शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: ‘रगतको आँसु’ पिउँदै मधेसका किसान, भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन

मङ्गलबार, १३ साउन २०८२, ०० : ००
मङ्गलबार, १३ साउन २०८२

काठमाडौँ ।  आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन

नेकपा एमालेले अन्तर पार्टी निर्देशन (अपानि) १२ जारी गर्दै पुर्व पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै नेता भएकाले पार्टीको कार्यकर्ता बन्न नहुने जनाएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले सोमबार ३० पेज लामो अपानि १२ जारी गर्दै नवौँ केन्द्रीय कमिटी बैठकका निर्णयसहित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा मातहतका कमिटीमा पठाएका हुन् । अध्यक्ष ओलीले जारी गरेको अपानिमा भण्डारी सिङ्गै राष्ट्रको नेता भइसकेकाले अब पार्टीको कार्यकर्ता बन्न नहुने उल्लेख छ ।

२. सम्पर्कविहीन भएकाहरु फेला

शुक्रबारदेखि हराएका सिन्धुलीका हायू परिवारका सबै सदस्य कास्कीको गगनगौंडामा फेला गरेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गगनगौँडा क्षेत्रबाट प्रहरीले भेट्टाएको हो । कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार १५ जनाले आफूहरू मजदुरीको काम गर्न पोखरा आएको बताएका छन् । 

३. प्रधानमन्त्रीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत गरिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले बताए ।

४. खडेरीका कारण ‘रगतको आँसु’ पिउँदै मधेसका किसान

मधेस प्रदेश खडेरीले ग्रस्त छ । आइतबार र सोमबार फाट्टफुट्ट वर्षा भए पनि लामो खडेरीका कारण मधेसमा अधिकांश किसानले धान रोप्न पाएका छैनन् भने रोपेका खेतमा पनि चिरा पर्न थालेको छ । यसै सन्दर्भमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

५. बागमती कांग्रेस संसदीय दलको विवाद सुल्झिन सकेन

नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद सुल्झाउन सोमबार बस्ने भनिएको बैठक मंगलबार बस्ने गरी सारिएको छ । परिणामस्वरुप उक्त विवाद सोमबार सुल्झिन नसकेको हो ।

६. आत्महत्याको चेतावनीपछि गायक सिंहले भने– अलिकति राहत मिल्यो

गायक अनिल सिंहले आत्महत्याको चेतावनीपछि आफ्ना गीतको अधिकार र रोयल्टीमा हक स्थापित गरेका छन् । आफूलाई मर्न बाध्य बनाइएको भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका सिंहले म्युजिक डटकम, म्युजिक नेपालबाट अडियो गीत फिर्ता पाउने भएका हुन् । उनले यसबाट आफूलाई अलिकति राहत मिलेको बताएका छन् ।

७. माधव नेपालले विशेष अदालतबाट पाएनन् वारेस राख्ने सुविधा

विशेष अदालतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ । तीन वर्षभन्दा बढी कैद हुनसक्ने अभियोग लागेको भन्दै सोमबार विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको हो ।

८ . प्रेम राई: वाइडबडी विमान खरिद प्रक्रिया अघि बढाउनेदेखि मुद्दा चलाउने भूमिकासम्म 

वाइड बडी विमान खरिद प्रक्रिया अघि बढाउने भूमिका कुनैवेला निर्वाह गरेका प्रेम राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त छन् । उनै राईको नेतृत्वमा रहेको अख्तियारले विमान खरिदमा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर तत्कालीन सचिव राईविरुद्ध भने मुद्दा अभियोजन नै गरिएन ।

९. कांग्रेस, एमालेदेखि राप्रपासम्म अन्तरविरोध

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ठुलादेखि साना दलसम्म अन्तरविरोध चर्किएको छ । नेपाली कांग्रेस, नेकपा एमालेदेखि राप्रपासम्मले अन्तरविरोध सामना गरिरहेका छन् ।

१०. माओवादीमा उकुसमुकुस

नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बिचको छेडखानीले आन्तरिक द्वन्द्व बढ्दै गएको छ । यही अवस्थामा नेकपाका महासचिव विप्लवले माओवादी केन्द्रका उपमहासचिव शर्माका साथै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँगको सम्बन्ध र छलफललाई गति दिएका छन् ।

११. पाँच विधेयकमा कांग्रेस र एमालेबिच छैन मतैक्यता

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच पाँच विधेयकमा राखिने प्रावधानबारे मतैक्ययता छैन ।

१२. एक वर्षपछि बल्ल लुम्बिनी सरकारले पायो पूर्णता

नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वको लुम्बिनी सरकारले एक वर्षपछि बल्ल सोमबार पूर्णता पाएको छ । रिक्त रहेको एक मन्त्रालयमा लोसपा नेपालका सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप