विस्तार हुँदै नेपाल–भारत क्रिकेट सहकार्य
सारांश
- भारत र नेपालबीचको सम्बन्ध क्रिकेटमा पनि बलियो बन्दै गएको छ, जसले खेलाडीको सीप विकासमा योगदान पुर्याएको छ।
- भारतले नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण, अभ्यास प्रतियोगिता र व्यावसायिक सीप विकासका अवसरहरू प्रदान गरिरहेको छ।
- २०१३ देखि भारतले नेपाललाई क्रिकेटमा सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । भारत र नेपालको सम्बन्ध केवल कूटनीतिक र सांस्कृतिक आदानप्रदानमा सीमित छैन, यसले खेलकुद विशेष गरी क्रिकेटमा पनि बलियो उपस्थिति बनाएको छ। पछिल्ला दुई दशकमा भारतको सहकार्यले नेपाली क्रिकेटको संरचना, खेलाडीको सीप विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
नेपालमा क्रिकेटलाई लोकप्रिय र प्रतिस्पर्धात्मक बनाउन भारतले विभिन्न पहलहरू गर्दै आएको छ। भारत सरकार र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विगत केही वर्षयता नेपाल क्रिकेट संघ (क्यान) सँग मिलेर ठोस सहयोगका कार्यक्रम सञ्चालन गरेका छन्।
सन् २०२४ जनवरीमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली र क्यानका प्रतिनिधिहरूसँग भेट गर्दै नेपालमा क्रिकेटको विकासका लागि भारत सरकार प्रतिबद्ध रहेको बताएका थिए। यसै प्रतिबद्धताको सिलसिलामा भारतले नेपाली टोलीका लागि प्रशिक्षण, अभ्यास प्रतियोगिता र व्यावसायिक सीप विकासका थुप्रै अवसर प्रदान गर्दै आएको छ।
- अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा सहयोग
हाल भारत सरकारको सहयोगमा बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्सले २०२५ जुलाई २१ देखि अगस्ट ३ सम्म नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि विशेष प्रशिक्षण शिविर आयोजना गरिरहेको छ। यो शिविर ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि महत्त्वपूर्ण हुनेछ।

यसअघि पनि भारतले सन् २०२४ अगस्टमा नेपाली पुरुष टोलीलाई बेंगलुरुमा प्रशिक्षण सुविधा उपलब्ध गराएको थियो। त्यस्तै, सन् २०२४ अप्रिलमा नेपाली टोलीले बरोडा र गुजरात क्रिकेट संघका टोलीहरूसँग त्रिकोणात्मक अभ्यास प्रतियोगितामा भाग लिएको थियो, जसले सन् २०२४ जुनमा सम्पन्न आईसीसी टी–२० विश्वकपका लागि तयारीमा महत्त्वपूर्ण योगदान पुर्यायो।

- युवा र महिला क्रिकेटमा सहयोग
केवल पुरुष क्रिकेट मात्र होइन, भारतले युवा र महिला क्रिकेट विकासमा पनि ठोस कदम चालिरहेको छ।
सन् २०२५ मार्चमा भारतले नेपालको तयारीलाई सहयोग गर्दै नेपाल र दिल्लीका यू–१९ टोलीहरू बिच अभ्यास प्रतियोगिता आयोजना गर्यो । साथै, सन् २०२५ जुलाईमा काठमाडौँस्थित भारतीय राजदूतावासले तीन जना आशालाग्दा नेपाली यू–१९ क्रिकेटरहरुलाई भोपालमा एक महिनाको व्यावसायिक प्रशिक्षण कार्यक्रमका लागि पठाएको छ। यसमा नरेन भट्ट, साहिल पटेल र पूजा महतो समावेश छन् ।

सन् २०२५ अप्रिल–मेमा नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले पनि दिल्लीमा प्रशिक्षण शिविरमा भाग लिएको थियो । यस प्रशिक्षणले थाइल्याण्डमा सम्पन्न आईसीसी महिला विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। यस सहयोगकै परिणामस्वरूप नेपाली टोली उक्त छनोट प्रतियोगिताको फाइनलसम्म पुग्न सफल भयो।
भारतले नेपालमा क्रिकेटमा सहयोगको सुरुवात सन् २०१३ देखि नै गरेको थियो । सन् २०१३ मा क्यानलाई बस प्रदान गर्नु होस् वा सन् २०२३ अक्टोबरमा एसजेभीएन लिमिटेड र वी.पी. कोइराला भारत–नेपाल फाउन्डेसनमार्फत व्यावसायिक खेलकुद उपकरण उपलब्ध गराउनु होस्, यी सबै कदमहरूले नेपाली क्रिकेटमा आवश्यक भौतिक पूर्वाधार अभिवृद्धि गरेका छन्।
- सीमित स्रोत–साधनबिच नेपालको महत्त्वपूर्ण उपलब्धि
नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्राको इतिहास धेरै लामो छैन । नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको २८ वर्ष पनि पुगेको छैन । नेपाली टोलीले सन् १९९६ को सेप्टेम्बर ६ तारिखमा मलेसियामा औपचारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो ।
त्यो एसीसी ट्रफी क्रिकेट प्रतियोगिता थियो । यस हिसाबले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको भर्खर २८ वर्ष पुग्न लागेको छ । नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुअघि नै भारत र पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एकदिवसीय विश्वकपको उपाधि नै चुमिसकेका थिए ।
तर पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छोटो समयमै नेपालले विश्व क्रिकेटमा कोरेको इतिहास भने निकै गौरवशाली छ । यसबिचमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यतासमेत पाइसकेको छ भने विश्वकपजस्तो ठुलो मञ्चमा आफ्नो छाप छाडिसकेको छ ।
- किन भारतको सहयोग महत्त्वपूर्ण?
भारत केवल क्रिकेट खेल्ने देश होइन, विश्व क्रिकेटको शक्ति केन्द्र हो। बीसीसीआईसँग विश्वस्तरीय कोचिङ, टेक्नोलोजी र संरचना छ।
भारतमा खेल्ने अनुभवले नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक मानसिकता र खेल रणनीतिमा सुधार ल्याउँछ। नेपाल र भारतको सांस्कृतिक र भाषिक नजिकताले नेपाली खेलाडीलाई भारतमा प्रशिक्षणमा सहजता हुन्छ।
नेपाल क्रिकेट अझै पूर्वाधार र घरेलु लिग प्रणालीमा कमजोर छ। भारतसँगको सहकार्यले यदि दीर्घकालीन साझेदारीमा रूप लिन्छ भने नेपालले स्थायी क्रिकेट एकेडेमी निर्माणमा सहयोग पाउन सक्छ।
नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता फ्रेंचाइज–आधारित प्रतियोगितामा भारतको सहभागिता सम्भव हुनसक्छ। महिला र यू–१९ क्रिकेटमा नियमित एक्स्चेन्ज प्रोग्रामले दीर्घकालीन प्रतिफल ल्याउनेछ।
अत्यन्तै नजिकको छिमेकी भएर पनि नेपाली क्रिकेटले भने भारतबाट अपेक्षित सहयोग भने लिन सकेको छैन । यसमा कमजोरी नेपाली पक्षकै हो । नेपाली खेल पदाधिकारी र सरकारले कहिल्यै क्रिकेट विकासको पक्षमा भारतसँग उल्लेख्य छलफल र वार्ता गर्न सकेको छैन ।
परराष्ट्र मन्त्रालयमा स्पोर्टस डिप्लोमेसी (खेलकुद कूटनीति) बुझेका अधिकारीको अभाव हुनु पनि यसको प्रमुख कारण हो । त्यसैले खेलकुद पनि द्विपक्षीय सहयोग आदान–प्रदानको विषय बन्न सक्छ भन्ने कुरा कहिल्यै पनि अन्तर्राष्ट्रिय मञ्चमा उठ्ने गरेको पाइँदैन ।
खेलकुदलाई अनुत्पादक क्षेत्रको रूपमा हेर्ने मान्यता अब निकै पुरानो भइसक्यो । वर्तमान विश्वमा खेलकुद अर्थतन्त्रको निकै महत्त्वपूर्ण खम्बा भइसकेको छ । विश्वमा स्पोर्टस् डिप्लोमेसीको पनि निकै ठुलो महत्त्व छ ।
यसै गरी नेपाली खेलकुदको नेतृत्वदायी निकाय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मै पनि खेलकुद कूटनीति बुझेका व्यक्तिहरूको अभाव देखिन्छ । खेलकुद बुझ्नु र खेलकुद डिप्लोमेसीको ज्ञाता हुनु फरक विषय हो । खेलकुद बुझेका हरेक व्यक्ति खेलकुद डिप्लोमेसीको ज्ञाता हुन सक्दैन । हामी भने अझै पनि यही भ्रममा अल्झिएर बसेका छौँ ।

भारतीय विदेशमन्त्री जयशङ्कर आफैँले नेपाली क्रिकेटको स्तरवृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि अब नेपाली क्रिकेटले यसबाट सक्दो फाइदा लिन सक्नुपर्छ। यसका लागि नेपालले आफ्नो प्राथमिकता निर्धारण गरेर आफ्ना मागहरू अघि सार्नुपर्छ ।
भारतको सहकार्यका मुख्य कदमहरू
२०१३ : भारत सरकारले नेपाल क्रिकेट संघ (क्यान) लाई यातायातका लागि बस प्रदान गर्यो।
२०२३ : अक्टोबर २०२३ मा काठमाडौँस्थित भारतीय दूतावासले बीपी कोइराला भारत–नेपाल फाउन्डेसन र एसजेभीएन लिमिटेड मार्फत व्यावसायिक खेलकुद उपकरण प्रदान गर्यो। यसमा खेलाडीका लागि किट, बल, प्याड र प्रशिक्षण उपकरणहरू समावेश थिए।
२०२४ : सहकार्यको नयाँ चरण
जनवरी : भारतका विदेशमन्त्री डा. एस. जयशंकरले काठमाडौंमा नेपाली पुरुष राष्ट्रिय टोलीलाई भेटेर भारतको निरन्तर समर्थनको प्रतिबद्धता जनाए।
अप्रिल : बरोडा र गुजरात क्रिकेट संघसँग त्रिकोणात्मक अभ्यास शृङ्खला ।
अगस्ट : बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा प्रशिक्षण शिविर।
२०२५ : अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि ठोस तयारी
मार्च : भारतले यू–१९ टोलीहरू बिच अभ्यास शृङ्खला आयोजना गरेर आईसीसी यू–१९ विश्वकप छनोटका लागि नेपाली टिमलाई तयारी गरायो।
अप्रिल–मे : नेपाल महिला टोली दिल्लीमा प्रशिक्षण शिविरमा सहभागी भई थाइल्याण्डमा भएको आईसीसी महिला विश्वकप एसिया छनोटको फाइनलसम्म पुग्यो।
जुलाई–अगस्ट : नेपाल पुरुष टोलीको लागि बेंगलुरुमा दुई हप्ते विशेष शिविर, जसले ओमानमा हुने टी–२० विश्वकप छनोट (अक्टोबर २०२५) को तयारीलाई लक्ष्य राखेको छ।
जुलाई : भारतीय दूतावासमार्फत ३ जना यू–१९ क्रिकेटरलाई भोपालमा एक महिनाको व्यावसायिक प्रशिक्षण।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण