नयाँ दिल्ली । भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई) ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले आफ्नो देशको सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ।
एक्समा एउटा भिडियो सेयर गर्दै भारतीय सेनाका एडीजी पीआईले लेखेको छ, ‘पाकिस्तानी सशस्त्र बलहरूले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमण गरे। पाकिस्तानी सेनाले जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरै पटक युद्धविराम उल्लङ्घन गरेको छ।’
यता, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जम्मू कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका थिए। त्यस्तै पाकिस्तानका सञ्चार मन्त्री अतुल्लहा तरारले पनि बिहीबार भारत प्रशासित कश्मीरमा कुनै पनि आक्रमण नगरिएको जिकिर गरे । उनले भारतीय मिडियाले गलत सूचना फैलाएको दाबी गरे ।
काठमाडौँ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै दूतावासले सो आग्रह गरेको हो ।
सूचनामा भारतको जम्मु काश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमहरूलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन भारत सरकारले जारी गरेका निर्देशनहरूको पालना गर्न आग्रह गरिएको छ ।
साथै कुनै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ ।
काठमाडौँ । सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जानकारी गराएको हो ।
यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँ । व्यक्तिगत भ्रमणमा नेपाल आएका भारतीय जनता पार्टी (भाजपा) का नेता भगतसिंह कोसियारीले राजनीतिक भेटघाट गरेर भारतको पक्षमा समर्थन जुटाउने प्रयास गरेका छन् ।
एक धार्मिक कार्यक्रमका लागि उनी बुधबार नेपाल आइपुगेका हुन् । त्यसक्रममा उनले प्रधानमन्त्री केपी शर्मा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरी भारत–पाकिस्तानबिच उत्पन्न द्वन्द्वमा भारतको पक्षमा रहन आग्रह गरेको बताइएको छ ।
यसअघि भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले नेपाल आएर भारत–पाकिस्तानबिच जारी द्वन्द्वको बारेमा चर्चा गरेका थिए । उनले नेपालको संसदमा प्रतिनिधित्व गर्ने सबैजसो दलका शीर्ष नेतासँग भेटघाट गरेका थिए । यस क्रममा उनले नेपाल–भारतबिच रहेको खुला सीमाका कारण सुरक्षा चुनौती रहेको भन्दै त्यसमा संवेदनशील भइदिन आग्रह गरेका थिए ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित भएको छ । आईपीएलले भारत र पाकिस्तानबिचको द्वन्द्वका कारण यस्तो निर्णय लिएको हो ।
शुक्रबार आईपीएलको वेबसाइटमा एक हप्ताका लागि बाँकी खेलहरू स्थगित भएको जनाइएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पछिल्लो घटनाक्रमका आधारमा एक साताका लागि आईपीएल रोक्ने निर्णय गरेको उक्त सूचनामा उल्लेख छ ।
सूचनामा त्यतिन्जेलसम्मको अवस्था मूल्याङ्कन गरी बाँकी खेलको तालिका र आयोजना हुने स्थलबारे जानकारी गराइने बताइएको छ ।
काठमाडौँ । पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध निकै बिग्रिएको छ । अप्रिल २२ मा जम्मु कश्मिरको पहलगाममा आतंकवादीहरूले २६ जना पर्यटकहरूको हत्या गरेयता दुवै देश एक अर्कासँग प्रतिशोध लिइरहेका छन् ।
यसैबिच भारतले पहलगाम आक्रमणको बदला लिँदै गरेको हमलाको जवाफमा बिहीबार राति पाकिस्तानले भारतमाथि ड्रोन र मिसाइल आक्रमण गर्यो । सीमामा देखिएको तनावको असर यति बेला भारतीय सेयर बजारमा देखिएको छ ।
शुक्रबारको कारोबारमा भारतको मुख्य सेयर परिसूचक बीएसई सेन्सेक्स रातोमा आयो । कारोबार बन्द हुँदा बीएसई सेन्सेक्स ८८० अङ्कले घेर ७९ हजार ४५४ दशमलव ४७ अङ्कमा आएर बन्द भएको थियो ।
काठमाडौँ । भारत–पाकिस्तान युद्धका कारण इन्धन अभाव हुने भन्दै भारतमा उपभोक्ताले इन्धनको खपत बढाएका छन् । खासगरी एलपी ग्यासका उपभोक्ताले ग्यास अभाव हुने भन्दै इन्धनको खपत बढाएका हुन् ।
बजारमा ग्यासको माग बढेर अभाव सुरु हुने अवस्था देखिएपछि इन्डियन आयल कर्पोरेसनले बजारमा ग्यासको कुनै अभाव नरहेको भन्दै निश्चिन्त हुन सार्वजनिक आह्वान नै गरेको छ । भारतमा हल्ला फैलिएसँगै नेपालमा पनि इन्धन अभाव हुने हो कि भन्ने आशंका छ । यद्यपि नेपाल आयल निगमले भने अभाव हुने अवस्था नरहेको जनाएको छ ।
अहिले भारतको उत्तरी क्षेत्रमा एलपीजी ग्यास बोटलिङ प्लान्टमध्ये धेरैजसो आधा भन्दा राजस्थान तथा पञ्जाबमा रहेको र यो क्षेत्र पाकिस्तानसँग जोडिएको कारणले युद्धको प्रभाव पर्नसक्ने आधारमा अभावको हल्ला फैलिएको हो ।
काठमाडौँ । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबिचको तनावलाई दृष्टिगत गर्दै दुवै देशमा बस्ने नेपालीहरूको आवश्यक सुरक्षा लगायतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत पाकिस्तान तनाव र नेपालीहरूको सुरक्षाका विषयमा सरकारलाई रुलिङ गर्न माग गरेका थिए ।
‘भारत पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु’, सभामुखले सरकारलाई निर्देशन दिए ।
नयाँ दिल्ली । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले शुक्रबार देशभर पर्याप्त इन्धन भण्डार रहेको र मानिसहरू आत्तिनु पर्ने कुनै आवश्यकता नभएको बताएको छ।
‘इन्डियन आयलसँग देशभरि पर्याप्त इन्धनको भण्डार छ र हाम्रो आपूर्ति लाइनहरू कुनै पनि समस्या बिना राम्रोसँग चलिरहेका छन्,’ इन्डियन आयलको आधिकारिक एक्स खातामा पोस्ट गरेको छ ।
उक्त पोस्टमा मानिसहरूलाई अपिल गरिएको छ, ‘आत्तिनु पर्दैन - इन्धन र एलपीजी हाम्रा सबै आउटलेटहरूमा सजिलै उपलब्ध छन्।’ मानिसहरूलाई शान्त रहन र अनावश्यक भीडभाडबाट बच्न सल्लाह दिइएको छ।
काठमाडौँ । प्रतिनिधि सभा सांसद तथा रास्वपा नेतृ सुमना श्रेष्ठले भारत र पाकिस्तान तनाव सृजना भएकोले पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन माग गरेकी छिन् ।
परराष्ट्रमन्त्री माननीय डा आरजु राणा देउवालाई पत्र लेख्दै उनले पाकिस्तानमा अध्ययनरत विद्यार्थीको सुरक्षाबारे ध्यानाकर्षण गराएकी हुन् ।
'विगतका केही दिनदेखि भारत र पाकिस्तानबिच तनावग्रस्त स्थिति बनेको छ । पाकिस्तानमा मानवीय क्षति बढ्दै गएको अवस्थामा त्यहाँ अध्ययनरत विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिनुहुन र नेपाल फर्किने वातावरण बनाइदिनुहुन आग्रह गर्दै हामीलाई पत्र लेखेका छन् । पाकिस्तानको लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल जस्ता ठाउँहरूमा एमबीबीएस पढ्न गएका ८० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेका छन् भनी जानकारी गराएका छन्', उनको पत्रमा लेखिएको छ ।
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले काँग्रेस कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्राकशशरण महतले भारत र पाकिस्तानको बिचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताए । उनले काँग्रेसले आतंकवादको खिलाफमा हुने कारबाहीलाई हामी जायज ठान्ने बताए ।
उनले भने , ‘भारत र पाकिस्तानको बिचमा जुन द्वन्द्व चर्किएको छ । त्यसअघि भारतको पहलगाममा जुन आतंकवादी आक्रमण भयो । लक्षित किसिमबाट निहत्था सिभिलियन आक्रमणमा मारिए । त्यसको नेपाली काँग्रेसले कडा शब्दमा निन्दा पनि गरेका छौँ । पछिल्लो समयमा पनि यो जुन परिस्थिति छ, हामी जहिले पनि आतंकवादको खिलाफमा छौँ । आतंकवादको खिलाफमा हुने कारबाहीलाई हामी जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ ।’
काठमाडौँ । राष्ट्रिय जनमोर्चा काश्मीरी जनताको आत्मनिर्णयको अधिकारको पक्षमा आफ्नो समर्थन जनाएको छ। अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भारत–पाकिस्तानबिच बढ्दो तनाव र काश्मीर क्षेत्रको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
भारतद्वारा पाकिस्तानका विभिन्न स्थानहरूमा गरिएका हवाई तथा सैनिक कारबाहीको विरोध गर्दै विज्ञप्तिमा भनिएको छ, 'कसैको पनि आतङ्कवादी घटनाको नाममा निर्दोष जनता मारिनु न्यायसङ्गत मान्न सकिन्न।'
पहलगाममा भएको आतङ्कवादी घटनाप्रति पार्टीले गहिरो दुख व्यक्त गर्दै त्यसमा संलग्न दोषीलाई कारबाहीको माग गरेको छ। तर भारतले त्यस घटनालाई आधार बनाई पाकिस्तानमाथि आक्रमण गर्नु सही हुन नसक्ने जनमोर्चाको ठहर छ।
इस्लामवाद । पाकिस्तानको आर्थिक मामिला मन्त्रालयको एक्स खाता ह्याक भएको छ । खातामा अन्तर्राष्ट्रिय साझेदारहरूसँग थप कर्जा माग्दै एउटा पोष्ट आएपछि खाता ह्याक भएको खुलासा भएको हो ।
पछिल्लो समय भारत र पाकिस्तानबिच तनाव चलिरहेको छ । यस्तोमा शत्रुले गरेको आक्रमणका कारण निकै धेरै क्षति भएको भन्दै पोस्टमा पाकिस्तान सरकारको तर्फबाट मन्त्रालयले अन्तर्राष्ट्रिय साझेदारहरूलाई अरू कर्जा दिन अनुरोध गरेको थियो ।
द्वन्द्व चर्किरहेको र शेयर बजार धराशायी भइरहँदा तत्कालै सहयोगको पहल गरिदिनु भन्दै पोस्टमा अनुरोध गरिएको थियो । अहिलेका लागि एक्स खाता स्विच अफ गर्न काम गरिरहेको मन्त्रालयले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । आफूहरूले ट्विट गर्दै नगरेको उसको भनाइ छ ।
काठमाडौँ । छिमेकी मुलुक भारत र पाकिस्तानबिचको क्षेत्रीय तनावप्रति प्रतिनिधि सभा सदस्यहरूले चिन्ता प्रकट गरेका छन् । उनीहरूले क्षेत्रीय अशान्तिको प्रभाव नेपालमा पनि पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराए । त्यसक्रममा सांसदहरूले आयातमा पर्ने प्रभावदेखि दुवै देशका नेपालीहरूको सुरक्षामा सरकारले उचित ध्यान दिनसक्नुपर्ने बताए ।
कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलापछि भारत भारत र पाकिस्तानबिच ड्रोन र मिसाइल आक्रमण भइरहेका समाचार आइरहेका छन् ।
उक्त आक्रमणपछि भारतले ‘अपरेसन सिन्दूर’ घोषणा गरेको थियो । सोही अनुसार बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको थियो । उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको थियो ।
काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । शुक्रबार समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढवा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गर्दै प्रदर्शन गरेको हो ।
समाजले दिउँसो पाकिस्तान दूतावास अगाडी पनि प्रदर्शन गर्ने घोषणा गरेको छ ।
नयाँ दिल्ली । भारतका पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन् ।
नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको हो।
निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको सेकेन्डरी ल्याडर पोइन्ट चेकिङ (एसएलपीसी) गरिनेछ। टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ। त्यस्तै एयर मार्सलहरू पनि तैनाथ गरिने भनिएको छ।
नयाँ दिल्ली । भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई) ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले आफ्नो देशको सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ।
एक्समा एउटा भिडियो सेयर गर्दै भारतीय सेनाका एडीजी पीआईले लेखेको छ, ‘पाकिस्तानी सशस्त्र बलहरूले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमण गरे। पाकिस्तानी सेनाले जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरै पटक युद्धविराम उल्लङ्घन गरेको छ।’
भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको र युद्धविराम उल्लंघनको कडा जवाफ दिइएको बताएको छ।
न्युयोर्क । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाको संलग्नता नहुने स्पष्ट पारेका छन् ।
‘हामीले गर्न सक्ने भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहित गर्ने प्रयास गर्नु हो, तर हामी युद्धमा जाने छैनौँ। त्यो हाम्रो काम होइन,’ भान्सले फक्स न्यूजसँगको अन्तर्वार्तामा भने।
अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबिचको यो तनाव व्यापक क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने आशा व्यक्त गरेका छन्। उनले भने, ‘यो मुद्दालाई नियन्त्रण गर्ने अमेरिकाको क्षमतासँग कुनै सम्बन्ध छैन... हामी कूटनीतिक माध्यमबाट यस मुद्दामा हाम्रा प्रयासहरू जारी राख्नेछौँ।’
काठमाडौँ । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पनि परेको छ । भारत र पाकिस्तानले एक–अर्काविरुद्ध आक्रमण सुरु गरेपछि आईपीएलको खेलसमेत प्रभावित बनेको हो ।
आईपीएलमा बिहीबार राति धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबिच खेल हुने कार्यक्रम थियो । खेल सुरु पनि भइसकेको थियो । तर, १०.१ ओभरसम्म खेल भएपछि अप्रत्यासित रुपमा खेल रोकेर स्टेडियम खाली गराइएको थियो ।
रंगशालामा रहेका दर्शकलाई बाहिर निकालिएको थियो भने खेलाडीहरु पनि आफ्नो होटल फर्किएका थिए । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार, त्रासका कारण केही खेलाडी खुट्टामा प्याड लगाएर नै हतारमा होटल फर्किएका थिए ।
काठमाडौँ । भारत–पाकिस्तानबिच तनाव बढ्दै जाँदा भारत सरकारले सामाजिक सञ्जाल एक्सका आठ हजारभन्दा धेरै अकाउन्ट ब्लक गर्न निर्देशन दिएको छ ।
भारत सरकारले पाकिस्तानी राजनेताहरू, सेलिब्रेटीहरू तथा मिडिया संगठनका सामाजिक सञ्जाल अकाउन्टहरूलाई भारतमा प्रतिबन्ध लगाइरहेको छ । एक्सका अकाउन्ट ब्लक गर्ने भारत सरकारको निर्देशनलाई पनि यसै रणनीतिको हिस्साका रूपमा हेरिएको छ ।
भारत–पाकिस्तानबिच तनाव बढेसँगै सरकारले सामाजिक सञ्जाललाई मसिनो गरी निगरानी गरिरहेको छ । एक्सका अनुसार, भारत सरकारले जुन–जुन अकाउन्टहरू ब्लक गर्न निर्देशन दिएको छ, त्यसमा अन्तर्राष्ट्रिय मिडिया तथा प्रमुख प्रयोगकर्ता पनि छन् । यसभन्दा अघि मेटाले इन्स्टाग्राममा रहेको एउटा प्रमुख मुस्लिम समाचार पेजलाई भारत सरकारको निर्देशनमा ब्लक गरेको थियो ।
काठमाडाैँ । भारत र पाकिस्तानबिच जारी तनावको बारेमा अमेरिकी विदेश मन्त्रालय बोलेको छ । अमेरिकाले दुवै देशले एक अर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने बताएको छ । युद्धले कुनै समाधान ननिम्त्याउने अमेरिकाको भनाइ छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा यो कुरा बताएकी हुन्। पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, 'अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्नेकुरा मध्य पूर्वबाट प्रमाणित भइसकेको छ ।'
यस्तै ब्रुसले भारत र पाकिस्तान बिचको तनावमा कुनै पनि प्रकारको मध्यस्थता केही खुलाइनन् ।
काठमाडौँ । भारत र पाकिस्तानबिच जारी तनावका बिच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग (पीएसएल)का बाँकी खेलहरू संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गर्ने बताएको छ।
अब पीएसएलका अन्तिम आठ खेलहरू, जुन पहिले रावलपिंडी, मुल्तान र लाहोरमा आयोजना हुने तालिका थियो, युएईमा आयोजना हुनेछन्। पीसीबीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार खेलको तालिका, मिति र स्थान छिट्टै घोषणा गरिनेछ।
बिहीबार रावलपिंडी क्रिकेट रङ्गशालामा हुने तय भएको पीएसएल खेल रद्द गरिएको थियो। पाकिस्तानी सेनाले रावलपिंडी क्रिकेट रंगशाला नजिकैको फूड स्ट्रिटमा भारतीय ड्रोन खसालेको दाबी गरेको थियो।