बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
युएई

मेनपावरमार्फत युएई गएका सात नेपाली श्रमिकको उद्धार, सुरक्षित रूपमा नेपाल फर्काइए

शनिबार, ०७ भदौ २०८२, २२ : ५५
शनिबार, ०७ भदौ २०८२

सारांश

  • युएईमा अलपत्र परेका सात नेपाली श्रमिकलाई एनआरएनए यूएईले उद्धार गरी नेपाल फर्कायो।
  • म्यानपावरमार्फत युएई गएका उनीहरू सम्झौताअनुसार काम र सुविधा नपाएपछि समस्यामा परेका थिए।
  • एनआरएनए र अन्य सहयोगीहरूले श्रमिकको हवाई टिकटको व्यवस्था गरी उनीहरूलाई नेपाल पठाए।

काठमाडौँ। रोजगारीका लागि युएई पुगेका सात नेपाली श्रमिकलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूएईको पहलमा उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइएको छ। मेनपावरमार्फत युएई पुगेका उनीहरू सम्झौताअनुसार काम र सुविधा नपाएपछि सडकमा अलपत्र परेका थिए।

एनआरएनए यूएईका अध्यक्ष विकास शाही र उपाध्यक्ष तथा राहत उद्धार समिति संयोजक भीम मल्ल ठकुरीको समन्वयमा उद्धार प्रक्रिया अघि बढाइएको सङ्घका प्रवक्ता रुद्र थापाले जानकारी दिए।

उनका अनुसार संस्थाले चार जनाको हवाई टिकट उपलब्ध गराएको हो भने बाँकी तीन जनाको टिकट समाजसेवी सबिन तामाङको सहयोगमा जुटाइएको हो।

शनिबार बिहान एनआरएनए आईसीसी उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, उपाध्यक्ष भीम मल्ल ठकुरी र समाजसेवी सबिन तामाङको उपस्थितिमा पीडित श्रमिकलाई विमानस्थलसम्म पुर्‍याई सुरक्षित रूपमा नेपाल पठाइएको हो।

उद्धार गरिएका श्रमिकहरूमा कृष्णप्रसाद मराइज, लिला बहादुर तामाङ, अमन तामाङ, राजन बस्नेत, सबिन बिके, हेमबहादुर सुनार र राज बिके रहेका छन्।

रोजगारदाता कम्पनीबाट काम, तलब, साथै बस्ने र खाने व्यवस्था पनि नहुँदा उनीहरूलाई समस्या परेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप