स्थानीयले दिएको जग्गा र श्रमदानबाट बनेको विद्यालय भवनको छाना दुई वर्षदेखि ह्वाङ्ग
सारांश
- दार्चुलाको भैरवनाथ आधारभूत विद्यालयका ३५ बालबालिका हावाहुरीले छाना उडाएपछि खुला आकाशमुनि पढ्न बाध्य छन्।
- विद्यालय भवन मर्मतका लागि पहल नहुँदा विद्यार्थीहरू समस्यामा, स्थानीय सरकारले बजेटको अभाव देखाउँदै आगामी वर्ष मर्मत गर्ने प्रतिबद्धता जनाएको छ।
- विद्यालय स्थापनाको १४ वर्षपछि भवन जीर्ण बनेको र शिक्षक दरबन्दी कम हुँदा पठनपाठनमा समस्या, स्थानीयको गुनासो छ।
धनगढी । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ‘भैरवनाथ आधारभूत विद्यालय’मा अध्ययनरत ३५ जना बालबालिका खुला आकाशमुनि आफ्नो भविष्य खोज्न विवश छन् ।
शैल्यशिखर नगरपालिका–७, दोबाटामा रहेको उक्त विद्यालयको छाना दुई वर्षअघि आएको हावाहुरीले उडाएको थियो । त्यसयता विद्यालय भवनसमेत जीर्ण भइसकेको छ । यद्यपि मर्मतका लागि कसैले पहल नगर्दा कलिला विद्यार्थी खुला आकाश मुनि बसेर पढ्न बाध्य भएका हुन् ।
विद्यालय भवनको आधा छाना हुरीले उडाएको छ भने बाँकी रहेको जस्तापाता पनि खियाले खाएर जीर्ण भइसकेको छ । कक्षाकोठाभित्र घाम, पानी, सोझै पस्छ । झ्यालढोकामा पल्ला छैनन् भने पर्खालका ढुङ्गा कमजोर भएर झर्न थालेका छन् ।
यो विद्यालय स्थापना गर्न स्थानीय ६३ वर्षीय गोवी मिश्रले १४ वर्षअघि आफ्नो जीवनको भोगाइ र पछुतोलाई ऊर्जामा बदलेका थिए । ‘दिनदिनै चार घण्टा हिँडेर स्कुल जानुपर्थ्यो । त्यो दुःख सहन नसकेर मैले पढाइ छाडेँ । नपढेका कारण जिन्दगीमा धेरै दुःख भोग्नुपर्यो । एउटा चिठी र निवेदन लेख्न पनि अरूको सहारा लिनुपर्यो,’ मिश्रले भने ।
आफूले भोगेको निरक्षरताको पीडा आफ्नो गाउँका नयाँ पुस्ताले भोग्नु नपरोस् भन्ने अठोटका साथ उनले गाउँमा विद्यालय खोल्ने अभियान थाले ।
_80AWUH1bWz.jpg)
२०६८ सालमा मिश्रको पहलमा स्थानीयहरू एकजुट भए । उनले आफ्नो एक रोपनी जमिन स्कुलका लागि दान दिए । गाउँलेले श्रमदान गरे । सबैको पसिनाले दुई कोठे कच्ची टहरो बन्यो र स्थानीय देवताको नामबाट ‘भैरवनाथ आधारभूत विद्यालय’ को जन्म भयो ।
त्यो वेलाको उत्साह सम्झँदै मिश्रले भने, ‘गाउँलेले एक रुपैयाँ चन्दा उठाएनन्, सबैले मिलेर काम गरे । त्यही देखेर तत्कालीन गाविसले १६ हजार रुपैयाँ दिएको थियो ।’
समय बित्दै गयो । विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्यो । कक्षा ३ सम्म पढाइ हुन थाल्यो । १४ वर्षअघि बनेको त्यो सपनाको संरचना अहिले भने जीर्ण भइसकेको छ । कक्षाकोठामा भएका १० जोर पुराना डेस्कबेन्चका खुट्टा भाँचिएका छन् । त्यसैले बालबालिकाहरू चिसो भुईँमा कार्पेट वा चटाई बिछ्याएर पढ्न बाध्य छन् ।
यो विद्यालयमा शैल्यशिखरमात्र नभई छिमेकी मालिकार्जुन र लेकम गाउँपालिकाका बालबालिकासमेत पढ्न आउँछन्, तर यहाँ दरबन्दी भने बालविकास शिक्षकको एउटामात्र छ ।
छाना उडाएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मिश्रले त्रिपालले छोप्ने प्रयास गरे, तर त्यसलाई पनि हावाले उडाइदियो । त्यसयता उनले वडा कार्यालय, नगरपालिका र आफ्नो क्षेत्रका सांसदसम्म हारगुहार नगरेका होइनन् । विद्यालय भवनको छाना हाल्न कतैबाट सहयोग प्राप्त भएको छैन ।
‘दुई वर्ष भइसक्यो, सबैलाई विद्यालयको अवस्था थाहा छ, तर कतैबाट सुनुवाइ भएन,’ मिश्रले भने, ‘एउटा सामान्य छाना हाल्न पनि राज्यले सक्दैन भने दुर्गमका बालबालिकाले कसरी पढ्ने ?’
यो विद्यालयमा शैल्यशिखरमात्र नभई छिमेकी मालिकार्जुन र लेकम गाउँपालिकाका बालबालिकासमेत पढ्न आउँछन्, तर यहाँ दरबन्दी भने बालविकास शिक्षकको एउटामात्र छ । अन्य दुई जना शिक्षकलाई नगरपालिकाले मासिक आठ हजार रुपैयाँ तलब दिएर राखेको छ, जुन पारिश्रमिक आजको महँगीमा अपर्याप्त छ ।
_b10idz2evW.jpg)
विद्यालयको यो दुर्दशाबारे शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्पराज जोशी अनभिज्ञ छैनन् । उनले भने, ‘हामीलाई विद्यालयको अवस्थाबारे पूर्ण जानकारी छ । भवन मर्मतका लागि हामीले पहल गरिरहेका छौँ । फर्निचर बनाउने काम पनि अघि बढेको छ ।’
वडा अध्यक्ष जोशीले सङ्घ र प्रदेश सरकारसँग बजेट मागेको तर प्राप्त नभएको बताए । पूर्ववर्ती जनप्रतिनिधिहरूको उदासीनताले विद्यालय जीर्ण बनेको आरोप लगाउँदै उनले थपे, ‘कतैबाट बजेट नआए पनि आगामी आर्थिक वर्षमा नगरपालिकाले नै बजेट छुट्ट्याएर भवन मर्मत गर्नेछ । हामी यो विद्यालयलाई जोगाउँछौँ ।’
स्थानीयका अनुसार वडा अध्यक्ष जोशीले यस्तो भन्न थालेको दुई वर्ष भयो, तर मर्मतको काम सुरु हुन सकेको छैन । हरेक दिन असुरक्षित महसुस गर्दै पढिरहेका विद्यार्थी र उनीहरूका अभिभावकका लागि यो पर्खाइ निकै लामो र पीडादायी भइसकेको छ ।
गोवी मिश्रले रोपेको शिक्षाको यो बिरुवा आज मलजल र संरक्षणको अभावमा मर्न लागेको छ । उनले भने, ‘हामीले त दुःख गरेर शिक्षाको एउटा बोट सार्यौँ । यसलाई हुर्काउने र फल फलाउने जिम्मा त सरकारको हो नि ! गाउँका बालबालिकाले नजिकै सुरक्षित भएर पढ्न पाउनुपर्यो ।’
भैरवनाथ आधारभूत विद्यालयको यो दृश्य शिक्षाको वर्तमान अवस्था झल्काउने तितो यथार्थ रहेको स्थानीय महेन्द्र महराले बताए । ‘यो भवनको मर्मत गर्न कति नै ठुलो बजेट चाहिन्थ्यो र ! तर दुई/दुई वर्षसम्म यस्तो अवस्था हुँदा पनि काम पूरा भएन,’ उनले भने, ‘शिक्षा हरेक बालबालिकाको मौलिक अधिकार हो, तर ग्रामीण विकट दूरदराजका बालबालिकाले भने विद्यालयको यस्तो अवस्था हुँदा शिक्षा आर्जनमा धेरै समस्या भोग्नुपरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण