सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

तिजको बदलिँदो स्वरूप : परम्परादेखि सामाजिक न्यायतिर

सोमबार, ०९ भदौ २०८२, १२ : ०६
सोमबार, ०९ भदौ २०८२
00:00 / NaN:NaN
Audio By AI

तिज नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यसको आधार हिन्दु धर्मशास्त्रमा भेटिन्छ । पौराणिक इतिहास अनुसार ‘हिन्दु परम्परामा देवी पार्वतीले भगवान् शिवलाई पाउन कठोर तपस्या र व्रत बसिन्’ भन्ने कथा सुनिन्छ । विशेष गरी यो प्रसङ्गसँग तिजको उत्पत्तिलाई जोडिन्छ । त्यही धार्मिक आस्थाका आधारमा महिलाले आफ्नो इच्छा, व्रत र प्रार्थनाको पर्वका रूपमा तिजलाई मनाउँदै आएका छन् । त्यसबेला महिलाले पतिको दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना गर्दै कठोर उपवास गर्ने परम्परा सुरु भएको मानिन्छ । प्रारम्भिक चरणमा तिजलाई पतिव्रता धर्मको प्रतीक मानिन्थ्यो, जसमा महिलाको भूमिका प्रायः पतिको दीर्घायु र सुख–मंगलसम्बन्धी प्रार्थनामा सीमित हुन्थ्यो ।

धार्मिक दृष्टिले मनुस्मृतिजस्ता शास्त्रले महिलालाई पति–सेवामा समर्पित र परिवारकै सीमामा बाँध्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । तिजलाई पनि त्यही अवधारणासँग गाँसिएको देखिन्छ । व्रत, उपवास र पूजाआजा महिलाको ‘कर्तव्य’ वा ‘धर्म’ मानिन्थ्यो । यसरी धर्मशास्त्रले महिलाको जीवनलाई सानो घेरामा बाँधेको हुँदा तिजले परम्परागत रूपमा समर्पण र सहनशीलताको पर्वको अर्थ बोकेको पाइन्छ । हिजोको तिज महिलाको बन्धन वा हतकडी थियो ।

तिज धर्म–संस्कृतिसँग जोडिएको भए पनि यसको व्यावहारिक अभ्यासमा समय–समयमा विकृति देखिएका छन् । पहिलेका गीतमा पतिपूजकता, सासू–बुहारीबिचका कटुता, मनोमालिन्य, महिलाको पीडा, महिलाहिंसा, घरेलु पीडा, अनमेल विवाह तथा दाइजोको समस्या पोख्ने चलन थियो । त्यसले महिलाको मौन पीडा अभिव्यक्त गर्ने अवसर दिएको भए पनि त्यो सकारात्मकता र रचनात्मकताभन्दा बढी दुःख र वेदनाको प्रतिविम्ब थियो ।

आज भने तिजका गीतले नयाँ बाटो समातेका छन्, नयाँ गोरेटो समेत कोरिरहेका छन् । सन्देशमूलक, रचनात्मक र चेतनामूलक गीतहरूले समाजका विकृति र विसङ्गतिप्रति तिखो प्रहार गर्छन् । आजका प्रगतिशील गीतहरूले बहुविवाह, बालविवाह, अनमेल विवाह, जातीय विभेद, छुवाछुत, उचनिच, पानी नचल्ने प्रथाजस्ता समस्यालाई प्रहार गर्छन् । त्यसरी नै लैङ्गिक असमानता, गरिबी, अशिक्षा, अज्ञानताजस्ता समस्यालाई प्रश्न गर्ने र सुधारको माग गर्ने गीतले तिजलाई सामाजिक सचेतना फैलाउने माध्यम बनाएका छन् ।

त्यस्तै अन्तरजातीय विवाह, महिला–पुरुष समानता, शिक्षा र सामाजिक न्यायको पक्षमा आवाज बुलन्द गर्छन् । आजको नयाँ पुस्ताले गाउने तिजका गीतका धुन सन्देशमूलक र चेतनामूलक छन् । आजका प्रगतिशील जनवादी तिजगीतले समाजमा नवीन चेतनाको दियो बाल्ने काम पनि गरेका छन् ।

नयाँ पुस्ताले तिजलाई केवल धार्मिक व्रत वा परम्परामा सीमित नगरी रचनात्मक, महिलामैत्री र समानतामूलक पर्वका रूपमा अङ्गीकार गर्न थालेका छन् । उनीहरूले तिजलाई शिक्षा, समानता, महिला अधिकार, सामाजिक न्याय र समावेशी समाज निर्माणतर्फको आवाज बनाएका छन् ।

 

तिज समाजलाई जोड्ने कडी पनि हो । यो पर्व आज दिदीबहिनीबिचको सम्बन्ध सुदृढ गर्ने अवसर बनेको छ । गाउँ, सहर वा प्रवासमा रहेका दिदीबहिनी र आफन्तबिच भेटघाट हुने, नयाँ सम्बन्ध गाँसिने, माया–प्रेम र आत्मीयता बलियो हुने अवसर तिजले दिन्छ । तिजमा महिलाले आफ्नो व्यस्त जीवनलाई केही समय थाती राखेर सामूहिक खुसी बाँड्ने अवसर पाउँछन् । यसरी तिज सामाजिक बन्धन र सहअस्तित्वलाई मजबुत बनाउने पर्व बनेको छ ।

तिज आज केवल धार्मिक व्रत नभई मनोरञ्जन र रमाइलोको पर्व पनि हो । तिजको दिन र त्यसअघिका केही दिन महिलाहरू वर्षभरिको तनावलाई केही समय बिसाएर वा बिर्सेर ‘दर’ खाने तथा नृत्य, गीत र समूहगत रमाइलोमा सहभागी हुन्छन् । रमाइलोका यी गतिविधिले महिला मात्र होइन, समाजमा सामूहिक खुसी र एकताको भावना जगाउने काम पनि गर्छन् ।

तिजलाई विशेष गरी दिदीबहिनीको मिलन पर्वका रूपमा पनि लिइन्छ । वर्षभरि आ–आफ्नो परिवार र दैनिकीमा व्यस्त महिलाले यो अवसरमा भेटघाट गर्छन् । आफ्ना खुसी, पीडा र अनुभव साटासाट गर्छन् । यसरी तिजले महिला–महिलाबिचको सम्बन्ध र ऐक्यबद्धतालाई थप गाढा बनाउँछ ।

तिजमा हुने फजुल खर्च, महँगो गहना, भव्य भोजभतेर, प्रदर्शनवादले नयाँ विकृति जन्माएको छ । विवाह, व्रतबन्ध, दशैँ–तिहारजस्तै पर्वमा हुने खर्च बिर्साउने प्रवृत्ति तिजमा पनि देखिन थालेको छ । यो प्रवृत्तिले तिजको मौलिकता ओझेलमा पार्ने खतरा बढाएको छ । तिजले महिलाको आवाजलाई उठाए पनि नयाँ विकृति थपेको छ । त्यसैले तिजलाई तडकभडक, खर्चिलो, भड्किलो बनाउने होइन, गरिबले पनि मनाउन सक्ने किफायती बनाउन जरुरी छ । रथका दुई पाङ्ग्राजस्तै महिला–पुरुषको समान सहभागिता, सम्मान र बराबरीको भावनासहित तिज मनाउनुपर्नेछ ।

आजको युगमा तिजलाई केवल पतिप्रति समर्पित धार्मिक व्रत नभई सामाजिक चेतना फैलाउने रचनात्मक पर्वका रूपमा रूपान्तरण गर्नुपर्छ । यसले महिलाको पीडा मात्रै नभई उनीहरूको शक्ति, क्षमता र सामाजिक नेतृत्वलाई पनि अभिव्यक्त गर्नुपर्छ ।

त्यसैले नयाँ पुस्ताले तिजलाई नयाँ तरिकाले मनाउँदै छ— गीत, नृत्य र सभा–सम्मेलनमार्फत सामाजिक विकृतिलाई प्रहार गर्दै चेतना फैलाउने, समानता र समावेशी समाज निर्माण गर्ने आकाङ्क्षासहित । यसरी तिज महिलामैत्री रचनात्मक पर्वका रूपमा स्थापित हुँदै गएको छ, जसले नयाँ युगमा नयाँ ऊर्जा, सकारात्मक परिवर्तन र सामाजिक रूपान्तरणको सन्देश दिन्छ ।

तिज केवल धार्मिक व्रत वा परम्परागत संस्कारमा सीमित पर्व होइन, यो महिलाको चेतना, रचनात्मकता र समानताको आवाज बन्न पुगेको छ । इतिहासमा पतिप्रति समर्पण र पीडाको अभिव्यक्तिका रूपमा अङ्कित यो पर्व आज महिला–पुरुषबिचको बराबरी, सामाजिक न्याय र सकारात्मक परिवर्तनको प्रतीक बन्दै गएको छ । त्यसरी नै यसलाई हिन्दु नारीहरूको पर्वको रूपमा जसरी परिभाषित गरिएको छ, यो धारणालाई पनि परिवर्तन गरी सम्पूर्ण जाति, भाषा, वर्ग, धर्म, समुदायका महिलाको साझा पर्वका रूपमा मनाउने प्रचलनलाई प्रोत्साहित गरिनुपर्छ ।

नयाँ पुस्ताले तिजलाई रमाइलो मात्र नभई सन्देशमूलक रचनात्मक पर्वका रूपमा मनाउन थालेका छन्, जसले समाजका विकृतिविरुद्ध प्रहार गर्छ र समानता, माया–प्रेम र आपसी सम्बन्धलाई बलियो बनाउँछ ।

निष्कर्ष

नयाँ पुस्ताले तिजलाई केवल धार्मिक व्रत वा परम्परामा सीमित नगरी रचनात्मक, महिलामैत्री र समानतामूलक पर्वका रूपमा अङ्गीकार गर्न थालेका छन् । उनीहरूले तिजलाई शिक्षा, समानता, महिला अधिकार, सामाजिक न्याय र समावेशी समाज निर्माणतर्फको आवाज बनाएका छन् । आजको तिज भनेको केवल पतिप्रति समर्पण नभई महिला–पुरुषको समान सहभागिता, अधिकार र अवसरमा आधारित नयाँ युगको पर्व हो ।

तिज अब केवल परम्परागत धर्म–संस्कारमा सीमित छैन, यो सामाजिक चेतना, महिला सशक्तीकरण र रचनात्मक अभिव्यक्तिको पर्व बनेको छ । यसले महिलाको पीडा मात्र होइन, उनीहरूको शक्ति, नेतृत्व र क्षमतालाई पनि उजागर गर्न थालेको छ ।

यसैले तिजलाई महिला–पुरुष दुवैको बराबरी सहभागिता, आपसी सम्मान र समान अवसरका साथ मनाउन आवश्यक छ । नयाँ पुस्ताले गीत, नृत्य र सभा–सम्मेलनमार्फत सामाजिक विकृतिविरुद्ध प्रहार गर्दै समानता, समावेशी र समृद्ध समाज निर्माण गर्ने आकाङ्क्षासहित यसलाई नयाँ युगको महिलामैत्री रचनात्मक पर्वका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो ।

समयसँगै तिज केवल धार्मिक आस्था र पतिको पूजामा सीमित नभई समाजको ऐना र चेतनाको दियो बन्दै गएको छ । त्यसैले तिजलाई महिलामैत्री, रचनात्मक र चेतनामूलक पर्वका रूपमा रूपान्तरण गर्नु आजको युगको आवश्यकता हो, जसले नयाँ पुस्तालाई आशा, ऊर्जा र नयाँ समाज निर्माणको उज्यालो बाटो देखाउनेछ ।

(खड्का नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बोर्ड सदस्य र नेकपा (एमाले) निकट अनेरास्ववियु, केन्द्रीय सचिवालय सदस्य हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रतिमा खड्का
प्रतिमा खड्का
लेखकबाट थप