेहरू
न तराई जस्तै फराकिलो हेराइ छ तराईको
किन यौटै बोटको काँडा र फूलजस्ता छैनन्
यहाँ मानव–मानवको सम्बन्ध ?
हेर्नुस् त
फूल, फूलजस्तै छ
काँडा–काँडा जस्तै छ
र याद राख्नोस् !
जति नै आँधीहुरी चलोस् नियतिको
लत्रेको छैन गुलाफको फूल काँडामा,
न, तिखो काँडाले घोँचेको नै छ
कोमल गुलाफको फुल ।
(कास्की घान्द्रुक)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण