बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन् काठमाडौं उपत्यकाका सस्तो जग्गा

बुधबार, २१ साउन २०८२, १० : ३६
बुधबार, २१ साउन २०८२

सारांश

  • काठमाडौं उपत्यकामा पिच बाटोको पहुँच भएका स्थानहरूमा पनि सरकारी मूल्यांकन कम रहेको पाइएको छ।
  • ललितपुरको इकुडोल क्षेत्रमा जग्गाको मूल्यांकन सबैभन्दा सस्तो, प्रतिरोपनी ४ लाख २० हजार रुपैयाँ मात्रै छ।
  • भक्तपुर र काठमाडौंमा पनि पिच सडकको जग्गा मूल्यांकन फरक-फरक पाइएको छ, र मूल्यांकन स्थानीय तहले गर्छन्।

काठमाडौँ । सरकारी न्युनतम मूल्यांकनअनुसार काठमाडौं उपत्यकाभित्र पक्की अर्थात् पिच बाटोको पहुँच भएका स्थानहरूमा पनि न्यूनतम सरकारी मूल्यांकन प्रतिआना १ लाख रुपैयाँभन्दा कम रहेको पाइएको छ ।

 दक्षिणी भेगमा पर्ने ललितपुरको बाग्मती गाउँपालिकाको इकुडोल क्षेत्रमा पिच सडकसँग जोडिएको जग्गाको मूल्यांकन प्रतिरोपनी ४ लाख २० हजार रुपैयाँ मात्रै छ, जुन पिच बाटो भएका स्थानहरूमध्ये सबैभन्दा सस्तो हो । जुन आनामा हिसाब गर्दा लाखभन्दा कम हुन आउँछ । यसैगरी आश्राङमा यस्तो मूल्य प्रतिरोपनी ४ लाख ४० हजार रुपैयाँ तोकिएको छ । यस्तै, कोन्ज्योसोम गाउँपालिकाको नल्लुमा प्रतिरोपनी ५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

यसैगरी काठमाडौं जितपुरफेदीका केही ग्रामीण पिच सडकहरूको मूल्यांकन पनि निकै कम छ । साङ्ला क्षेत्रका केही पिच सडकमा जग्गाको न्यूनतम मूल्यांकन प्रतिआना ३ लाख ६३ हजार रुपैयाँ देखि ४ लाख ४० हजार रुपैयाँसम्म मात्रै तोकिएको छ ।

भक्तपुरमा पनि यस्तै अवस्था छ । चाँगुनारायण नगरपालिकाको क्षेत्रमा पिच बाटोको मूल्यांकन प्रतिरोपनी ५ लाख ८० हजार रुपैयाँ छ । यस्तै, भक्तपुरको गुन्डु क्षेत्रमा पिच बाटोको मूल्यांकन प्रतिरोपनी ४ लाख ७० हजार रुपैयाँ देखि सुरु हुन्छ ।

ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत डुकुछाप र छम्पीमा पिच मोटर बाटोसँग जोडिएको जग्गा भने प्रतिआना क्रमशः ६ लाख र ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । सोही नगरपालिकाको लेलेमा पनि पिच सडकको मूल्य प्रतिआना ७ लाख रुपैयाँ छ । ललितपुरकै महालक्ष्मी नगरपालिकाको लामाटारमा पिच सडकको मूल्य प्रतिआना ७ लाख ८० हजार रुपैयाँ रहेको छ भने लुभुको मूल पिच सडकमा प्रतिआना ९ लाख रुपैयाँ कायम गरिएको छ ।

काठमाडौंको झोर महांकाल क्षेत्रमा पिच सडकसँग जोडिएको जग्गाको मूल्यांकन प्रतिआना ५ लाख ३२ हजार छ । यस्तै, साङ्ला (तारकेश्वर) क्षेत्रका केही पिच सडकहरूको मूल्यांकन प्रतिआना ६ लाख १६ हजार रुपैयाँ रहेको छ । धर्मस्थली र जितपुरफेदीका अलि विकसित क्षेत्रमा पिच बाटो भएका जग्गाहरूको मूल्यांकन प्रतिआना ७ देखि ८ लाख रुपैयाँसम्म तोकिएको छ ।

भक्तपुरको सिपाडोलमा पिच बाटो भएका जग्गाको मूल्यांकन प्रतिआना ७ लाख ६५ हजार रुपैयाँ छ । दुवाकोट र झौखेलमा पनि पिच बाटोको मूल्य प्रतिआना ७ देखि ९ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । मध्यपुर थिमि नगरपालिकाको निलबाराही र बालकुमारी क्षेत्रका भित्री पिच सडकहरूको मूल्यांकन प्रतिआना १० लाख रुपैयाँ हाराहारीमा छ ।
अहिले जग्गाको सरकारी मूल्यांकन जिल्ला प्रशासन कार्यालय र  स्थानीय तहले दुई तरिकाले गर्ने गरेका छन् । 
मालपोत नियमावली २०३६ ले घरजग्गा कारोबारको रजिष्ट्रेसन लिखतमा हुने थैली अंक कायम गर्ने प्रयोजनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला समन्वय समितिका सभापति वा सदस्य, नापी जिल्ला कार्यालयका प्रमुख, कर कार्यालयका प्रमुख तथा मालपोत कार्यालयका प्रमुख रहेको सदस्यसहितको न्यूनतम मूल्य निर्धारण समितिको व्यवस्था गरेको छ । उक्त समितिको निर्णय अनुसार चालु आर्थिक वर्षका लागि घरजग्गाको मूल्यमा निर्धारण गरिएको छ । 
त्यस्तै, सम्पत्ति कर उठाउने प्रयोजनको लागि स्थानीय तहले जग्गाको न्यूनतम मूल्यांकन गर्ने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप