शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: कोशी प्रदेशको नाम परिवर्तन, डीप बोरिङमा अनियमितताको आशङ्का

शनिबार, १७ साउन २०८२, ०० : ००
शनिबार, १७ साउन २०८२

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२’ समाचार लिएर आएका छौँ–

  • डीप बोरिङमा अनियमितताको आशङ्का

धेसको प्रमुख सहर वीरगन्जमा पानीको अभाव गहिरिँदै गएपछि महानगरसहितका क्षेत्रमा डीप बोरिङ गाड्ने काम तीव्र गतिमा भइरहेको छ ।
साउन महिनामै वीरगन्जसहित आसपासका क्षेत्रमा धमाधम डीप बोरिङ गाड्ने काम भएको छ । खासगरी खानेपानीको हाहाकार भएपछि संघीय खानेपानी मन्त्रालय, प्रदेश सरकार र महानगरपालिकाले आ–आफ्नै हिसाबले डीप बोरिङ गाडेका छन् ।

  • भूमि विधेयक

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संघीय सांसदको चौतर्फी विरोध झेल्दै आएका छन् । मन्त्री अधिकारीलाई प्रदेश र स्थानीय तहले भने साथ दिएका छन् । 

  • एमाले मोरङ बैठकमा विद्या भण्डारीको चर्चा

नेकपा एमाले मोरङ जिल्ला समितिको बैठकले ‘अग्रणी नेता’को योगदानविना ‘मिसन–०८४’ असम्भव भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतामा पुनर्विचार गर्नुपर्ने आशयसहितको निर्णय गरेको छ । 
मोरङको विराटचोकमा बिहीबार (साउन १५ गते) पार्टीका प्रदेश इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

  • कोशी प्रदेशको नाम परिवर्तन

मन्त्रिपरिषद्ले प्रदेश सरकारको औपचारिक नाममा पनि संशोधन गरेको छ । पहिले ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर नेपाल’ भनेर लेख्ने गरिएकोमा अब त्यसलाई संशोधन गरी ‘कोशी प्रदेश सरकार’ भनेर लेख्ने निर्णय भएको छ ।

  • माधव–झलनाथ खटपट

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट बढ्ने संकेत देखिएको छ । खनाल र नेपालबीच भिन्न मत र सहकार्यको सम्बन्ध रोचक र धेरै पुरानो पनि छ । झण्डै पाँच दशक पुरानो सम्बन्ध रहेका नेपाल र खनाल २०३२ सालमा अखिल नेपाल कोर्डिनेसन केन्द्र (कोके)कालकै संस्थापक मानिन्छन् । 

  • स्थायी कमिटी बैठक

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको अन्तरविरोधलाई बाहिर लगेकोमा उपमहासचिव जनार्दन शर्मासँग असन्तुष्टि पोखेका छन् । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा एजेन्डा प्रस्तुत गर्दै प्रचण्डले शर्माको पछिल्लो गतिविधिबारे असन्तुष्टी पोखेका हुन् । 

  • चक्रे मिलन

गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुमति दिएको छ ।

  • नेपाल–चीन सम्बन्ध

नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ । तत्कालीन राजा महेन्द्रको पालामा सन् १९५५ मा नेपाल र छिमेकी मुलुक चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

  • सडक नबन्दा स्थानीयलाई सास्ती

बुटवल बेलबासदेखि रुपन्देहीको मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तार काम सुरु भएको ९ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । 

  • गण्डकीमा बहुवर्षीय योजना

सरकारैपिच्छे थपिने ठुला र बहुवर्षीय योजनाले गण्डकी सरकारको आर्थिक दायित्व अत्यधिक बढेको छ । खासगरी बहुबर्षीय, समपूरक र स्रोत सुनिश्चित गरिएका योजनाहरूको चाप बर्सेनि बढ्दो छ । हालसम्म बहुवर्षीय योजनाको संख्या ३ सय ३४ पुगेको छ । 

  • सुदूरपश्चिमको राजधानी

सुदूरपश्चिम प्रदेशले स्थायी राजधानी पाएको आठ वर्ष बितिसक्दा पनि अस्थायी राजधानीबाटै प्रदेश सरकारले कार्यसम्पादन गर्दै आएको छ । स्थायी राजधानी तोकिएको गोदावरीमा अहिलेसम्म भौतिक संरचना निर्माण गरिएको छैन ।

  • मन्त्री फेरबदल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको एक वर्ष पुगेपछि मन्त्रीहरू फेरबदल गर्ने सार्वजनिक रूपमै बताउँदै आएका थिए । २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले भोलिपल्ट आफूले पद तथा गोपनीयताको शपथ लिने बेलामै २२ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । 

  • माओवादी समाजवादी एकता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया सकारात्मक भएको बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता प्रक्रिया सकारात्मक भएको ब्रिफिङ गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप