शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचारः २५ लाख धरौटीमा छुटे मोहन बस्नेत, नेपाली टोलीको शानदार जित

सोमबार, १६ असार २०८२, ०० : ००
सोमबार, १६ असार २०८२

दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

१. नेपाली टोलीको शानदार जित

एसीसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा आइतबार नेपाली टोलीले इन्डोनेसियाविरुद्ध शानदार जित हासिल गरेको छ । इन्डोनेसियालाई ४२१ रनको लक्ष्य दिएको नेपालले ३७० रनको जित हात पारेको हो । 

त्यस्तै, एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले ९–० गोलको जित निकालेको छ । आइतबार भएको खेलमा सावित्रा एक्लैले चार गोल गर्दा नेपालले सहज जित निकालेको हो ।

२. पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । भ्रष्टाचार मुद्दामा आइतबार थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

३. रामकुमारीको दुई रूप

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीका अध्यक्ष माधवकुमार नेपालको विकल्प खोज्नुपर्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेपछि धेरैले चार वर्ष अघिको परिदृश्य सम्झिएका छन् । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि उनै रामकुमारीले माधवकुमार नेपाललाई हात समातेर निर्वाचन आयोगमा लगेकी थिइन् ।

४.राष्ट्रिय धान दिवस मनाइयो

असार १५ अर्थात् राष्ट्रिय धान दिवस देशभर मनाइएको छ । दिवसका अवसरमा सरकारीस्तरमै धान रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो । 

५. धरान विवाद

धरान उपमहानगरपालिकामा प्रमुख हर्कराज राई र उपप्रमुख तथा वडाध्यक्षहरूबिचको विवादका कारण आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अझै अनिश्चित बनेको छ । असार १० गतेभित्र नगर सभामा बजेट पेस गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि आन्तरिक कलहले गर्दा समयसीमा नाघिसकेको छ ।

६. भिजिट भिसा प्रकरणमा डीपी अर्याल र रामहरि खतिवडाबिच संसदमै नोकझोक

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबिच नोकझोक चलेको छ । आइतबारको बैठकमा उनीहरुबिच भिजिट भिसा प्रकरणलाई लिएर नोकझोक चलेको हो ।

७. वर्षाका कारण विभिन्न नदीमा जल सतह बढ्यो

आइतबार देशका विभिन्न भागमा वर्षाका कारण नदीहरूमा जल सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्कताका लागि सूचनासमेत जारी गरेको छ । खासगरी पश्चिमी भूभागमा आइतबार अत्यधिक वर्षा भएको छ ।

पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनरागमन गरेसँगै नेकपा एमालेमा मात्र नभएर अन्य दलमा समेत चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा पुनरागमन गरेको विषयलाई लिएर पक्ष र विपक्षमा चर्चा भइरहेको छ । उनको यो कदमले निम्त्याउने चुनौतीबारे पनि विश्लेषण हुन थालेको छ । 

९. एक वर्षभन्दा पुराना गाडीको आयात रोक्ने तयारी

सरकारले एक वर्षभन्दा पहिले उत्पादन भएका सवारीसाधन आयातमा रोक लगाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले ‘सवारीसाधन आयात, उत्पादन र जडान सम्बन्धी निर्देशिका, २०८२’ को मस्यौदा बनाउँदै आयातकर्ता अटो बिक्रेतालाई सवारी आयातमा कडाइ गर्न लागेको हो ।   

१०. वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षणमा पनि विकृति

वैदेशिक रोजगारीमा जानेहरू ठगिएका घटना सामान्यजस्तै भइसके । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षणमा समेत यस्तै अनियमितता हुने गरेको पाइएको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

११. कांग्रेस बैठकमा सरकारका कामको समीक्षा हुने

सत्ता साझेदार दल नेपाली कांग्रेसको सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सरकारका कामबारे समीक्षा हुने भएको छ । केन्द्रीय कार्यसमितिमा केन्द्र सरकारमा रहेका मन्त्रीहरूका साथै प्रदेश सरकारमा सहभागी भएकाहरूले सरकारका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

१२. आयल निगमको सिनामंगलस्थित डिपो सार्ने प्रक्रिया कहाँ अड्कियो ?

नेपाल आयल निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का कारण सिनामंगलस्थित डिपो सार्ने काममा ढिलाइ भइरहेको आरोप लगाएको छ । 
आइतबार पत्रकार सम्मेलन गर्दै निगमको हवाई डिपो कार्यालय सिनामंगलका प्रमुख ई. प्रदीप यादवले डिपो सार्ने विषयमा निगम तयारी अवस्थामा भए पनि स्थानान्तरण गर्नुपर्ने ठाउँमा प्राधिकरणले गरिदिनुपर्ने काम समयमा नगरिदिएको बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप