बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न जिल्लाबाट लागूऔषधसहित १० जना पक्राउ

आइतबार, ०८ असार २०८२, १४ : ३६
आइतबार, ०८ असार २०८२

सारांश

  • रुपन्देही, नवलपरासी, झापा, बर्दिया र बाँकेबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन्।
  • रुपन्देहीमा डाइजेपाम, बुप्रेनोर्फिन र प्रोमेथाजाइनसहित २ जना पक्राउ परे भने नवलपरासीमा स्पास्मो ट्याब्लेटसहित २ जना पक्राउ परे।
  • झापा, बर्दिया र बाँकेमा ब्राउन सुगर तथा अन्य लागुऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । विभिन्न जिल्लाबाट अवैध लागू औषध सहित १० जना पक्राउ परेका छन् । रुपन्देही, नवलपरासी, झापा लगायतका जिल्लाबाट अवैध लागू औषधसहित १० जना पक्राउ परेका हुन् ।  

रुपन्देहीको सियारी गाउँपालिका–७ कनरीबाट लागू औषध डाईजेपाम ९० एम्पुल, बुप्रेनोर्फिन ९० एम्पुल र प्रोमेथाजाइन ९० एम्पुलसहित २ जना पक्राउ परेका छन् । शनिबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत धौलागिरि गाउँपालिका–३ बस्ने २४ वर्षीय युवराज पुन र पाल्पा तानसेन नगरपालिका–१४ बस्ने २१ वर्षीय विकास ज्ञवाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले बेथरीबाट बेलबासतर्फ जाँदै गरेको लु.६२ प. ११०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । त्यस्तै नवलपरासी पश्चिमको सुनवल नगरपालिका–९ स्वाठीबाट  लागू औषध स्पास्मो ४ सय ८० ट्याब्लेटसहित २ जना पक्राउ परेका छन् । उनीहरूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ खैरहनी बस्ने ३३ वर्षीय लोकनाथ खवास र उनकी श्रीमती ३२ वर्षीया रिमा गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले परासीबाट सुनवलतर्फ जाँदै गरेको लु.४ प २८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।

उता झापाको भद्रपुर नगरपालिका–५ भन्सार चोकबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४७ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका– २६ बस्ने २४ वर्षीय निवेश

कुँवर र लमजुङ क्व्होलासोथार गाउँपालिका–७ बस्ने २२ वर्षीया नोजिना रानामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ७७९३ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका–७ बस्ने २० वर्षीय गंगा सागर थारू र सोही गाउँपालिका–५ बस्ने २६ वर्षीय दीपेन्द्रकुमार थारू रहेका छन् । 

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम, नियन्त्रित लागू औषध ट्रामाडोल ९८ ट्याब्लेट र नाईट्राजेपाम ३० ट्याब्लेटसहित दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने १९ वर्षीय राजु पुनमगर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप