सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

मिसन ८४ होइन मिसन टुडे

मङ्गलबार, ०३ भदौ २०८२, १० : ३८
मङ्गलबार, ०३ भदौ २०८२

नेपालको राजनीतिक धरातलमा आजकल चर्चित नारा बनेको छ, ‘मिसन ८४’ । यसलाई दलहरूले उत्साहपूर्वक प्रचार गरिरहेका छन् । यो नारा सुन्दा आकर्षक लागे पनि जनताको जीवनसँग जोडिएका तात्कालिक समस्यालाई बेवास्ता गर्दै भविष्यको चुनावी लक्ष्यलाई मात्र अगाडि सारिएको देखिन्छ । बेरोजगारी, महँगी, स्वास्थ्य, शिक्षा, कृषि उत्पादन, उद्योग स्थापना, निर्यात वृद्धि, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना जस्ता गम्भीर मुद्दा जनताका दैनिक जीवनका यथार्थ पीडा हुन् तर यी प्रश्नलाई किनारामा राखी आजैदेखि ‘मिसन ८४’ भजाउनु बेमौसमी बाजा बजाउनुबाहेक अरू केही होइन । राजनीतिक नेताहरूको सार्वजनिक भाषणमा सधैँ एउटै कुरा दोहोरिन्छ, ‘हामी दिनरात देश विकास र समृद्धिका लागि लागिरहेका छौँ ।’ तर व्यवहारमा नतिजा देखिँदैन । संसद्मा पुगेका सबै सांसदको प्राथमिकता साँच्चै देश विकास नै हो भने किन राष्ट्रिय एजेन्डामा सरकार र प्रतिपक्षबिच सहमति बन्न सक्दैन ? किन साझा दृष्टिकोण निर्माण गर्न सकिँदैन ? सबै दलहरू जनताको हित र देशको समृद्धिमा कटिबद्ध छन् भने किन तिनका नीति–कार्यक्रममा ठोस परिणाम आउन सक्दैन ?

‘मिसन ८४’ भन्दै आजैदेखि उफ्रनुको सट्टा एउटा यथार्थ प्रश्न उठ्छ, के २०८४ साल नै देश निर्माणको स्वर्णिम अवसर हो ? के कुनै ज्योतिषीले ०८४ सालमै मात्र काम गर्न साइत दिएको छ ? त्यसअघि सुरु गरिने सुधारात्मक र विकासका कार्यलाई किन रोक्ने ? अहिले नै जनताले मागेका सुधारको काम किन नगर्ने ?

हिजोआज स्थापना भएका नयाँ दलहरूले ‘मिसन ०८४’ भन्ने छुट पाउलान् तर ५० वर्षदेखि राजनीति गरिरहेका पुराना पार्टी र उही अनुहारहरूले अहिले आएर मात्रै ०८४ मा गर्छौं भन्ने बहाना बनाउनु जनतालाई फेरि धोका दिने प्रयास हो । २०७४ सालमा नेपाली जनताले तत्कालीन नेकपालाई बहुमत दिए । त्यसबेला काम गर्ने अनुकूल परिस्थिति थियो, जनताले साथ दिएका थिए तर परिणाम के आयो ? उही बहानाबाजी, आन्तरिक खिचातानी, व्यक्तिगत स्वार्थको खेल र देशमा अस्थिरता । आज फेरि त्यही पुराना अनुहारले ०८४ मा काम गर्छौं, हामीलाई बहुमत दिनुहोस् भन्ने कुरा गर्दा नागरिकलाई सुनिरहन नसकिने अवस्था बनेको छ । आजको कामको मूल्याङ्कनले नै २०८४ मा पार्टीको भविष्य निर्धारण हुने हो भन्ने कुराको हेक्का राख्न जरुरी छ ।

नेपालको वर्तमान निर्वाचन प्रणाली अनुसार कुनै पार्टीलाई स्पष्ट बहुमत ल्याउन गाह्रो छ । यसको अर्थ विकास रोक्नु होइन, अझै बढी मिलेर काम गर्नु हो । आजैदेखि दलहरूले साझा राष्ट्रिय मुद्दामा सहमति खोज्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्योग र सुशासनजस्ता विषयमा सहकार्य गरेर ठोस कार्यक्रम अघि बढाउनुपर्छ । यही हो, जनताको अपेक्षा, यही हो लोकतन्त्रको सार ।

‘मिसन ८४’ भनिरहनुभन्दा आजैबाट वास्तविक काम सुरु गर्न सकिन्छ । भ्रष्टाचार नियन्त्रणका लागि कानुनलाई कडाइका साथ लागु गर्न सकिन्छ । युवालाई रोजगारी सिर्जना गर्ने नीतिगत व्यवस्था गर्न सकिन्छ । कृषि र उद्योगमा लगानी बढाएर आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्न सकिन्छ । शिक्षा प्रणालीलाई व्यावहारिक र रोजगारमुखी बनाउन सकिन्छ । स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउन सकिन्छ । यी सबै काम अहिले नै गर्न सकिने हुन्, चुनावी मिति कुर्नुपर्ने होइन ।

हिजोआज स्थापना भएका नयाँ दलहरूले ‘मिसन ०८४’ भन्ने छुट पाउलान् तर ५० वर्षदेखि राजनीति गरिरहेका पुराना पार्टी र उही अनुहारहरूले अहिले आएर मात्रै ०८४ मा गर्छौं भन्ने बहाना बनाउनु जनतालाई फेरि धोका दिने प्रयास हो ।

अब नेतृत्वले बुझ्न जरुरी छ— जनताले नारा होइन परिणाम खोजिरहेका छन्, जनताले सुन्दर भाषण होइन जीवनमा देखिने परिवर्तन चाहिरहेका छन् । २०८४ सालको निर्वाचन आउन अझै दुई वर्ष बाँकी छ । यसबिचमा नागरिकले बेरोजगारीको पीडा भोगिरहेका छन्, महँगीको भार थेगिरहेका छन्, स्वास्थ्य सेवामा अभाव देखिरहेका छन् । के यी सबै समस्याको समाधान चुनावी वर्ष पर्खेर मात्र गर्न सकिन्छ त ?

वास्तवमा ‘मिसन ८४’ भन्ने कुरा काम नगर्ने, जिम्मेवारी टार्ने र भोलिको नाममा आजलाई बेवास्ता गर्ने अर्को बहाना मात्र हो । जनताले भोगेका समस्यालाई भोलि भन्ने नाममा टार्न खोज्नु भनेको जिम्मेवारीबाट पन्छिनु हो । काम गर्ने इच्छाशक्ति र देशप्रतिको प्रतिबद्धता भएको नेतृत्वले कहिल्यै मिति हेर्दैन, साइत कुर्दैन । उसका लागि काम सुरु गर्ने समय सधैँ आजै हुन्छ ।

नेपालको राजनीतिक नेतृत्वले अब एकपटक गम्भीर आत्ममूल्याङ्कन गर्नुपर्छ । विगतमा जनताले दिएको विश्वासलाई दुरुपयोग गरेको इतिहास दोहोरिन नदिने सङ्कल्प लिनुपर्छ । जनताले दिक्क मानेका छन्, उनीहरूले बारम्बार एउटै वाचा र नारा सुन्न चाहँदैनन् । उनीहरूले देख्न चाहन्छन्— सडकमा सुधार, शिक्षा र स्वास्थ्यमा गुणस्तर, रोजगारीका अवसर, उत्पादनमा वृद्धि, सुशासन र इमानदारी ।

त्यसैले ‘मिसन ८४’ भन्ने बेमौसमी बाजा बजाउने समय छैन । अहिलेको आवश्यकता छ— ‘मिसन आज’ । काम गर्ने उत्तम समय भोलि होइन आजै हो भन्ने शिक्षालाई नेपाली राजनीतिमा व्यवहारमा उतार्न जरुरी छ । नेतृत्वले यही पाठ आत्मसात् गर्न सके मात्र जनताको विश्वास जित्न सकिन्छ । दलहरूले वास्तवमै २०८४ को चुनावमा जनताको समर्थन पाउन चाहन्छन् भने नारा होइन काम देखाउनुपर्छ । जनताको जीवनमा देखिने सकारात्मक परिवर्तन नै सबैभन्दा ठुलो अभियान हो । त्यसैले अब सन्देश स्पष्ट छ— मिसन ८४ होइन, काम आजै सुरु गरौँ ।

अब राजनीतिक दलहरूले बुझ्नुपर्छ, जनताले देशले जितेको हेर्न चाहेका छन् । देशले जितेको दिन नै सबैको जित हुनेछ । व्यक्तिगत स्वार्थ वा पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई जिताउने सङ्कल्प लिनुपर्छ । जब देशले जित्छ, त्यही दिन तपाईंले पनि जित्नुहुन्छ, जनता पनि जित्छन् । जनताको जितभन्दा माथि कसैको जित छैन भन्ने गहिरो सत्यलाई आत्मसात् गर्ने बेला आएको छ । नेपाललाई जिताउनुहोस्, जनतालाई जिताउनुहोस्, किनकि देशले जितेको दिन नै साँचो विजयको दिन हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर भट्टराई
शंकर भट्टराई
लेखकबाट थप