बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इलाम पुगेर चिरीबाबुले सुनाए ललितपुर महानगरको विकासका कुरा

सार्वजनिक खरिद ऐन विकासको वाधक, संशोधन हुनुपर्नेमा जोड
मङ्गलबार, २० साउन २०८२, ०८ : ५२
मङ्गलबार, २० साउन २०८२

सारांश

  • ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक खरिद ऐन २०६३ लाई नेपालको विकासको बाधक रहेको बताए।
  • उनले सार्वजनिक खरिद ऐन संशोधनको विषयलाई थप छलफलमा ल्याउन इलामका सङ्घीय सांसद महेश बस्नेतलाई अनुरोध गरे।
  • ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली संरक्षण, र गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए।

काठमाडौँ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले  नेपालको विकासको बाधक सार्वजनिक खरिद ऐन २०६३ भएको बताएका छन् । 

इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८२ /२०८३ को बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा विशेष अतिथिका रूपमा इलाम पुगेका नगर प्रमुख महर्जनले भने,‘ सार्वजनिक खरिद ऐन २०६३मा आमूल परिवर्तन नभएसम्म मुलुक बन्दैन, यसको संशोधन जतिसक्दो छिटो हुनुपर्छ ।’ 

नेपालको विकासमा महत्त्व राख्ने विकासका ठुला योजना वर्षौसम्म सम्पन्न नभएकोमा दुख व्यक्त गरे । योजनामा गरिएको लगानी बढ्दै जाने र समय पनि थपिँदै जाने तर कामको प्रगति दर अत्यन्तै न्यून हुनु राष्ट्रिय रोग भएको बताए । सार्वजनिक खरिद ऐन २०६३ संशोधनको विषय आफूले पटक पटक उठाएको बताउँदै यो विषयलाई थप छलफलमा ल्याउन इलामका सङ्घीय सांसद महेश बस्नेतलाई अनुरोध गरे । 

कार्यक्रमका प्रमुख अतिथि सांसद बस्नेतले सार्वजनिक खरिद ऐन संशोधनको बारेमा आफू पनि यसअघि कुरा राखेको स्मरण गर्दै फेरि पनि यो ऐन संशोधनको बारेमा कुरा उठाउने बताए । उनले भने, ‘महानगर मेयरसाबले कुरा उठाउनु भयो, सम्झाउनु भयो, म यस विषयमा म कुरा उठाउँछु’

सार्वजनिक खरिद ऐन अनुसार मठमन्दिर निर्माण गर्दा मन्दिर राम्रो नबन्ने भएकाले यसको विकल्प खोज्नुपर्ने औँल्याए ।

महानगरले निर्माण र पुनर्निर्माण गरेको मन्दिर उपभोक्ता समिति मार्फत निर्माण भएका छन् । नगर प्रमुखको नेतृत्वमा  इलाम पुगेको महानगरको प्रतिनिधिमण्डलमा प्रवक्ता राजु महर्जन र नगरसभा सदस्यहरू इन्द्रा श्रीश र अनुप घिमिरे रहेका छन् । 

ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली संरक्षण, गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए । महानगरले हरियाली संरक्षणको लागि वोटविरुवा मात्रै नरोपेको बताउँदै त्यसको संरक्षण पनि गरेको महानगर प्रमुख महर्जनले बताए । 

महर्जनले सडक पूर्वाधार निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए । उनले भने , ‘कुटो कोदालो नगर्ने हो भने, दश वर्ष यता हामीले बनाएको सडक बिग्रिँदैन। ’ महानगरले अधिकार क्षेत्रभित्र रहेका भित्री सडकको गुणस्तर मापन गर्न जनप्रतिनिधिको रोहवरमा कोर कटिङ गर्ने र त्यसलाई महानगरले तोकेको ल्याबमा परीक्षण गरेपछि मात्रै भुक्तानी पाउने व्यवस्था गरेको छ  । महानगर प्रमुख महर्जनले शिक्षा, स्वास्थ्यलाई पनि महानगरले त्यति नै प्राथमिकतामा राखेको धारणा राखे । विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरेको बताउँदै उनले भने, ‘ एलएमसी एप्स बनाएका छौँ, त्यसमा नगरभित्र भएका समस्या, अप्ठ्यारोबारे जानकारी आउँछ, जानकारी पाएलगत्तै नगर प्रहरी त्यहाँ पुगेर समस्या समाधान गर्छ  ।’ 

सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकता राखेर काम गरेको बताए । बजेटको उच्चतम तवरले सदुपयोग गर्ने बताउँदै नागरिकका आवश्यकतालाई प्राथमिकिकरण गरेर काम गरेको प्रष्ट पारे । कार्यक्रममा प्रदेश सांसद, राजनीतिक दलका प्रतिनिधिले मन्तव्य राखेका थिए । यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप