भारतीय मन्दिरमा भागदौड हुँदा तीन जनाको मृत्यु
सारांश
- उडिसामा एक चाडपर्वको अवसरमा भएको भागदौडमा कम्तीमा तीन जनाको मृत्यु भएको छ, जसमा कैयौं घाइते भएका छन्।
- पुरी शहरको गुन्डिचा मन्दिर नजिकै हजारौं भक्तजनको भीड बढेपछि भागदौड मच्चिएको थियो।
- मुख्यमन्त्री मोहनचरण माझीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै सुरक्षामा भएको कमीकमजोरीको छानबिन गर्न निर्देशन दिएका छन्।
भुवनेश्वर । भारतको तटीय राज्य उडिसामा आइतबार एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।
हिन्दू धर्मावलम्बीको रथ महोत्सवका अवसरमा पुरी शहरको गुन्डिचा मन्दिर नजिकै हजारौं भक्तजनको भीड लागेको थियो । जिल्ला प्रशासनका अधिकारी सिद्धार्थ स्वैनले भने, ‘मन्दिरमा एक्कासी भीड बढ्दा आवागमनमा समस्या भएको र पेलापेल र भागदौडपछि नौ जना भक्तजनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । तीन जनाको मृत्यु भएको छ भने अन्यको अवस्था स्थिर छ ।’
स्थानीय सञ्चारमाध्यमका अनुसार महोत्सवमा जाने अन्य थुप्रै व्यक्ति घाइते भएका बताएका छन् भने यसबारे सरकारी अधिकारीहरूले तत्काल पुष्टि गर्न सकेका छैनन् । उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले भक्तजनको अत्यधिक भीडका कारण यो दुःखद घटना भएको बताएका छन् ।
माझीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्– ‘ज्यान गुमाउनेका परिवारप्रति म समवेदना प्रकट गर्दछु।’ ‘यो लापरबाही अक्षम्य छ । सुरक्षामा भएका कमीकमजोरीको तत्काल छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएको छु।’ भारतीय धार्मिक चाडहरूमा घातक भागदौड र भीड हुनुलाई एक सामान्य घटना मानिन्छ ।
गत मे महिनामा गोवा राज्यमा आगोमाथि हिड्ने लोकप्रिय अनुष्ठानका लागि हजारौँ मानिस भेला भएका समय भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो। जनवरीमा उत्तरी शहर प्रयागराजमा हिन्दूहरूको महान् चाड कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण