बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

माओवादीमा उकुसमुकुस : विप्लव, जनार्दन र घनश्यामबिच बढ्दो सम्बन्ध

सोमबार, १२ साउन २०८२, १६ : ००
सोमबार, १२ साउन २०८२

सारांश

  • माओवादी केन्द्रभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको आन्तरिक विवाद बढेको छ।
  • शर्माले पार्टीभित्र जनवादको अभाव र सुशासनको कमी भएको आरोप लगाए, जसलाई प्रचण्डले अस्वीकार गरे।
  • विप्लव, जनार्दन र घनश्यामबीच कम्युनिस्ट पार्टी पुनर्गठनका लागि छलफल भइरहेको छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बिचको छेडखानीले आन्तरिक द्वन्द्व बढ्दै गएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृतिको अवसरमा शर्माले अध्यक्ष प्रचण्डप्रति लक्षित गरी कम्युनिस्ट पार्टीभित्र जनवाद समाप्त भएको र केन्द्रीयता मात्रै बाँचेको चित्रण गरेका थिए । 

‘पार्टीमा जनवादी केन्द्रीयताको कुरा हामीले गरिरहेका छौँ । जनवाद समाप्त भयो । केन्द्रीयतामात्रै बाँच्यो । केन्द्रीयता केन्द्रीयतामा रहेन, नोकरशाही केन्द्रीयतामा बदलियो । नोकरशाही केन्द्रीयतामा सीमित भएन । त्यो सामन्ती निरंकुशतामा बदलियो । कम्युनिस्ट पार्टी फेरि सामन्ती झुण्डहरू जस्ता बन्न थाले । यो आजको अवस्था हो’, उनले भनेका थिए ।

शर्माले सुशासनको सवालमा मनमोहन अधिकारीबाहेक अरू बाँकी नेताहरूले असुली धन्दा गरेको गम्भीर आरोपसमेत लगाए । आर्थिक पारदर्शी र सुशासनका लागि पहिला आफैँबाट छानबिन हुनुपर्ने भन्दै उनले त्यसका लागि पार्टीभित्रको व्यक्ति नभई बाहिरबाट स्वतन्त्र व्यक्ति ल्याउनुपर्ने मत राखेका थिए । 

तर शर्माको प्रस्तावलाई अध्यक्ष प्रचण्डले ठाडै अस्वीकार गरे । पुष्पलाल स्मृति दिवसको दिन साउन ७ गते राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा प्रचण्डले पार्टीभित्र फरक मत राख्नेलाई पर्याप्त मात्रामा सिँगौरी खेल्न दिएको जिकिर गरे । भिन्न मतलाई दमन गर्नुभन्दा पनि उदारता देखाउनु आफ्नो कमजोरी भएको उनको जिकिर थियो ।

‘मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु । अहिले पनि केही साथीहरूले सिँगौरी खेल्न पाएजस्तो गर्नुभएको छ । उहाँहरूलाई प्रशस्त सिँगौरी खेल्न दिएको छु । परामर्श भन्दै डेढ महिना देशभर लिएरै हिँडे मैले । योभन्दा बढी गर्ने के हो जनवाद ?’ प्रचण्डको प्रश्न थियो ।

यसरी नेतृत्व तह नै सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिएपछि माओवादीका नेता तथा कार्यकर्ताहरू सामाजिक सञ्जालमार्फत एकअर्कालाई खुइल्याउन तल्लीन देखिएका छन् । प्रचण्ड पक्षधरले पार्टी नेतृत्वमाथि चौतर्फी घोरबन्दी भइरहेको वेला प्रतिवाद गर्नुको सट्टा गुटबन्दी गरेको, पार्टी विभाजन गर्न खोजेको जस्ता गम्भीर आरोप लगाएका छन् । यता शर्मा पक्षधरले नेतृत्वमाथि प्रश्न गर्दैमा विभाजनकारी भनेर आरोप लगाउनु उचित नभएको बताएका छन् । पूर्वमन्त्री तथा माओवादीका नेता सुदन किरातीले त प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गर्न आह्वान गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा किरातीले लेखेका छन्– ‘प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ । नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाइराख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गरौँ ।’

साथै उनले पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र  रूपान्तरणको अभियानलाई तीव्र बनाउन र सहिदको सपना पूरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुनसमेत आग्रह गरेका छन् ।

शर्माले गत वर्ष साउन २६ गते स्थायी समिति बैठकमा ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ सम्बन्धी १४ बुँदे प्रस्ताव गरेका थिए । पार्टी र आन्दोलनमा अन्तरसंघर्ष र दुई लाइन संघर्षको सन्दर्भमा एकथरिले अन्धसमर्थन गर्ने र अर्कोथरिले वर्ग संघर्षकै रूपमा बुझ्ने प्रवृत्ति हाबी भएको उनको निष्कर्ष छ ।

नेतृत्वसँगै पार्टी अवसान हुने डर लाग्दो अवस्था अन्त्य गरौँ भनेरै आफूले नयाँ वैचारिक र सैद्धान्तिक आधारमा पार्टी पुनर्गठनको प्रस्ताव गरेको शर्माको जिकिर छ । उनले भने, ‘पार्टी निर्माण बाहेक मेरो कुनै स्वार्थ छैन । गत वर्ष स्थायी समिति बैठकमा जुन प्रस्ताव पेस गरेको छु, त्योभन्दा बाहेक अर्को प्रस्ताव लैजाने मेरो कुनै योजना छैन ।’

शर्माले गत वर्ष साउन २६ गते स्थायी समिति बैठकमा ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ सम्बन्धी १४ बुँदे प्रस्ताव गरेका थिए । पार्टी र आन्दोलनमा अन्तरसंघर्ष र दुई लाइन संघर्षको सन्दर्भमा एकथरिले अन्धसमर्थन गर्ने र अर्कोथरिले वर्ग संघर्षकै रूपमा बुझ्ने प्रवृत्ति हाबी भएको उनको निष्कर्ष छ । यसलाई पार्टी निर्माण र नयाँ परिस्थिति अनुसार रुपान्तरण र विकासको अर्थमा बुझ्ने चेतना अभिवृद्धि गर्न जरुरी रहेको उनको मत छ ।

  • किन बिच्किए जनार्दन शर्मा ?

माओवादीले साउन १६ गते स्थायी समिति बैठक बोलाएको छ । आन्तरिक विवादका कारण योपटक बैठक निकै पेचिलो हुने देखिएको छ । माओवादीको अन्तरविरोध वैचारिक मन्थन हो वा स्वार्थ समूहको दन्तबझान हो भन्नेमा नेताहरूका आ–आफ्नै तर्क छ । यद्यपि पार्टी विभाजन गर्न लागिएको भनेर माओवादी संस्थापन पक्षद्वारा लगाइएको आरोप शर्मा पक्षले ठाडै अस्वीकार गरेको छ ।

खासमा यो आरोप प्रचण्ड वरिपरिका झुण्डबाटै सुनियोजित रचिएको हल्ला भएको शर्मा पक्षको जिकिर छ । गत वर्ष असार ३१ गते प्रचण्ड सत्ताबाट हटेपछि साउन १० गते पदाधिकारी बैठक राखेका थिए । सोही बैठकमा उपमहासचिव शर्माले पार्टी निमार्णसम्बन्धी ९ बुँदे प्रस्ताव पेस गरेका थिए । त्यो प्रस्तावले माओवादी हेडक्वाटरमा  हल्लाखल्ला मच्चिएको थियो ।

‘जनार्दनले पार्टी विभाजन गर्न खोज्दैछ भनेर प्रचण्डले लगाएका आरोप हुन् । यतिमात्र होइन, संसदीय दलमा हस्ताक्षर नै जुटाएका छन् भन्नेजस्ता निराधार आरोप समेत लगाएर कमजोर पार्ने प्रयास गरियो । मलाई थाहा भएसम्म जनार्दन शर्मा पार्टी विभाजन गर्ने पक्षमा हुनुहुन्न’, शर्मा निकट एक नेताले भने, ‘उहाँको ध्यान निरन्तर ओरालो लागेको पार्टीलाई कसरी पुनर्स्थापित गर्ने ? कसरी बलियो बनाउने भन्नेमा छ ।’

शर्माले पार्टीलाई नीति र विधानबाट चलाउनु पर्छ, हजारौँ सहिदको बलिदानीबाट बनेका पार्टीलाई नयाँ विचार, सिद्धान्तको संश्लेषण गरी अगाडि बढ्नुपर्छ भन्दा शक्ति र सत्ता गुम्ने डरले नेतृत्वबाट सुनियोजित हल्ला फैलाइएको ती नेताको दाबी छ ।

पार्टी विभाजन गर्दैछ भनेर चलाएको हल्लाको विषयमा शर्माले अध्यक्षसँगै जबाफसमेत मागेका थिए । पार्टी विभाजन गर्न लागिएको भनेर आफूले नभनेको प्रचण्डको जबाफ थियो ।

शर्माको प्रस्ताव पार्टीलाई विभाजनभन्दा पनि बलियो बनाउने गरी आएकाले छलफलका लागि तल्ला समितिमा लैजान तयार रहेको त्यतिवेला प्रचण्डले बताएका थिए । शर्माले पनि ९ बुँदे प्रस्तावलाई संशोधन गर्दै स्थायी समिति बैठकमा पेस गरे ।

२०८१ पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले शर्माको प्रस्तावलाई समेत समेटेर अनुमोदन गरेपछि विवाद मत्थर भएको थियो ।

बैठकले २०८२ असारसम्म पूर्व–पश्चिम लोकमार्ग, मध्यपहाडी मार्ग केन्द्रित अभियान सम्पन्न गर्ने र मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । मध्यपहाडी अभियानको क्रममा जेठको दोस्रो हप्ता रुकुम(पश्चिम) पुगेको माओवादी जागरण सभामा प्रचण्डले शर्मालाई बिझाउने गरी घुमाउरो शैलीमा जो–जसले पार्टी छोडे पनि रुकुमेली जनता नेतृत्वको पक्षमा उभिने बताएका थिए ।

आफ्नै गृहजिल्लामा आएर नेता तथा कार्यकर्तालाई नेतृत्वले भड्काउने काम गरेकोमा शर्माको चित्त दुःखेको उनी निकटस्थ नेताहरूको भनाइ छ ।

यस्तै अखिल क्रान्तिकारीको उमेरहद र नेतृत्व चयन, प्रेस सेन्टर तथा वाईसीएलको नेतृत्व छनोटमा प्रचण्ड पक्षले गरेको गुन्डागर्दीपूर्ण व्यवहारबाट शर्मा थप चिढिएको बुझिएको छ । संगठन विभाग प्रमुखसमेत रहेका शर्मा असार २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीस्थित टीकापुर पुगेका थिए । सुदूरपश्चिम पार्टी प्रदेश कार्यालयमा नेता तथा कार्यकर्तासँग उनले भेटघाट गरेका थिए ।

सोही क्रममा व्यापारी टीकाराम जैसीकी आमाको निधन भएकाले समवेदना दिन उनको घरमा समेत शर्मा पुगेका थिए । शर्मा सुदूरपश्चिम गएको विषयमा प्रचण्डले सोधीखोजी गरेको आरोप सुदूरपश्चिमका एक नेताले बताए ।

उहाँ सुदूरपश्चिम गएको विषयमा अध्यक्षले पनि केही भन्नुभएको छैन । सचिवालयबाट पनि कसैलाई नभेट भनेको छैन । भेट्न जानेलाई किन गइस् भनेको पनि छैन ।

‘प्रभाकर कमरेड जनयुद्धको वेलामा युद्ध योजनाकार पनि हुनुहुन्छ । यहाँका जनतासँग भावनात्मक सम्बन्धको आधारमा उहाँ यहाँ आउनु स्वाभाविक छ,’ ती नेताले भने, ‘उहाँ संगठन विभाग प्रमुख र उपमहासचिव भएकाले पार्टी निर्माणको क्रममा नेता तथा कार्यकर्तासँग भेटघाटमा आउनुभएको हो । सोही क्रममा उहाँले व्यापारी टीकाराम जैसीको आमाको निधनमा समवेदना दिन जैसीको घरमा जानुभएको हो । भेटघाटको विषयलाई लिएर पार्टीले सोधीखोजी गर्नु राम्रो होइन ।’

यद्यपि प्रचण्डको सचिवालयले उक्त आरोपको खण्डन गरिसकेको छ । मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जनार्दन सुदूरपश्चिम गएको विषयमा अध्यक्षले चासो दिएको आरोप निराधार भएको स्पष्ट पारेका छन् ।

‘उहाँ सुदूरपश्चिम गएको विषयमा अध्यक्षले पनि केही भन्नुभएको छैन । सचिवालयबाट पनि कसैलाई नभेट भनेको छैन । भेट्न जानेलाई किन गइस् भनेको पनि छैन । पार्टीलाई बलियो भनाउने भन्दा पनि यस्ता विषयमा अनावश्यक कुरा गरेर द्वन्द्व बढाउने काम राम्रो होइन’, रातोपाटीसँग आचार्यले भने ।

  • विप्लव, जनार्दन र घनश्यामबिच बढ्दो सम्बन्ध

शर्माले युद्धकालीन धङधङीबाट अब पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष निकाल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतसँग मिलेर कम्युनिस्ट पार्टी पुनर्गठनको संकल्प गरिसकेका छन् । उनले विस्तृत खाका त सार्वजनिक गरेका त छैनन् तर भुसाल र विप्लवले कम्युनिस्ट पार्टीबिच ध्रुवीकरणको अध्याय सुरु भएको घोषणा गरेसँगै माओवादी संस्थापन पक्षलाई झस्काएको छ ।

विप्लव, भुसाल, जनार्दनबिच एकता, सहकार्य र ध्रुवीकरण गर्ने संकल्प अनुसार नै दोस्रो पुस्ताका नेताहरूबिच भेटवार्ता तीव्र चलेको छ । सोही सिलसिला अनुसार विप्लवले नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।

विप्लवको सचिवालयका अनुसार दोस्रो पुस्ताका नेताहरूसँगको भेटवार्तामा कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउने, पार्टी एकता, सहकार्य र ध्रुवीकरणको विषयमा सकारात्मक छलफल भएको छ ।

‘पहिलो पुस्ताबाट अब कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन । दोस्रो पुस्ताले नै पार्टी एकता, सहकार्य र ध्रुवीकरणका लागि पहल गर्नुपर्छ भनेर महासचिव विप्लवले भेटवार्ता गर्नुभएको हो । यो क्रम केही दिन जारी रहन्छ । अहिलेसम्म विभिन्न दलका नेताहरूसँग भएको छलफल सकारात्मक छ । यसले केही परिरणाम निस्किन्छ कि ?’, विप्लवको सचिवालयका नारायण चन्दले भने ।

एक वर्ष अगाडि नै माओवादीसँग एकता गर्ने निर्णय केन्द्रीय समिति बैठकबाट गराएका विप्लव पछिल्लो समय प्रचण्डसँग असन्तुष्ट छन् । एकताका लागि प्रचण्डले महत्त्व नदिएपछि उनको असन्तुष्टि बढेको हो ।

पछिल्लो केन्द्रीय समिति बैठकमा प्रचण्डकै कारण एकता सम्भव नभएको आरोप विप्लवले लगाएका थिए । माओवादीसँग एकताको ढोका खुलै राखेर अन्य विचार मिल्ने वामपन्थी दलसँग एकता र ध्रुवीकरण गर्ने निर्णय नेकपाको केन्द्रीय समिति बैठकले गरेको थियो ।

केन्द्रीय समितिको बैठक बस्नुअघि विप्लवले २०८१ असोज २७ गते एकीकृत समाजवादीका महासचिव भुसालसँग शिवगढीमा भेटवार्ता गरेका थिए । त्यसको ठिक दुई दिनअघि उनले जनार्दन शर्मासँग छलफल गरेका थिए ।

माओवादी केन्द्रका सचिव राम कार्कीले पनि वामपन्थी ध्रुवीकरण र एकताको विषयमा नयाँ सुरुवात भएको बताएका छन् ।

दुवै नेतासँगको भेटवार्तामा विप्लवले पार्टी निर्माण, एकता र ध्रुवीकरणको विषयमा सकारात्मक कुराकानी भएको रातोपाटीलाई बताएका थिए । त्यस यता तीन जना नेताहरू वामपन्थी ध्रुवीकरणको विषयमा नियमित छलफलमा रहेको बुझिएको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा पनि माओवादी नेतृत्वलाई झस्काउने गरी केही नयाँ ध्रुवीकरण हुने विप्लवले बारम्बार दोहोर्‍याएका थिए ।

माओवादी केन्द्रका सचिव राम कार्कीले पनि वामपन्थी ध्रुवीकरण र एकताको विषयमा नयाँ सुरुवात भएको बताएका छन् । ‘सबै पार्टीमा उकुसमुकुसको अवस्था छ । नेतृत्वमा निरंकुशता हाबी हुँदै गएको छ । यस्तो अवस्थामा तीन जना नेता एक ठाउँमा उभिनुले नयाँ कुराको सुरुवात भएको छ’, उनले भने ।

तर कम्युनिस्ट पार्टीको विभाजनबाट कुनै शक्ति आर्जन नभएका कारण यसबारे गम्भीर समीक्षा गर्न उनले सुझाव दिएका छन् ।

‘कम्युनिस्ट पार्टी विभाजन भएपछि के शक्ति आर्जन गर्‍यो ? माओवादीले उठाएका एजेन्डा र जुन राजनीतिक परिवेश निर्माण गरेको थियो, त्यसलाई विभाजनले सहयोग गर्‍यो कि कमजोर बनायो ? समीक्षा त्यहाँ पनि गर्नुपर्ने होला’, कार्कीले भने, ‘विभाजनले शक्ति आर्जन गरेको मैले देखेको छैन । कहाँ कमजोरी छ ? के भयो ? कुन एजेन्डा समाउनुपर्थ्यो ? हामीले कहाँ गल्ती गर्‍यौँ । यी कुराको साँच्चै ठोस समीक्षा गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप