बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्यानको बजेट ३१ अर्ब ४० करोड, कुन विमानस्थलमा कति बजेट ?

बुधबार, ०७ साउन २०८२, २० : ४५
बुधबार, ०७ साउन २०८२

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुधबार आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

प्राधिकरणका अनुसार पूँजीगत खर्चतर्फ १२ अर्ब ३९ करोड ७० लाख, कार्य सञ्चालनतर्फ ६ अर्ब १५ करोड ६७ लाख र वित्तीय व्यवस्थापनतर्फ १२ अर्ब ८५ करोड रुपैयाँ विनियोजन भएको छ । 

वित्तीय व्यवस्थापनतर्फको रकम नेपाल सरकारलाई तिर्नुपर्ने ऋणको साँवा–ब्याज भुक्तानीमा खर्च हुने महानिर्देशक प्रदीप अधिकारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । 

प्राधिकरणको आम्दानीको ९० प्रतिशत हिस्सा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्भर रहेको र उक्त विमानस्थल आफ्नो अधिकतम क्षमतामा चलिरहेकाले अब आम्दानी बढाउन विमानस्थल सेवा शुल्क वृद्धि गर्ने योजना रहेको पनि उनले बताए । 

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले विभिन्न शुल्कमा छुट दिएका कारण त्यहाँबाट प्राधिकरणलाई आम्दानी हुन सकेको छैन ।

कुन विमानस्थलमा कति बजेट ? 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि विभिन्न आयोजना सञ्चालन गर्न ४ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्राधिकरणको आम्दानीको मुख्य स्रोत यही विमानस्थल रहेकाले यसको स्तरोन्नति र व्यवस्थापनमा बजेट केन्द्रित गरिएको हो । विमानस्थल अहिले नै अधिकतम क्षमतामा सञ्चालन भइरहेकोले थप आम्दानीका लागि नयाँ स्रोत खोज्नुपर्ने चुनौती रहेको प्राधिकरणले जनाएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल 

बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि २३ करोड ८० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः

पोखरा विमानस्थलका लागि करिब ५१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ सरकारले वायुसेवा कम्पनीलाई शुल्कमा छुट दिएका कारण हाल आम्दानी नभए पनि आन्तरिकतर्फको आम्दानी भने सन्तोषजनक रहेको प्राधिकरणले जनाएको छ । यो बजेट विमानस्थलको सञ्चालन र अन्य आवश्यक पूर्वाधारमा खर्च हुने अनुमान छ ।

विराटनगर, नेपालगन्ज र भरतपुर विमानस्थलः

औद्योगिक र व्यापारिक हिसाबले महत्त्वपूर्ण मानिएका विराटनगर, नेपालगन्ज र भरतपुर विमानस्थलले समान ४–४ करोड रुपैयाँ बजेट पाएका छन् । यो रकम टर्मिनल भवन सुधार, धावनमार्ग मर्मत र अन्य पूर्वाधार विकासमा खर्च गरिनेछ ।

अन्य आन्तरिक विमानस्थलः

प्राधिकरणले विभिन्न आन्तरिक विमानस्थलको स्तरोन्नतिका लागि पनि बजेट विनियोजन गरेको छ । रारा विमानस्थलमा ४ करोड, टिकापुर विमानस्थलमा ३ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै कमलबजार र महेन्द्रनगर विमानस्थलका लागि २–२ करोड, महेन्द्रनगरमा नयाँ टर्मिनल भवन तथा टावर निर्माणमा १ करोड, भोजपुर, डोटी, सगरमाथा (उदयपुर), बाजुरा, चुहानडाँडा, सुकेटार, दार्चुला, दाङ र भद्रपुर विमानस्थल प्रत्येकलाई १–१ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

गत वर्षको खर्च कस्तो ? 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गत आर्थिक वर्ष २०८१/८२ को बजेटमा कुल ३४ अर्ब १२ करोड १६ लाख रुपैयाँको बजेट ल्याएको थियो । 

पुँजीगत तर्फ विनियोजित ११ अर्ब ५२ करोड २५ लाख रुपैयाँमध्ये ६८ प्रतिशत खर्च गर्न सफल भएको छ ।  त्यस्तै, ६ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ छुट्याइएको कार्य सञ्चालनतर्फ ६४ प्रतिशत खर्च भएको छ । 

वित्तीय व्यवस्थापन तथा अन्य शीर्षकमा विनियोजित १६ अर्ब ७ करोड २० लाख रुपैयाँमध्ये केवल ३१ प्रतिशत मात्र खर्च भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप