हङकङलाई पछि पार्दै सुपर–३ चरणमा पुग्यो नेपाल
सारांश
- नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश गरेको छ।
- हङकङ र बहराइन बीचको खेल वर्षाले रद्द भएपछि नेपालले सुपर-३ मा स्थान पक्का गरेको हो।
काठमाडौँ । नेपाली टोली आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा प्रवेश गरेको छ । शुक्रबार हुने भनिएको समूह ‘सी’ को हङ्कङ र बहराइनबिचको खेल वर्षाका कारण रद्द भएपछि नेपाली टोली सुपर–३ चरणमा पुगेको हो ।
हङ्कङ र बहराइनबिचको खेल वर्षाका कारण सुरु नै हुन सकेन । त्यसपछि नेपाली टोली समूहगत चरणमा बढी खेल जितेका आधारमा सुपर–३ चरणमा पुग्न सफल भयो । नेपाल र हङ्कङ दुबै टोलीको अंक पाँच–पाँच रहेको थियो । नेट रन रेटमा पनि नेपालभन्दा हङ्कङ अगाडि थियो । हङ्कङको नेट रन रेट ०.८६७ र नेपालको नेट रन रेट ०.८३० रहेको थियो । तर, समूहगत चरणमा हङ्कङभन्दा नेपालले बढी खेल जितेको थियो । सोही आधारमा नेपाल अगाडि बढ्यो ।
समूहगत चरणमा नेपालले बहराइनलाई दुई पटक हराएको थियो । नेपालले बहराइनलाई पहिलो खेलमा नौ विकेटले र दोस्रो खेलमा डकवर्थ एन्ड लुइस नियमका आधारमा ६ विकेटले हराएको थियो । नेपाल र हङ्कङबिचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।
अर्को खेलमा हङ्कङले नेपाललाई सात विकेटले हराएको थियो । हङ्कङ र बहराइनबिचको दुबै खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसले अन्तिम समयमा आएर हङ्कङ पछि पार्दै नेपाली टोली सुपर–३ चरणमा पुग्न सफल भयो ।
जारी प्रतियोगितामा प्रारम्भिक चरणको खेलपछि तीनवटै समूहबाट एक–एक टोली ‘सुपर–३’ चरणमा प्रवेश गर्ने प्रावधान रहेको थियो । अब प्रतियोगिताको ‘सुपर–३’ चरणमा तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।
प्रतियोगिताको समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड रहेका छन् । समूह ‘बी’ मा भने मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) परेका थिए । समूह ‘बी’ बाट यूएई सुपर–३ चरणमा पुगिसकेको छ ।
समूह ‘ए’ बाट भने आयोजक थाइल्यान्ड सुपर–३ चरणमा पुग्यो । सुपर–३ चरणमा अब नेपालले मे १९ तारिखमा यूएईसँग पहिलो खेल खेल्नेछ । त्यसपछि नेपालले आफ्नो दोस्रो खेल मे २० तारिखमा थाइल्यान्डसँग खेल्नेछ ।
यो प्रतियोगिताबाट दुई टोलीले आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाउने छन् । विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुंगो लागेको छ । बंगलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् ।
विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने सात टोलीको भने टुंगो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुंगो लाग्न बाँकी छ ।
विश्वस्तरीय छनोट प्रतियोगितामा चार टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । त्यसैले एसियाली क्षेत्रको यो छनोट प्रतियोगिता सहभागी टोलीका लागि आगामी विश्वकपमा स्थान बनाउने महत्वपूर्ण खुड्किलो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण