मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : राजावादी आन्दोलनमा धरपकडदेखि वाईसीएललाई प्रचण्डको निर्देशनसम्म

आइतबार, १८ जेठ २०८२, २२ : ००
आइतबार, १८ जेठ २०८२

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको १८ गते आइतबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. राजावादी आन्दोलनमा धरपकड

राजावादी समूहले गरेको आन्दोलनमा प्रहरीले आइतबार धरकपड गरेको छ।  राजधानीको नारायणचौर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई पक्राउ गरेको छ । यद्यपि राति नै थापा र राप्रपाका सांसद दीपक सिंह समेत रिहा भइसकेका छन् ।

 

२. प्रचण्डको आक्रोश

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले छाडा भएर माओवादीमाथि आक्रमण गर्ने कोसिस गरेको बताएका छन् ।

आइतबार वाईसीएलको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूले  कताकताबाट पैसा ल्याएर भाडाका मान्छे ल्याएर जाँड खुवाएर उफार्ने गरेको आरोप लगाए ।

‘अहिले राजावादीहरूले बडो कताकताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरूले थुपारेकै होलान्’, प्रचण्डले भने, ‘त्यही पैसाका बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने र उफार्ने गरेको देखिराखिएको छ ।’

प्रचण्डले उनीहरूको सभा र कार्यक्रममा जाइलाग्ने नभई उनीहरू आइलागे नछोड्न वाईसीएललाई निर्देशन दिए ।

 

३. गुमनाम रवीन्द्र र धवल

राजावादीको आन्दोलनमा संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित राजावादी नेताहरुको सक्रियता देखिन्छ । तर, आन्दोलन समितिको सदस्य सचिव रवीन्द्र मिश्र र आन्दोलन परिचालन समितिका संयोजक धवल शमशेर राणा कतै देखिँदैनन् ।

मिश्र राप्रपाका उपाध्यक्ष हुने भने राणा महामन्त्रीको हैसियतले जनआन्दोलन समितिमा महत्त्वपूर्ण भूमिकामा रहेका हुन् । तर, उनीहरू आन्दोलनमा गुमनाम हुन् ।

 

४. प्रशासनको एक्सन

काठमाडौँका सिफल, कोटेश्वर र बल्खु बाहेकको क्षेत्रमा विरोध र प्रदर्शन गर्न रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार एक सूचना जारी गर्दै सिफल, कोटेश्वर र बल्खु बाहेकको क्षेत्रमा विरोधका कार्यक्रमम गर्न निषेध गरेको हो ।

 

५. आन्दोलनमा यातायात व्यवसायी

यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले रातोपाटीलाई जानकारी दिए ।

६. सरुवा

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले रातोपाटीलाई जानकारी दिए ।

७. निजामति विधेयक

संघीय संसद् सचिवालयले  ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मंगलबारको प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ ।

जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो । सभा नचलेपछि पछि विधेयक पेस गर्ने कार्यसूची संघीय संसद् सचिवालयले परिवर्तन गरेको थियो ।

८. गृहमन्त्रीको राजीनामाको सवाल

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरोधको नीतिमा उत्रेका प्रतिपक्ष दलबिचमै मतभेद देखिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठनको माग गरिरहेका बेला माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी भने गृहमन्त्रीको कुरा सुनेपछि मात्र निर्णयमा पुग्नुपर्ने पक्षमा उभिएको छ ।

 

९. ठगी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन् ।

सल्यान घर भएका ६५ वर्षीय रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो ।

१०. नेपाल विद्युत प्राधिकरण

नदीको बहाब (रन अफ रिभर) मा आधारित परियोजनाले मात्रै ऊर्जा सुरक्षा प्रत्याभूति गर्न नसकेकाले जलाशययुक्त आयोजना निर्माण गर्नुपर्ने आवाज उठ्दै आएको छ ।  वर्षायामको पानीलाई सञ्चय गरेर हिउँदमा छाड्ने र यसबाट बिजुलीको माग व्यवस्थापन गर्नु नै जलाशययुक्त आयोजनाको मूल ध्येय हो ।

अहिले नेपालमा ३५०० मेगावाटभन्दा धेरै जडित क्षमताको बिजुली भए पनि सुक्खायाममा उत्पादन भने एक तिहाइभन्दा कम हुने गरेको छ ।  यही कारण अहिले पनि सुक्खायाममा औद्योगिक ग्राहकले लोडसेडिङ भोगिरहेका छन् ।

घरायसी ग्राहकसमेत मारमा पर्ने हो कि भन्ने डरमा छन् । त्यसकै कारण जलाशययुक्त आयोजना नै विकल्प हो भन्नेमा एकमतजस्तो हुन थालेको हो । तर, नेपाल विद्युत् प्राधिकरणको वर्तमान नेतृत्व भने अहिले जलाशययुक्त आयोजनाको सट्टा ‘पम्प स्टोरेज’ आयोजना बनाउनुपर्छ भन्ने पक्षमा छ ।

यो पनि...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप