बग्रेल्ती तिज गीत : हरायो मौलिकपन, भित्रियो विकृति
सारांश
- यस वर्षको तिजमा विभिन्न नयाँ गीतहरू सार्वजनिक भएका छन्, तर कतिपयमा विकृति बढेको गुनासो छ।
- कतिपय कलाकारहरूले तिज गीतलाई व्यावसायिक अवसरको रूपमा लिने गरेको पाइन्छ, जसले गर्दा विकृति बढेको छ।
- विज्ञहरूले तिज गीतको मौलिकता जोगाउन र विकृतिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्।
काठमाडौंँ । यतिवेला सांगीतिक क्षेत्रमा गायिका विष्णु माझीको ‘म त नराउरी,’ एलिना चौहानको ‘छोरीको शिरमा आमा’ र ‘पृथ्वी छाडेर,’ सर्जक कस्तुप पन्तको ‘सबैको हाई हाई बन्न सकिन्न’ सर्वाधिक चर्चामा छन् । यी सबै गीत नजिकिँदै गरेको तिजलाई लक्षित गरेर बजारमा ल्याइएका हुन् । फरक यत्ति हो, कुनै भर्खर आएका छन् भने केही एक महिनाअघि ।
यसैपालिको तिजका लागि प्रकाश सपुतको शब्द र संगीतमा समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको ‘नाइँ भनेसी नाइँ,’ पशुपति शर्मा र टीका पुनले गाएको ‘लाइटै बालेर हेर मायाले,’ राधिका हमालको ‘पाउ जोडा,’ मेलिना राईको ‘यो तिजैको महिना,’ सुनिता दुलालको ‘चालिसे चुरा,’ लक्ष्मी न्यौपानेको ‘म त मसक्कै,’ ज्योति मगरको ‘लठ्ठै पर्यो तन्नेरी मलाई हेरीहेरी,’ खुमन अधिकारी र देवी घर्तीको ‘यस्ता छन् तिजका भाकाहरू,’ अस्मिता डल्लाकोटी र शान्तिश्री परियारको ‘माइती देशमा,’ चाँदनी शाक्यको ‘तिज आयो,’ सुस्मा महराको ‘आयो तिज,’ माण्डवी त्रिपाठीको ‘उडायो रिबन,’ रेखा शाहको ‘मलाई क्या माया’ लगायत बग्रेल्ती तिज गीत युट्युबबाट सार्वजनिक भइसकेका छन् ।
हरेक वर्षको तिजमा यस्ता गीत निकाल्ने लहरै चल्छ । तिज आउनु केही महिना अघिदेखि नै यस्ता गीतहरू सार्वजनिक हुन्छन् ।
कतिपय कलाकार त अन्य काम थाँती राख्दै तिज गीतमा होमिन्छन् । घरदेखि माइती, प्रेमी–प्रेमिका, साथी–साथीका कुरादेखि दिदी–भाइ, मामा–भान्जीसम्म अनेक प्रसंग गीतका विषय बन्छन् । जसले केही अगाडिदेखि नै तिजमय माहोलको छनक दिन्छ । कतिपय गीतमा श्रीमान् श्रीमतीका कथा त केहीमा महिला अधिकार र मुक्तिका सशक्त आवाजसमेत देख्न सकिन्छ । उत्कृष्ट शब्द, मनछुने भाकामा सुरिलो स्वरको शृङ्गारले भरिएका कति गीतले श्रोतालाई मोहितसमेत तुल्याइरहेका छन् ।

बर्सेनि चार सय हाराहारीमा उत्पादन हुने यी गीतहरू किन बन्छन् ? के यिनीहरू साँच्चै संस्कृतिको जगेर्ना गर्न बनिरहेका छन् वा बजारको दौडमा आफूलाई स्थापित गर्न ? प्रश्न अनेक उठ्न सक्छन् ।
लोकगायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर तिज गीतको मौलिक उद्देश्य चेलीबेटीहरूले वर्षभरि भोगेका दुःख, कष्ट र वेदनालाई आफ्नो माइतीघरसम्म पुर्याउने माध्यम भएको बताउँछिन् ।
‘तिज पर्व हाम्रो संस्कृति हो । यसको सुरुवात छोरीहरूले वर्षमा एक दिन माइत गएर आमासँग वेदना पोख्ने, आफूले झेलेका दुःखहरू गीतमार्फत पोख्ने माध्यमको रूपमा भएको थियो । त्यसैले पहिला–पहिला गीतहरू मौलिक र पीडा लुकेका हुन्थे,’ उनी भन्छिन्, ‘बिहे गरेर टाढा गएका चेलीहरूले मनको कुण्ठा पोखेर हल्का हुने अवसर नै यही थियो । तर, अहिले त्यो रहेन ।’ अहिले तिज भड्किलो र विकृत हुँदै गएको बताउने उनी हाम्रो संस्कृतिमाथि नै प्रहार भइरहेको सुनाउँछिन् ।

‘तिज गीत–संगीत हाम्रो संस्कृति, पर्व बचाउन पनि बनाउनुपर्छ,’ उनी थप्छिन्, ‘तर अहिलेका कतिपय गीतहरू सुन्दा त यो संस्कृति नै नष्ट गर्न कुनै तत्त्व लागेको हो कि जस्तो समेत लाग्छ ।’
रीताको भन्दा फरक धारणा छ गायिका राधिका हमालको । आजको समयमा तिज गीत बन्नुको पछाडि व्यावसायिक र चर्चाको पाटो प्रमुख रहेको ठान्छिन् उनी । उनका अनुसार छोटो समयमा चर्चा कमाउने होडबाजीले जसले पनि र जे पायो त्यही गीत बनिरहेको हो ।
‘अहिले गायक–गायिकाको संख्या धेरै छ, सबैलाई चर्चामा आउनु छ,’ हमालले भनिन्, ‘बग्रेल्ती तिज गीत आउनुको कारण छोटो समयमा क्लिक हुने होडबाजी हो ।’ गीतको उद्देश्य संस्कृति बचाउने भनिए पनि गीतहरू धेरै हुँदा विकृति बढेको हमालको धारणा छ । भन्छिन्, ‘संस्कृति नभएर विकृति जस्तो भइरहेको छ । बरु थोरै तर राम्रो गीत बनाए हुन्थ्यो ।’ बग्रेल्ती तिज गीत–संगीतले अहिलेको अवस्थामा अनावश्यक विवाद मात्रै बढाउने हमालको धारणा रहेको छ ।

हमालका अनुसार पुराना गायक–गायिकाले गायनमा निरन्तरताका लागि र नयाँ गायक–गायिकाले गायनमा प्रवेशका लागि पनि गीत निकाल्ने गरेका छन् । कतिपय मिडियामा छाउन पनि गीत निकाल्ने गरेको उनले पाएकी छन् ।
- गीत पहिले र अहिले
तिज नेपाली महिलाहरूका लागि सांस्कृतिक र सामाजिक महत्त्व बोकेको एक विशेष पर्व हो, जसको आत्मा यसका गीतहरूमा निहित छ । तर, बदलिँदो समयसँगै तिज गीतका भाव, लय, शब्द र प्रस्तुतिमा फरकपन आएको छ । पहिलेका मौलिक गीतदेखि आजका भड्किला गीतसम्मको यात्राले नेपाली समाजको परिवर्तनलाई पनि प्रतिबिम्बित गर्छ ।
परम्परागत तिज गीतहरू महिलाका लागि वर्षभरिका दुःख, पीडा र कुण्ठा पोख्ने एक सशक्त माध्यम थिए । यी गीतहरूमा मौलिकता र यथार्थको गहिरो छाप हुन्थ्यो । गीतमा सासू–नन्दको व्यवहार, श्रीमान्को मायाको अभाव, माइतीको सम्झना, एक्लोपन र घरायसी कामको बोझ लगायतका महिलाका भोगाइ र उनीहरूको मौन चित्कार अभिव्यक्त हुन्थे । तर, आजका गीतहरूमा भड्किलो प्रस्तुति र व्यावसायिकता हाबी भएको छ । पीडा र वेदनाको ठाउँ प्रेम, फेसन, टिकटक, सामाजिक सञ्जालदेखि गरगहना जस्ता विषयहरू हाबी छन् ।

पुराना गायक तथा संगीतकार पुरुषोत्तम न्यौपाने तिज गीतलाई तीन कोणबाट विश्लेषण गर्छन् । पहिलो, धार्मिक हिसाबले, जहाँ पार्वतीले महादेव पति पाउन गरेको व्रतको महत्त्व झल्काउने ‘भगवान्लाई भेट्न के–के पाहुर चाहिन्छ ?’ जस्ता भजन शैलीका गीत हुन्थे ।
दोस्रो, चेलीहरूले भोगेका सामाजिक दुःख र वेदना, जहाँ छोरीलाई पढाउनु हुन्न भन्ने सोच विरुद्ध ‘मभन्दा सानो भाइलाई कापी–कलम किन्दिने, म दुःखी छोरीलाई डोको बुन्दिने’ भनेर मनको बह पोखिन्थ्यो । तेस्रो, खोलामा पुल नहुँदा माइत जान नपाएका पीडामा ‘लौ न तारिदेऊ न माझी दाइ’ जस्ता मार्मिक गीत बन्थे । न्यौपाने तिज चेलीहरूका लागि गीत मार्फत वर्षभरिका दुःख बिसाएर मन हल्का बनाउने पर्वसमेत भएको धारणा राख्छन् । तर अहिले अवस्था फेरिएको उनी बताउँछन् ।
‘नेपालीहरू विदेशमा धेरै भए, उनीहरूले झल्को मेट्न चाड मनाउन थालेपछि तिज दसैँभन्दा पनि ठुलो भयो । यही मौकामा विदेश जाने र दुई पैसा कमाउने होडमा मान्छेले तिजको मर्मविपरीत उफ्रिने खालका गीत बनाउन थाले,’ न्यौपाने थप्छन्, ‘अहिलेका गीतहरू रातो सारी नलगाउने हो भने ‘तिज हो कि रत्यौली हो’ छुट्याउनै गाह्रो पर्छ । चेलीबेटीका कथा, वेदना र धार्मिक भाव समेटिएका गीत आउनै छोडे ।’ हरिदेवी कोइराला, सिन्धु मल्ल, देवी घर्ती, विष्णु माझी जस्ता कलाकारले मौलिकता नबिराएको धारणा राख्ने न्यौपाने चल्ने नाममा जे पायो त्यही गर्नेहरूको भिड बढेकोमा दुःख व्यक्त गर्छन् ।
न्यौपानेको विचारसँग गायिका देवी घर्ती समर्थन गर्छिन् । उनी अहिलेका धेरै गीतहरूलाई ‘तिज गीत’ भन्नै नमिल्ने धारणा राख्छिन् । तिज गीतभन्दा पनि तिजको अवसर पारेर, तिजको नाममा निकालिने गीत भन्नुपर्ने उनको धारणा छ ।

‘महिलाका पुराना मर्महरू शताब्दी–शताब्दीसम्म रहिरहन्छन् भन्ने त हुँदैन, समयअनुसार परिमार्जन हुनुपर्छ । तर कम्तीमा चाडपर्वसँग मिल्ने खाले गीतहरू आउनुपर्ने हो,’ उनी भन्छिन्, ‘अहिले तिज विशेषभन्दा पनि तिजको वेला पारेर अन्य गीत सार्वजनिक गर्ने चलन छ ।’ अहिले तिजको नाममा विशुद्ध व्यावसायिक गीतहरू ल्याउने र आफ्नो व्यवसाय गर्ने चलन बढेको उनी सुनाउँछिन् ।
- विकृति के–कस्ता?
पछिल्ला वर्षहरूमा तिज गीत मौलिकता गुमाउँदै छाडा र भड्किला बन्न थाले । पारिवारिक र सामाजिक मर्यादाविपरीतका अश्लील शब्दहरू प्रयोग भएको गुनासोसमेत बढ्दो छ । विकृति भित्रिएको भन्दै चर्को आलोचना हुन थालेको छ । लोक तथा दोहोरीगीत प्रतिष्ठान र लोकसञ्चारकर्मी नेपाललगायत केही संस्थाले यस्ता गीत–संगीतको नियन्त्रणका लागि राज्यका विभिन्न निकायमा उजुरीसमेत दिएका छन् ।
तिज गीतमा महिलाका वेदनाका कुराहरू लगभग हराइसकेको अवस्था छ । अर्थहीन वा द्विअर्थी शब्द प्राथमिकतामा पर्न थालेका छन्, जुन सामाजिक सञ्जालमा ‘भाइरल’ हुन केन्द्रित देखिन्छन् । गीतको उद्देश्य परम्परा धान्नेभन्दा पनि युट्युबमा करोडौँ भ्युज कमाउने, टिकटकमा ट्रेन्डिङ हुने देखिन्छ । उदाहरणका रूपमा ‘पिठ्युँमा कनाइदेऊ बाइ,’ ‘यसपालिको तिज नो व्रत प्लिज,’ ‘पोइल जान पाम,’ ‘बिच्च–बिच्चमा ३,’ ‘मसँग गन छ पड्काउन मन छ’ लाई लिन सकिन्छ ।
तिज गीत मूल प्रवृत्तिबाट विमुख भएको चिन्ता व्यक्त गर्छिन् गायिका रीता थापा मगर ।
‘अहिलेका तिज गीतमा विकृतिको पराकाष्ठा नाघेको छ । गीतहरूमा सुन्नै नसकिने अश्लील, छाडा र गाली–गलौजका शब्दहरू प्रयोग भइरहेका छन् । भिडियोहरू पनि त्यस्तै संस्कृति बिगार्ने खालका छन्,’ थापा मगर थप्छिन्, ‘म त्यस्ता गीतको नाम लिन चाहन्नँ, किनभने नाम लिँदा उल्टै प्रचार हुन्छ र अर्को साल त्योभन्दा नराम्रो गीत बजारमा आउँछ ।’ तिज गीतको विकृति गम्भीर भएको कारण आफूहरूले साइबर ब्युरो र गृह मन्त्रालयसम्म पुगेर उजुरी दिएको उनी सुनाउँछिन् ।
‘गीतमा सेन्सर बोर्डको कुरा उठिरहेको छ । जुन हामी कलाकारका लागि अत्यन्तै दुःखद कुरा हो,’ थापा मगर थप्छिन्, ‘सेन्सर बोर्ड’को कुरा गर्दा पनि राजनीतीकरण हुने डर छ । त्यसैले, राज्यले नै यस्ता संस्कृति बिगार्ने गीतहरूलाई युट्युबजस्ता प्लेटफर्मबाट सीधै हटाइदिने आँट गर्नुपर्छ ।’ अहिले हाम्रो संस्कृति र संस्कारमाथि प्रहार हुँदा पनि खुलेर बोल्न नसक्ने अवस्था सिर्जना भएको उनी धारणा राख्छिन् ।

सर्जक शिव हमाल तिज गीतमा विकृति धेरै थरी रहेको बताउँछन् । ‘सबैभन्दा ठुलो विकृति त के भयो भने, हामीले एक–दुईवटा नराम्रा गीतलाई गाली गर्ने र विरोध गर्ने बहानामा बजारमा आएका बाँकी ४७०–८० वटा राम्रा गीतलाई सिध्याइदियौँ,’ उनी फरक धारणा राख्छन्, ‘यो वर्ष कुनै पनि कलाकारले लगानी उठाउन नसक्नु नै सबैभन्दा ठुलो विकृति र दुर्भाग्य हो ।’ नराम्रा गीतको प्रचार गर्नाले आम मानिसमा तिज गीतप्रति नै वितृष्णा पैदा भएको बताउने हमाल हामीले नराम्रोको प्रचार गर्नुको सट्टा उत्कृष्ट १० राम्रा गीतबारे लेखिदिने, बोलिदिने र प्रचार गर्ने हिम्मत गर्नुपर्ने धारणा राख्छन् ।
‘अर्को विकृति भनेको अस्वस्थ प्रतिस्पर्धा हो । तिज आउनु १५–२० दिन अगाडि नै सबै गीत एकैपटक बजारमा पठाएर हामी एक–आपसमा लडाउँछौँ । जब चाड सुरु हुन्छ, बजारमा गीत सकिइसकेको हुन्छ,’ उनी भन्दै थिए, ‘संस्थागत पहलले अर्को वर्षदेखि छाडा गीत त कम होलान्, तर राम्रा गीतहरू पनि सँगै सिद्धिने दुर्भाग्यबाट बचाउनु अहिलेको मुख्य चुनौती हो ।’ राम्रा गीतको संरक्षण गर्नुपर्ने वेलासमेत आएको उनी बताउँछन् ।
- तिज गायनमा पुरुष किन ?
तिज गीतमा पुरुषका स्वर दुई कोणबाट हेर्न सकिन्छ । पहिलो, तिज गीतहरू महिलाको भावना, पीडा र आवाज हुन् । परम्परागत रूपमा महिलाहरूले मात्रै गाउने यस्ता गीतमा पछिल्लो समय पुरुष स्वर बाक्लिँदो छ ।
यसले तिजको मौलिकतामाथि बहस सिर्जना गर्छ भने पर्वको मौलिक मर्ममाथि प्रहार गरेको कुरा उठिरहेको छ । तिज गीतको आत्मा भनेकै चेलीको वेदना हो, जुन पुरुष स्वरले गहिराइमा दिन सक्दैन भन्ने पनि छन् । गीत ‘रत्यौली’ बनेको आरोप पनि छ । कतिपयले पुरुष गायनलाई बदलिँदो समाजको सकारात्मक प्रतिबिम्ब मान्छन् । श्रीमान्ले श्रीमतीलाई माइत जान उत्प्रेरित गरेको वा महिला अधिकारको समर्थन गरेको जस्ता प्रगतिशील सन्देश पुरुष स्वरबाटै आउँदा गीत अझ प्रभावकारी हुने ठान्न थालेका छन् । महिला र पुरुषमा भेद गर्न नहुने आवाजहरू पनि उठिरहेका छन् ।
गायिका लक्ष्मी न्यौपाने तिजको पौराणिक र परम्परागत मर्मलाई केन्द्रमा राख्छिन् । उनका अनुसार तिज चेलीहरूले वर्षभरिका भोगाइ र व्यथाहरू माइतीमा आएर पोख्ने पर्व भएकाले यसमा महिला स्वरकै प्रधानता हुनुपर्छ ।

‘पौराणिक कुराहरू गर्दै जाने हो भने यो महिलाहरूको पर्व हो । दिदीबहिनीहरूले वर्षभरि भोगेका दुःख–पीडाहरू गीतको माध्यमबाट पोख्ने चलनअनुसार हेर्दा विशेषगरी महिला आवाज नै हुनुपर्छ,’ उनी विगतमा फर्किइन्, ‘हामीले बाल्यकालमा सुन्दा पनि महिला आवाजका मात्रै गीत सुन्थ्यौँ ।’ उनी समय अनुसारको परिवर्तनलाई नकार्दिनन्, तर त्यो परिवर्तन मौलिकताको जगमा हुनुपर्ने उनको तर्क छ ।
‘अहिले आधुनिक जमाना भन्दैमा पुरानै गीत हुनुपर्छ भन्ने त हुँदैन, तर मौलिकतालाई जोगाउँदै परिमार्जित हुनुपर्यो । विकृति–विसंगीत भित्रिनु भएन । यदि ‘हिन्दु नारीहरूको महान् पर्व’ भनिन्छ भने तिजका गीतहरूमा महिला आवाज हुँदा नै अझ राम्रो हुन्छ ।’ ‘एक हातले ताली बज्दैन’ भन्ने तर्क पनि आउने बताउने न्यौपाने, तिजको सन्दर्भमा महिलाको भावनालाई प्राथमिकता दिनु उचित हुने धारणा राख्छिन् ।
गायिका न्यौपानेको भन्दा फरक धारणा छ सर्जक शिव हमालको । तिजलाई महिलाको चाड मात्र नभई एउटा बृहत् ‘सांगीतिक पर्व’ को रूपमा पनि हेर्नुपर्ने उनी बताउँछन् ।
‘पछिल्लो समय तिजलाई एउटा सांगीतिक पर्वको रूपमा लिइएको छ । पुरुषले गाउँदै गर्दा त्यसको प्रसङ्ग र विषयवस्तु कस्तो छ भन्ने कुरा मुख्य हो,’ हमाल भन्छन्, ‘मामा र भान्जी, दिदी र भाइको सम्बन्धमा गीत बन्दा पुरुषले गाउन नहुने भन्ने हुँदैन । प्रेमी–प्रेमिका बनेर गाउँदा पनि एउटा परिधिभित्र रहेर गाइएका गीतहरू रुचाइएका छन् ।’
यति हुँदाहुँदै पनि हमाल महिलाका भावना महिलाले नै गाउँदा बढी प्रभावकारी हुने कुरामा सहमत छन् । उनी पुरुष स्रष्टाहरूलाई सिर्जनामा सकेसम्म महिलाको भावनालाई प्राथमिकता दिन आग्रह गर्छन् । ‘महिलाका भावहरू महिलाले गाइदिएको राम्रो हो,’ उनले थपे, ‘म त भन्छु, सक्नुहुन्छ भने दिदीबहिनीहरू आफैँ लेख्नुस्, गाउनुस्, किनकि तपाईंहरूको भावना हामी पुरुषले सिर्जना गर्दा खल्लो हुन सक्छ ।’
- चर्चाको दौडमा लाखौँ स्वाहा
तिज गीतको निर्माणमा बर्सेनि लगानी बढ्दो छ । एउटा गीतको भिडियो निर्माणमा यहाँ १५ लाखसम्म खर्च गर्न थालिसकेका छन् । तर, प्रतिफल भने अनिश्चित छ । रंगिन भिडियो, आकर्षक संगीत र भड्किलो प्रचारको पछाडि एउटा कठोर आर्थिक वास्तविकता लुकेको हुन्छ, त्यो हो लगानी डुबानको कहालीलाग्दो जोखिम । एकदिने पर्वका लागि हरेक वर्ष निस्कने ५०० भन्दा बढी गीतमध्ये ९० प्रतिशतको लगानी डुब्छ ।
पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहान तिज गीतको बजारलाई उच्च जोखिम र उच्च प्रतिफलको खेलको रूपमा हेर्छिन् । बजारमा गीतको बाढी आए पनि सबैको व्यावसायिक सम्भावना नहुने बताउने उनी सफल हुने गीतले भने कल्पना बाहिरको आम्दानी दिने बताउँछिन् ।
‘हरेक वर्ष तिजका लागि भनेर ५ सय हाराहारी गीत बन्छन् । सबैको बजार र व्यावसायिक सम्भावना छैन । गीत चल्यो भने एकदमै राम्रो आम्दानी हुन्छ । युट्युबले राम्रो पैसा दिन्छ, विभिन्न डिजिटल प्लेटफर्म, रोयल्टी लगायत अनेक छन् आम्दानीका बाटाहरू,’ उनी भन्छिन्, ‘तर, चलेन भने लगानी डुब्ने खतरा उत्तिकै हुन्छ ।’ चौहान तिज गीत सफल भयो भने प्रतिफल पनि छिटो आउने दाबी गर्छिन् ।
‘यो छोटो समयमा चल्ने विधा पनि हो । तिजको गीतले एक–दुई दिनमा नै वर्षभरि चल्ने गीतको जति भ्युज पाउन सक्छ । यो वर्ष मैले ल्याएको एक गीत २४ घन्टामा ४० लाखभन्दा बढीले हेरेका थिए,’ उनले थपिन् ।
एलिनाको विचारसँग सहमत जनाउँदै गायिका राधिका हमाल बजारमा आएका गीतहरूमध्ये मुस्किलले १० प्रतिशतले मात्र आफ्नो लगानी उठाउने कहालीलाग्दो तथ्याङ्क बताउँछिन् ।
‘अहिलेको जुन ‘बग्रेल्ती’ गीत छन् नि, त्यसमा १० प्रतिशतले लगानी उठाउलान् । अरू सबैको लगानी डुब्छ नै भनौँ,’ उनले भनिन्, ‘मेरो नाम आयो, म कलाकार बन्न पाएँ भनेर चित्त बुझाउन पनि गीत बन्छन् ।’
हमालका अनुसार गीत आफैँमा लगानीभन्दा पनि ‘विज्ञापन’ हो, जसले कलाकारलाई अन्य अवसरहरूको ढोका खोलिदिन्छ । ‘नयाँ गीत आएपछि छोटो समयमा ‘क्लिक’ भइन्छ, मिडियामा छाउन पाइन्छ । त्यही नयाँ गीतको कारणले देश–विदेशमा हुने सांगीतिक कार्यक्रमहरू पाइन्छ, जहाँबाट अन्य आम्दानी गर्न सकिन्छ,’ उनी अगाडि थप्छिन् ।
पुराना कलाकारका लागि गीत ल्याउनु निरन्तरता र बाध्यता जस्तै भएको उनी सुनाउँछिन् । यही कारण पनि उनले बर्सेनि तिज गीत ल्याउने गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण