शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

क्रिकेट खेल्ने हुटहुटीले आफ्नै घरका झ्याल फुटाउने प्रसिद्धले जब नेपालका लागि प्रहार गरे शतक

आइतबार, १५ असार २०८२, १२ : ३२
आइतबार, १५ असार २०८२

सारांश

  • कैलालीका प्रसिद्ध जैसीले मलेसियामा भएको खेलमा इन्डोनेसियाविरुद्ध १३२ रनको शानदार शतकीय पारी खेले।
  • प्रसिद्धको ब्याटिङ हेर्न परिवारका सदस्यहरू घरमा भेला भएर उत्सव मनाए, उनको प्रदर्शनले नेपाललाई ठूलो योगफलतर्फ डोर्यायो।
  • प्रसिद्धले क्रिकेटका लागि गरेको संघर्ष र उनको परिवारको त्यागको कथा, साथै उनको भाइ पनि क्रिकेट खेल्न थाले।

धनगढी । कैलालीको भजनीमा आइतबार बिहान एउटा सानो घरमा ल्यापटप अगाडि आफन्तहरू भेला भएका थिए । प्लास्टिकको कुर्सीमा राखिएको ल्यापटपमा क्रिकेटको लाइभ चलेको थियो ।

त्यही परिवारका कलिला सदस्य प्रसिद्ध जैशी मलेसियाको क्वालालम्पुरस्थित मैदानमा नेपालका तर्फबाट ब्याटिङ गरिरहेका थिए । एसीसी यु–१६ इस्ट जोन कप अन्तर्गत इन्डोनेसियाविरुद्धको खेलमा प्रसिद्ध जैसी जब ब्याटिङ गर्न उत्रिए, पितृ श्राद्धको काम सकेर परिवारका सदस्यहरू ध्यान दिएर ल्यापटपको स्क्रिनमा हेर्न थाले ।

प्रसिद्धले प्रहार गरेको हरेक चौका र छक्काले त्यो घरमा उत्सवको माहोल बन्थ्यो । प्रसिद्ध आउट होलान् कि भन्ने डरले एकसाथ सन्नाटा पनि छाउँथ्यो ।

प्रसिद्धले ११४ बलमा १३२ रनको सानदार शतकीय पारी खेले । उनको यो प्रदर्शनले नेपाललाई विशाल योगफलतर्फ डोर्‍यायो । यो स्कोरबोर्डमा देखिएको अंकमात्र थिएन, प्रसिद्धले देखेको सपना र उनको परिवारले गरेको अथाह त्याग, कैयौँ रात अनिदो बसेर गरेको प्रार्थनाको प्रतिफल पनि थियो ।

नेपाली क्रिकेटको आकाशमा नयाँ ताराका रूपमा उदाउँदै गरेका प्रसिद्ध जैसीको खेल यात्राका कथा उनैका बाबु कविराज जैसी र आमा विमला जैसीको शब्दमा अझ जीवन्त सुनिन्छ ।

‘हामी त निम्नस्तरको मान्छे, छोराछोरीले पढेर जीवनमा केही गर्छन् भन्ने सपना थियो,’ छोराको खेल हेर्दै गरेका कविराज जैसीले भने, ‘तर बाबुको क्रिकेटप्रतिको लगाव देखेर हामी पनि उसको सपनाको अगाडि पग्लियौँ ।’

कैलालीको भजनी नगरपालिका–३, पररियामा जन्मेका प्रसिद्धको क्रिकेटप्रतिको मोह सानैदेखि अनौठो थियो । घरका दाउराका टुक्रा उनको ब्याट बन्थे, पुराना मोजा र च्यातिएका कपडाका डल्ला उनको बल ।

2

घरको आँगन र छिमेकको चौर उनको खेल मैदान थियो । उनको ब्याटबाट निस्किएका बलले कैयौँ पटक घरका झ्यालका सिसा फुटे ।

‘मैले तीन–चार वर्षको अवधिमा चार–पाँच पटक त घरको जाली र सिसा फेरेको छु,’ कविराज हाँस्दै सुनाउँछन्, ‘उसको क्रिकेटप्रतिको भोक देखेर कहिलेकाहीँ अचम्म लाग्थ्यो ।’

शिक्षकका रूपमा कार्यरत कविराजलाई छोराले पढाइमा ध्यान देओस् भन्ने थियो, तर प्रसिद्धको एउटै जिद्दी थियो– क्रिकेट ।

कक्षा ६ मा पढ्दै गर्दा उनी काठमाडौँ हानिए । काठमाडौँको बसाइ एक सामान्य शिक्षक परिवारका लागि सहज थिएन । दुई छोरा र दुई छोरी गरी चार सन्तानलाई काठमाडौँमा राखेर पढाउनु कविराज र उनकी श्रीमती विमलाका लागि ठुलो आर्थिक चुनौती थियो ।

‘उसले मसँग बाचा गर्‍यो– बाबा ! म पढाइ र क्रिकेट दुवै सँगसँगै लान्छु । मलाई काठमाडौँ लगिदिनुस्,’ कविराज त्यो क्षण सम्झिन्छन्, ‘यदि पढ्न छोड्छु भन्छस् भने म लैजान्नँ, तर दुवैलाई सँगै लैजान्छस् भने म तेरो सपना पूरा गर्न तयार छु भनेर उसलाई काठमाडौँ पुर्‍याएको थिएँ ।’

त्यही एउटा बाचाले प्रसिद्धलाई कैलालीको टीकापुरबाट देशको राजधानीसम्म पुर्‍यायो । कक्षा ६ मा पढ्दै गर्दा उनी काठमाडौँ हानिए । काठमाडौँको बसाइ एक सामान्य शिक्षक परिवारका लागि सहज थिएन । दुई छोरा र दुई छोरी गरी चार सन्तानलाई काठमाडौँमा राखेर पढाउनु कविराज र उनकी श्रीमती विमलाका लागि ठुलो आर्थिक चुनौती थियो ।

‘हामी दुवै जना शिक्षक हौँ । सञ्चय कोष काटेर आउने ५०–६० हजार तलबले चार जना बच्चालाई काठमाडौँमा पढाउन र बाबुको क्रिकेटको खर्च धान्न निकै गाह्रो थियो,’ कविराज आफ्नो संघर्ष सुनाए, ‘एउटै ब्याटको ३०–४० हजार रुपैयाँ पर्छ । हामीले आफ्ना कैयौँ रहर र आवश्यकता मारेर छोराछोरीको भविष्यका लागि लगानी गरिरहेका थियौँ ।’

सुरुमा कान्तिपथ संस्कृति विद्यालयमा भर्ना भएका प्रसिद्धले ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन थाले । उनको प्रतिभाको चमक लुक्न सकेन । चाँडै नै उनले डीएभी स्कुलबाट क्रिकेटकै आधारमा छात्रवृत्ति पाए । त्यसपछि क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) मा पनि होस्टेलसहितको छात्रवृत्ति पाएपछि परिवारलाई केही राहत मिल्यो ।

तीन वर्षदेखि काठमाडौँमा रहेर उनले आफ्नो खेललाई तिखार्दै लगे । गत वर्ष प्रधानमन्त्री कपमा उमेरका कारण राष्ट्रिय टोलीमा पर्न नसके पनि उनले ललितपुरमा भएको खेलमा ५७ रन बनाएर आफ्नो क्षमता देखाइसकेका थिए ।

3

खेलका कारण प्रसिद्धले वैशाखदेखि स्कुल जान पाएका थिएनन् । छोराको पढाइ बिग्रिने हो कि भन्ने चिन्ताले कविराजले डीएभी स्कुलमा फोन गरे, तर स्कुलका शिक्षकहरूले दिएको जबाफले उनको मन ढुक्क भयो ।

‘उहाँहरूले चिन्ता नगर्नुस्, प्रसिद्ध त्यति कमजोर छैन । उसले पढाइलाई पनि व्यवस्थापन गर्न सक्छ । अहिले उसलाई खेल्न दिनुस् । उसको खेल राम्रो छ भन्नुभयो,’ कविराजले भने, ‘शिक्षकहरूको त्यो हौसलाले मलाई ठुलो आत्मबल दियो ।’

प्रसिद्धको पढाइप्रतिको लगन पनि खेलप्रतिको जस्तै छ । अहिले उनी डीएभीमा कक्षा १० मा पढ्छन् र कक्षामा पनि राम्रो विद्यार्थीमा गनिन्छन् ।

‘आफ्नो बच्चाले थोरै राम्रो गर्दा पनि आमालाई संसार जितेजस्तो लाग्छ । उसले त यति राम्रो गरिरहेको छ, म धेरै खुसी छु,’ आमा विमला जैसीले भनिन् ।

सुरुमा क्रिकेटबारे केही थाहा नभएकी विमला अहिले छोराको खेल सुरुदेखि अन्त्यसम्म हेर्छिन् । छोराको आत्मविश्वास एकदमै उच्च रहेकाले क्रिकेटमा टिकेर खेल्छ भन्ने उनलाई लाग्छ । ‘हामीले चोट लाग्ला भनेर चिन्ता गर्दा ऊ नआत्तिनु मम्मी, म राम्रो खेल्छु भन्छ,’ उनले सुनाइन् ।

प्रसिद्धको सफलताको प्रेरणाले घरमा अर्काे क्रिकेटर पनि तयार हुँदैछ– उनका कान्छा भाइ प्रसन्न जैसी । प्रसन्न पनि दाजुको पदचाप पछ्याउँदै क्रिकेटमा लागेका छन् । उनी पनि सीईसीमा प्रशिक्षण लिन्छन् र काठमाडौँको न्युटन विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् ।

विमला आफ्नो पहुँचले छोरालाई यो उचाइसम्म पुर्‍याउन असम्भव रहेको बताउँछिन् । उनी डीएभी, सीईसी र टीकापुरका ती सबै सहयोगी मनहरूलाई धन्यवाद दिन्छिन्, जसले प्रसिद्धको प्रतिभालाई चिनेर अगाडि बढ्न मद्दत गरे ।

‘आज क्रिकेटले गर्दा मेरो छोरालाई देशले चिनेको छ । योभन्दा ठुलो गौरवको कुरा के हुन्छ र ?’ उनले भनिन् ।

प्रसिद्धको सफलताको प्रेरणाले घरमा अर्काे क्रिकेटर पनि तयार हुँदैछ– उनका कान्छा भाइ प्रसन्न जैसी । प्रसन्न पनि दाजुको पदचाप पछ्याउँदै क्रिकेटमा लागेका छन् । उनी पनि सीईसीमा प्रशिक्षण लिन्छन् र काठमाडौँको न्युटन विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् ।

प्रसिद्धको खेल अब जैसी परिवारको मात्र चिन्ता र खुसीको विषय रहेन । उनी जब मैदानमा उत्रिन्छन्, सिङ्गो देशको आशा उनको काँधमा हुन्छ ।

1

‘पहिले यो हाम्रोमात्र सपना थियो, अब यो समग्र नेपालको भएको छ,’ बुबा कविराजले भने, ‘उसले राम्रो खेलोस् र नेपालले जितोस् भन्ने कामना हुन्छ ।’

मलेसियामा जारी प्रतियोगितामा प्रसिद्धले पहिलो खेलमा सिंगापुरविरुद्ध ९७ बलमा ५५ रन बनाउँदै अविजित रहे । दोस्रो खेलमा जापानविरुद्ध ३७ बलमा ३३ रन बनाउँदै अविजित रहेर उत्कृष्ट प्रदर्शन गरेका थिए । तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध शतक बनाएर उनले आफ्नो क्षमताको पुष्टि गरेका छन् ।


कैलालीको भजनीस्थित घरमा ६८ वर्षीय हजुरआमादेखि परिवारका सबै सदस्य अहिले एकटक स्क्रिनमा प्रसिद्धको खेल हेर्ने गर्दछन् । उनीहरूको घरको माहोल ‘क्रिकेटमय’ भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप