बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मोर्चामा समस्या

उपनिर्वाचनलाई लिएर मोर्चामा विवाद, बाहिरिएला जनमत ?

आइतबार, ११ साउन २०८२, १७ : १६
आइतबार, ११ साउन २०८२

सारांश

  • रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि मोर्चामा साझा उम्मेदवार उठाउने निर्णयमा जनमत पार्टीले असहमति जनाएको छ।
  • जनमत पार्टीले मोर्चाको उद्देश्य संविधान संशोधन भएको भन्दै निर्वाचनमा सहभागिताको विषयलाई लिएर असन्तुष्टि जनाएको छ।
  • मोर्चा बैठकमा जनमत पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल भइरहेको छ, र नेताहरूले चेतावनी दिएका छन्।

काठमाडौँ । रुपन्देही–३ मा हुने उपनिर्वाचनलाई लिएर गठबन्धन गरेका तराई–मधेसका सातदलीय  संघीय लोकतान्त्रिक मोर्चामा विवाद देखिएको छ । मोर्चाले रुपन्देहीमा साझा उम्मेदवार उठाउने निर्णय गरे पनि जनमतले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । 

मोर्चाको साझा उम्मेदवार नागरिक उन्मुक्ति पार्टीबाट हुने भनिएको छ । र जनमतले असहमति जनाए पनि मिलाउने काम भइरहेको जसपा नेपालका महासचिव रामकुमार शर्माले बताए । ‘रुपन्देही–३ मा नागरिक उन्मुक्ति पार्टीबाट साझा उम्मेदवार उठाउने भनी सर्वसम्मतिले निर्णय भएको छ,’ उनले भने, ‘त्यसमा सबै सहमत छन्, जनमत पार्टीसँग पनि कुराकानी चलिरहेको छ ।’

यद्यपि जनमतले मोर्चा गठनको उद्देश्य संविधान संशोधन भएकाले निर्वाचनको कुरै नआउने तर्क गर्दै आएको छ । मोर्चामा आबद्ध दलहरूले गरेको निर्णयप्रति जनमतले चित्त दुखाएको छ । पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले यो मोर्चा कसैलाई चुनाव जिताउन, मन्त्री बनाउन गठन भएको नभएको र संविधान संशोधनलगायत साझा एजेन्डामा सहकार्य गर्न गठन भएको प्रतिक्रिया दिए । 

‘मोर्चामा भए पनि कुनै पनि दलले फरक मत राख्न सक्छ, उपचुनावको विषयमा जनमत पार्टीलाई चित्त बुझेको छैन, आफ्नो फरक मत राखेको हो,’ शर्माले भने, ‘तर त्यति मात्र कुराले जनमत पार्टीले मोर्चा छाड्दैन ।’ अहिलेसम्म मोर्चा छाड्ने वा नछाड्ने विषयमा पार्टीमा कुनै छलफल नभएको पनि उनले बताए । 

loktantrik-morcha_KEJ2vzRjoQ

सबै किसिमको अधिकार र न्याय प्राप्तिको संघर्षमा मोर्चामा जनमत पार्टी सधैँ साथमा रहने र तर बहुदलीय शासन व्यवस्थामा कुनै किसिमको चुनावी गठबन्धन/मोर्चामा आफ्नो पार्टीले पटक्कै विश्वास नगर्ने उनको भनाइ थियो । उनले यसलाई सिद्धान्तविहीन सौदाबाजीका रूपमा लिने गरिएको टिप्पणी गरे । 

‘चुनावी गठबन्धनले मतदातालाई दिग्गभ्रमित गर्छ र यसले जनताको मतको घोर अपमान पनि हुन्छ,’ उनले थपे, ‘विगतमा पनि दलहरू गठबन्धन गरेर चुनाव लडे र आज हेर्नुस् ती दलहरू कहाँ–कहाँ छन्, को–कोसँग चुनाव लडेका थिए । चुनावमा मतदाताले ठुलो पीडाका साथ गठबन्धनका उम्मेदवारलाई मतदान गरेका थिए, कतिले त गर्न पनि सकेका थिएनन् । यसरी बहुदलीय व्यवस्थाको मूल्य र मान्यताविपरीत जनताको मतको धज्जी उडाइए ।’

उनले जनमतलाई तेजोबध गर्न मोर्चाको उद्देश्य, प्रतिबद्धता र आचारसंहिताविपरीत अनावश्यक दबाब दिने कार्य तत्काल बन्द गर्न पनि आग्रह गरे । कुनै पनि किसिमको घेराबन्दी आफूहरूलाई असह्य हुने उनको भनाइ थियो । 

तर जनमत पार्टीका अर्का एक नेता भने आबद्ध दलहरूले यसरी पेलेर जान खोजे मोर्चामा बस्नुको औचित्य नहुने बताउँछन् । ‘मोर्चाको यस्तै रवैया रहने हो भने त्यहाँ जनमत नरहन पनि सक्छ,’ उनले चेतावनी दिए । 
सोमबार अपराह्न चार बजे मोर्चाको बैठक बस्दै छ । उक्त बैठकमा जाने कि नजाने भन्नेमा जनमतले निर्णय गर्ने ती नेताले बताए । 

resham-lal-chaudahry_tHKvOKgDTx

यता मोर्चाले सार्वजनिक गरेको कार्यविधि र आचारसहिंताविपरीतको कार्य भएको मोर्चाका कतिपय नेताहरू बताउँछन् । मोर्चाले तयार गरेको गठबन्धनमा भनिएको छ, ‘यस मोर्चाको निर्णय सामान्यतः सर्वसम्मतिका आधारमा हुनेछ । घटक दलहरूले फरक मत दर्ज गरी निर्णय गर्ने समझदारी भएमा बहुमतले पनि निर्णय गर्न सकिने छ ।’

मोर्चाका एक नेताले भने, ‘मोर्चा संविधान संशोधनका लागि मात्र गठन भएको होइन, हरेक क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने कुरा भएको छ, जनमत समेतले सहमति जनाएको कार्यविधिमा नै त्यो कुरा उल्लेख छ ।’ जनमतले आचारसहिंता तथा कार्यविधिविपरीत कुरा गरेको बताउदै उनले कार्यविधिमै सबै क्षेत्रमा सहकार्यको संस्कृतिलाई अगाडि बढाउने भनिएको स्पष्ट पारे । 

कार्यविधिमा भनिएको छ– ‘राष्ट्रिय समस्या समाधानका लागि मोर्चामा आबद्ध राजनीतिक दलहरूबिच आपसी सहमति र सहकार्यलाई प्रबद्र्धन गर्दै सबै क्षेत्रमा सहकार्यको संस्कृतिलाई अगाडि बढाउने ।’ 

कार्यविधि वा आचारसहिंता तथा अवधारणापत्र कतै पनि यो मोर्चा संविधान संशोधनका लागि मात्र गठन भएको उल्लेख नभएको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप