हतियार खरिदको ठेक्का तत्काल खारेज गर्न ज्वालाको माग
सारांश
- प्रकाश ज्वालाले प्रहरीलाई हतियार खरिद गर्न ब्युँताइएको ठेक्का खारेज गर्न माग गरेका छन्।
- उनले हतियार खरिद कमिसनका लागि भएको भन्दै कर्णाली र बाढी प्रभावितका लागि काम गर्नुपर्ने बताए।
- ज्वालाले प्रहरीको आधारभूत आवश्यकताको अभाव र हतियार खरिदको लागि छुट्याइएको बजेटको विरोध गरे।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले प्रहरीलाई हतियार खरिद गर्न ब्युँताइएको ठेक्का तत्काल खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका ज्वालाले हतियार खरिदको ठेक्का कुनै हालतमा पनि अघि बढ्न नहुने भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले हतियार खरिद कमिसनका लागि भएको भन्दै त्यसको साटो कर्णाली र बाढी पहिरो प्रभावितका लागि काम गर्नुपर्ने बताए ।
‘हतियार किन्नकै लागि यस पटक १ अर्ब ९ करोड बजेट छुट्ट्याइएको छ । माग गरिएका दमकल, गोताखोर सामाग्री, मोटर बोट, विपतमा चाहिने आपतकालीन उद्धार सामाग्री होइन, सरकार घातक हतियार र उपकरण किन्न उद्यत छ’, ज्वालाले भने– ‘अर्कोतिर सशस्त्रका लागि ३ वर्ष अघि एलसी खोलिएको ५० करोडबाट नै पहिलेकै प्रक्रिया अघि बढाएर हतियार किन्न लागिएको छ, जुन गैरकानुनी छ । ’
१९ साउन २०७९ मा मन्त्री परिषदबाट हतियार खरिद कार्य स्थगित गरिएको भन्दै उनले अहिले फेरि सार्वजनिक खरिद नियमावली संशोधन गरेर बदर भएको सम्झौता ब्युँताएर म्याद थपिएको बताए ।
‘यहीँ ठेक्काको बारेमा खरिदमा कमिसन खान लागेको भनेर त्यतिबेला अहिलेका प्रधानमन्त्रीले विरोध गर्नुभएको, उहाँका कार्यकर्ताले सडकमा चर्का नारा लगाएको कुरा स्मरण गरियोस्’, ज्वालाले भने, ‘के आफैँले विरोध गरेको योजना अहिले फेरि कमिसनको चक्करमा पुनः अघि बढाउन थालिएको हो ?’
जनताको सेवामा खटिएका प्रहरीहरू आधारभूत आवश्यकताको अभावमा तडपिइरहेको पनि ज्वालाको भनाइ छ । ‘उनीहरू बर्खामा चुहुने, गर्मीमा पोल्ने, हिउँदमा चिसोले कठाङ्ग्रिने छाप्रोमा बस्न बाध्य छन् । उनीहरूका लागि शौचालय समेत छैन । यतिबेला प्रहरीका लागि ८०२ वटा कार्यालयमा शौचालय छैनन् । ४२१ कार्यालय भवन छैनन् । उनीहरुको लागि ज्यादै न्यून क्वालिटीका पोसाक दिइन्छ’, ज्वालाले फेहरिस्त प्रस्तुत गरे । उनले हतियार खरिदका विषयमा गृह मन्त्रीले संसदमा आएर तत्काल जवाफ दिनुपर्ने र सभामुखसँग रुलिङको अपेक्षा गरे ।
‘प्रहरीको हतियार खरिद गर्नका लागि ब्युँताइएको ठेक्का तत्काल खारेज गरियोस् र यो ठेक्का कुनै हालतमा पनि अघि नबढाइयोस् भनेर सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु’, ज्वालाले भने, ‘हाम्रो देशको लागि यतिबेला हतियारको जरुरत छैन बरु कर्णाली जस्ता दुर्गम गाउँ बस्तीहरुमा महामारीबाट जनताको जीवन जोगाउनु पर्नेछ, बाढी पहिरोजस्ता प्रकोपबाट जनताको जीवन रक्षा गर्नु जरुरी छ ।’
उनले हतियार खरिदका लागि विनियोजित बजेट संशोधन गरेर दुर्गम जिल्लाका जनताका लागि अस्पताल र औषधिको व्यवस्था गर्नुपर्ने भन्दै सो रकमबाट प्रहरीका लागि शौचालय र बस्ने ब्यारेक निर्माण, गुणस्तरीय पोसाक तथा विपद् उद्धार सामाग्री खरिदमा खर्च गर्न सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण