बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

‘लागत धेरै भए पनि दीर्घकालीन रूपमा कंक्रिट सडक सस्तो पर्छ’

मङ्गलबार, १३ जेठ २०८२, ०९ : ५३
मङ्गलबार, १३ जेठ २०८२

समाचार सारांश

  • नेपालमा कालोपत्रे सडकको तुलनामा कंक्रिट सडक निर्माणको फाइदा र बेफाइदाबारे छलफल गरिएको छ।
  • कंक्रिट सडक सिमेन्ट प्रयोग गरी बनाइन्छ र यसको आयु लामो हुन्छ, इन्धन खपत घटाउँछ र रातमा स्पष्ट देखिन्छ।
  • कंक्रिट सडक बनाउँदा सुरुमा लगानी बढी लाग्ने, मर्मत गर्न गाह्रो हुने र गुणस्तर नियन्त्रण गर्न नसकिने समस्या छन्।

काठमाडौँ । विश्वमा कंक्रिट सडक निर्माण र प्रयोग बढ्दै जाँदा पनि नेपालमा कालोपत्रे सडक निर्माणलाई बढी जोड दिइने गरिएको छ । पछिल्लो समय सिमेन्ट उद्योगीहरूले स्वदेशी वस्तु खपत हुने साथसाथै गुणस्तरीय सडक निर्माण गर्न सकिने भएकाले कंक्रिट सडकलाई जोड दिनुपर्ने बताइरहेका छन् ।

नेपालमा कंक्रिट सडक निर्माणका के कस्ता फाइदा वा बेफाइदा छन् ? अन्तर्राष्ट्रिय रूपमा प्रयोग, लागतलगायत विषयमा सिमेन्ट कंक्रिट रोड विशेषज्ञ राजेन्द्र राज शर्मासँग कल्पना घिमिरेले गरेको कुराकानी । 

  • ढलान (कंक्रिट) सडक र कालोपत्रे सडकमा के–के भिन्नता छन् ? कंक्रिट सडक निर्माणका लागि के–के सामग्री आवश्यक पर्छ ?

ढलान (सिमेन्ट कंक्रिट पेभमेन्ट) सडक सिमेन्ट प्रयोग गरेर गरेर गर्छौँ । कालोपत्रे सडक बिटुमिन र रोडा प्रयोग गरिन्छ । बिटुमिन अथवा अलकत्रा भनेर चिन्छौँ । अलकत्रा भनेको वास्तवमा अर्कै हो । अहिले प्रयोगमा आउँदैन त्यो । हामीले बोलचालको भाषामा बिटुमिनलाई अलकत्रा भन्छौँ । 

ढलान गरेको कंक्रिटको सडक अलि कडा हुन्छ, लच्किँदैन । कालोपत्रे गरेको अलिकति लचकदार हुन्छ । त्यही भएर बोलीचालीमा त्यसलाई रिजिड पेभमेन्ट र फ्लेग्जिबल पेभमेन्ट पनि भन्छौँ । मुख्य कुरा सिमेन्ट र बिटुमिनमा फरक हो । दुई किसिमकै सडक निर्माण प्रयोग हुने गिटीहरू एउटै हो । त्यसलाई बाइन्डिङ गर्ने म्याटर एउटा सिमेन्ट र अर्को अलकत्रा वा बिटुमिन हो । 

फरकचाहिँ यसको काम गर्ने प्रिन्सिपलमा छ । ढलानले एउटा ठुलो क्षेत्रफलमा लोड डिस्ट्रब्युट गर्दिन्छ । लोडलाई फैल्याउने भएकाले ठुलो एरियामा फैलिन्छ । कालोपत्रे एकै ठाउँमा चक्काको लोड परेपछि त्यही ठाउँमा मात्र पर्छ, त्यसरी काम गर्छ । 

  • कालोपत्रको सट्टा कंक्रिट बनाउने हो भने अहिलेको सिमेन्ट डन्डी उद्योगले धान्छ ? सिमेन्टको उत्पादन बढाउन सकिएला तर डन्डीको आयात कति बढ्छ ? 

सिमेन्ट कंक्रिट पेभमेन्टबाट सडक निर्माण गर्दा डन्डी धेरै हाल्नुपर्छ भन्ने धेरै भ्रम छ । वास्तवमा डन्डी हाल्नु पर्दैन । डन्डी अलिअलि प्रयोग गर्ने हो, यसको आयात बढाउन समस्या हुँदैन । डन्डी उद्योगसँग त्यति असर पार्दैन, मुख्य कुरा सिमेन्ट हो । 

कालोपत्रे सडकको सट्टा पूरै सिमेन्टको बनाउने भन्ने पनि होइन । कालोपत्रका आफ्नै फाइदा छन् । सिमेन्टको आफ्नै फाइदा छ । सिमेन्ट हामीसँगै भएकाले आयात गर्नु पर्दैन । बिटुमिनचाहिँ आयात गर्नुपर्ने हुन्छ । तर आयात गर्नुभन्दा आफ्नै देशमा उत्पादन भएको कच्चा पदार्थ प्रयोग गरेर निर्माण गर्न सक्नुपर्छ । 

लामो अवधिको योजना नभएको ठाउँमा, विद्युत्को लाइन अथवा पानी ढलजस्ता पछि भत्काउनुपर्ने ठाउँमा सिमेन्ट कंक्रिट प्रयोग गरिएका सडक रद्दी हुन जान्छ । किनकि बनाउने बित्तिकै भत्काउनु पर्ने हुँदा पछि समस्या आउँछ । 

अलकत्राले बनाएको बिटुमिनको सडक भने खनेपछि टाल्न पनि सजिलो हुन्छ । त्यसका कारण कालोपत्रलाई सिमेन्टले प्रतिस्थापन गर्न सक्दैन । अध्ययन गरेर मात्र प्रयोग गर्न सकियो भने आफ्नै कच्चा पदार्थ प्रयोग गरेर राम्रो सडक बनाउन सकिन्छ । 

डन्डी भनेको एकदमै थोरै मात्रामा, ज्वाइन्टमा मात्रै राख्ने हो । यसो गर्दा धेरै डन्डी खपत पनि गर्नुपर्दैन । हाम्रोमा सिमेन्ट उत्पादन राम्रो छ । उद्योगहरूले पूर्ण क्षमतामा उत्पादन गर्ने हो भने सडकका लागि अपुग भन्ने हुँदैन । बरु माग बढ्न सक्छ, अरु उद्योग पनि खुल्छन् । 

  • यी दुई प्रकारका सडका फाइदा र बेफाइदा केके हुन् ?

सिमेन्ट कंक्रिट सडकको आयु धेरै लामो हुन्छ । यो भनेको कृत्रिम रूपमा ढुंगाबाट बनाइएको हो । ढुंगा हावा पानीअनुसार बलियो हुँदै जान्छ । १०० वर्षभन्दा बढी भइसक्यो संसारमा सिमेन्ट कंक्रिट सडक निर्माण थालिएको । कतिपय ठाउँमा १२० वर्षअघि बनाएका सडक अहिले पनि छन् । यस्तो सडक एकचोटि बनाएपछि सधैँलाई हुन्छ । गुणस्तरको बनाइयो र बिटुमिनको १५/२० वर्षमा रि –सर्फेसिङ गरियो भने लामो समय टिक्छ । 

अर्को कुरा, सिमेन्ट कंक्रिट सडक सेतो रङको हुने भएकाले सूर्यको ताप पनि कम सोस्ने हुन्छ । कालोपत्रे सडकले भने सोस्छ । बिटुमिन सडकमा (कालोपत्रे) डिजेल मोबिल पोखिँदा बिग्रिने हुन्छ । बिटुमिननको खराबी भनेको डिजेल पेट्रोल मोबिलमा घुल्छ । त्यसले गर्दा बाँधिएर बसेका बालुवा–गिटी छुट्टिन्छन् र खाल्डो पर्छ । तर सिमेन्टमा यस्तो हुँदैन । 

सिमेन्ट कंक्रिटमा धेरै फाइदा छन् । राम्रोसँग बनायो भने गाडीलाई तान्ने बल कम पर्छ र पेट्रोलिय पदार्थ खपत घट्छ । कतिपय अध्ययनले यस्तो सडकमा १४ प्रतिशत इन्धन खपत घट्ने पनि देखाएको छ । अनि सबैभन्दा फाइदा हाम्रोजस्तो देशले तेल आयात कम गर्दा पुग्छ । 

अर्को फाइदा रातीको समयमा हिँड्दा सेतो रङगको हुने भएकाले प्रस्ट बाटो देखिने र कालोपत्रे सडकमा अँध्यारोमा हिँड्दा अन्धकार हुने र दुर्घटना बढ्ने जोखिम  अलि बढी हुन्छ  तर कंक्रिटमा कमै हुन्छ । 

तर कंक्रिट सडकमा फाइदा धेरै भए पनि सुरुमै लगानी धेरै लाग्छ । एउटा कालोपत्रे सडक बनाउनभन्दा सिमेन्ट कंक्रिटलाई तीन गुणा लागत चाहिन्छ । त्यसैले गरिब मुलुकहरूले कालोपत्रे सडक नै रोज्छन् । कंक्रिट सडक फुटाउन मिल्दैन । फुटाउने प्रविधिहरू आए पनि फुटाएर पछि ढलान गरेको सडक मर्मत गर्न एकदमै गाह्रो हुन्छ  । यस्तो सडक चिसोमा खुम्चिने हुँदा स्ल्याब कंक्रिटको जोइन्ट राख्नुपर्ने हुन्छ अनि यो राखेपछि कडा हुन्छ । जोइन्टमा ढ्याकढ्याक गर्ने हुँदा हाइस्पिडमा सडकबाट आवाज बढी आउँछ । २५/३० वर्षको योजना बनाएर फेरि भत्काउनुपर्ने गरी सिमेन्ट कंक्रिट सडक बनाउने हो एकदमै राम्रो हुन्छ । 

सहरमा कंक्रिट सडक बनाउनु एकदमै राम्रो हो । तर एक दुई वटा बेफाइदा छन् । पहिलो, ठुलो लगानी, दोस्रो, मर्मत सम्भार नहुने र तेस्रो, गुणस्तर नियन्त्रण गर्न नसिकिने । 

अहिलेका कंक्रिटको गुणस्तर एकदमै निम्छरो छ । सिमेन्ट, बालुवा र पानी मिसाएपछि भइगो नि भन्ने छ । कंक्रिट आफैँमा ठुलो विज्ञान हो । राम्रोसँग कंक्रिट प्रोडक्सन गर्ने हो भने यसका धेरै फाइदा छन् । 

  • सरकारको पुँजीगत खर्चमा कमी देखिएको छ । ढलान सडकले बढी खर्च लाग्छ पनि भन्नुभयो । खर्च व्यवस्थापन गर्न सकिन्छ त ? 

कंक्रिट सडक सरकारले नीति बनाएर ल्याउने विषय होइन । भोलि आर्थिक प्राविधिक रूपमा जुन सस्तो र सहज छ त्यही आइहाल्छ । सरकारले नीति बनाएर सिमेन्ट कंक्रिट सडक बनाउँछु भन्नु गलत हो । सरकारले कंक्रिट रोडमा जोड दिनु भन्नुको केही तात्पर्य छैन । सरकारले नीति बनाएर कालोपत्रको ठाउँमा कंक्रिट गर्न थाले हामी संकटमा पर्छौँ । 

हाम्रो पहाडी इलाकामा उकालो बाटोमा जथाभावी कंक्रिट गरिएको छ, सबैलाई आफ्नो घरमा बाटो पुगोस् भन्ने हुन्छ । बाटो उकालो बनाएर लैजाँदा त्यहाँ कंक्रिट गरिदिए पनि हुन्छ भन्ने मानिसमा भ्रम छ । भोलि ट्रक हिँड्नु पर्ला, त्यहाँ कमोडिटी प्राइसको योगदान दिन सक्दैन भनेर ट्रकको ढुवानी महँगो पर्न जान्छ । त्यस्तो अवस्थामा कालोपत्रे सडकको सट्टा कंक्रिट ल्याउने भन्नु हुँदैन । 

कालोपत्रे र कंक्रिट सडकको ३० वर्षको तुलना गर्ने होभने कंक्रिट सस्तो पर्न जान्छ । कंक्रिट रोडको मर्मत खर्च कम लाग्छ र कालोपत्रको लागत बढ्दै जान्छ । 

अब ठुला सडक विस्तार गर्दा कंक्रिटको बनाउन सकिन्छ, तर सरकारी नीति बनाएर होइन, आर्थिक विश्लेषणका आधारमा मात्र । यस्तोमा सरकारले नीति बनाएर होइन । आर्थिक विश्लेषण गरेर मात्र कंक्रिट सडक बनाउनुपर्छ । नभए त गरिब मुलुक झन् गरिबीतिर धकेलिन्छ । कतिपय हचुवाको भरमा प्रोजेक्ट आउँछन् । तर राम्ररी अध्ययन गरेर गर्‍यो भने राम्रो फाइदा छन् । गुणस्तर कंक्रिट सडक निर्माण गर्‍यौँ भने सयौँ वर्षसम्म टिक्छ । 

  • हालसम्म नेपालमा कुन–कुन सडकमा कंक्रिट गरिएको छ र यसको प्रभाव कस्तो देखिएको छ ? 

नेपालमा हालसम्म पूर्ण रूपमा कंक्रिट (सिमेन्ट कंक्रिट) प्रयोग गरेर निर्माण गरिएका राष्ट्रिय स्तरका ठुला सडक परियोजनाहरू छैनन् । यद्यपि, केही स्थानहरूमा टुक्राटुक्रा रूपमा कंक्रिट सडक निर्माण गरिएको पाइन्छ । विशेषगरी जहाँ उकालो छ, पानी जम्ने समस्या छ, वा कालोपत्रे सडक बिग्रिएको हुन्छ । हेटौँडादेखि पथलैया जाने चुरे क्षेत्रमा गाडीहरू अड्किने समस्या समाधान गर्न कंक्रिट ढलान गरिएको छ । चोभार क्षेत्रमा पनि कंक्रिट सडक बनाइएको छ । पृथ्वी राजमार्ग, महेन्द्र राजमार्ग लगायतका सडकहरूमा केही स्थानमा टुक्रे ढलान गरिएको छ । नगरपालिकाहरूले आन्तरिक सडकहरूमा कंक्रिट प्रयोग गर्ने गरेको देखिन्छ, तर ठुला राष्ट्रिय परियोजनाहरूमा यसको व्यापक प्रयोग अझै देखिँदैन ।

  • छिमेकी राष्ट्र भारत र चीनमा कंक्रिट सडकको अभ्यास कस्तो छ ?

भारत र चीन दुवै देशमा कंक्रिट सडकको अभ्यास नेपालभन्दा निकै अघि बढेको छ । भारतमा सडक पूर्वाधारलाई प्राथमिकता दिँदै चार, छ, आठ लेनका कंक्रिट राष्ट्रिय राजमार्गहरू निर्माण भइरहेका छन् । नेशनल हाइवे अथोरिटी अफ इन्डियाले ठुलो पुँजीमा आधारित प्रोजेक्टहरू अगाडि बढाएको छ । दिल्ली–कानपुर सडकजस्ता मार्गहरूमा कंक्रिट पेभमेन्ट प्राविधि अपनाइएको छ । चीनमा पनि लगभग १०–२० वर्षअघि कंक्रिट सडकहरू व्यापक रूपमा निर्माण गरिएका थिए । तर पछि कंक्रिटको सतहमा कालोपत्रे तह थप्ने प्रवृत्ति बढेको छ, जसले गाडी गुड्दा आउने आवाज कम गर्न मद्दत गर्छ । बेसमा कंक्रिट र माथिल्लो तहमा कालोपत्रे हुने प्रविधि बढी देखिएको छ । विकसित राष्ट्रहरू जस्तै अमेरिका र युरोपमा पनि कंक्रिट सडकहरू प्रचलित छन् र यसमा अध्ययन तथा प्रयोगहरू व्यापक रूपमा भएका छन् ।

  • कंक्रिट सडकले दुर्घटनामा कस्तो असर पर्छ ? 

कंक्रिट सडकमा गाडी सलल गुड्छ, विशेषगरी रातको समयमा देखिने क्षमताले दुर्घटना घट्न सक्छ । कंक्रिट सतह टिकाउ हुने भएकाले दीर्घकालीन रूपमा लागत कम हुन्छ । तर गाडी गुड्दा ढ्याकढ्याक आवाज आउने गर्दा असहज हुने हुन्छ । दिउँसो घाममा कंक्रिट सतह चम्किने हुँदा आँखा तिरमिर पार्ने सम्भावना हुन्छ, यद्यपि यसको कारण दुर्घटना भएको कुनै ठोस तथ्यांक भने छैन ।

कंक्रिट सडक कडा हुने हुँदा टायर चाँडै पड्किने भनाइ छ, तर अध्ययनहरूले कालोपत्रे सडकमा पनि उस्तै समस्या देखाएका छन् ।

सिमेन्ट कंक्रिट रोडमा ८/१० वर्ष प्रयोग गरिसकेपछि सर्फेस चिल्लो भएर जान्छ र गाडी चिप्लिने डर हुन्छ । त्यसकारण हरेक ७/८ वर्ष पुगेपछि ‘टेक्सचरिङ’ (खस्रो बनाउने) गरिन्छ । यसका लागि टेक्सचरिङ मेसिन पाइन्छ । त्यसले जाँतो चिप्लो भएर पिँध्न छाडेपछि कुन्जोले कुँदेजसरी सडकलाई कुँदेर खस्रो बनाउनुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप