शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार : फरक दस्ताबेजको गृहकार्यमा विद्या पक्षधरदेखि वडाध्यक्षले देश छाडेसम्म

मङ्गलबार, १० भदौ २०८२, २३ : ५९
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • चुमनुब्री गाउँपालिकाका वडाध्यक्ष सरोज लामाले फेसबुकमार्फत राजनीतिबाट सन्यास लिई जर्मनी उडेका छन्।
  • त्रिभुवन विश्वविद्यालय र विद्यार्थी सङ्गठनबीच शुल्क घटाउने सहमति भएपछि अनेरास्ववियू (क्रान्तिकारी) को आन्दोलन स्थगित भयो।
  • सरकारले 'राष्ट्रिय स्वर्ण बिन्दु प्राशन' कार्यक्रम सुरु गरेपछि विवाद उत्पन्न भएको छ र यसलाई रोक्न माग गरिएको छ।

आज मिति २०८२ साल भदौ महिनाको १० गते मंगलबार । आजका मुख्य १२ घटनाक्रमसहित रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’ लिएर आएका छौँ–  

  • बिदेसिए जनप्रतिनिधि

सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिबाट सन्यासको घोषणा गर्दै गोरखाको चुमनुब्री गाउँपालिका ६ का वडाध्यक्ष सरोज लामा बिदेसिएका छन् ।
नेकपा माओवादीबाट निर्वाचित उनी जति काम गरे पनि राजनीतिमा कुनै जस नपाएको भन्दै जर्मनी उडेका हुन् ।

  • त्रिविमा सहमति

३४ दिनदेखि जारी अनेरास्ववियू (क्रान्तिकारी) त्रि.वि. जिल्ला समितिको आन्दोलन सहमतिमा टुङ्गिएको छ ।
त्रिभुवन विश्वविद्यालय र विद्यार्थी सङ्गठनबिच मंगलबार भएको वार्तापछि मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने निर्णय भएसँगै आन्दोलन स्थगित भएको हो।

  • नेपाल-भारत सीमा विवाद

सन् १९५० सुरुवाततिर नेपालको उत्तरी सीमामा भारतीय सीमा चौकी स्थापना गरिए । र, १९६० को दशकअन्त्यतिर ती चौकी हटाइए । तर कालापानीमा चौकी भने आज पनि यथावत् छ । ती सीमा चौकी किन, कहाँ र कसरी स्थापना गरिए ? ब्रिटिस सेनाका अवकाशप्राप्त जर्नेल स्याम कोवनले ‘द इन्डियन चेकपोस्ट्स, लिपुलेक, एन्ड कालापानी’ शीर्षकमा लामो लेख लेखेका छन् । महाराजाज, इम्पेररर्स, भायसरोयज, बोर्डर्सः नेपाल्स रिलेसन्स नर्थ एन्ड साउथमा संगृहीत उक्त लेखको सुरुवाती खण्डको अनुवाद :

  • विवादमा तानियो ‘स्वर्ण बिन्दु प्राशन’

सरकारले प्राचीन चिकित्सा पद्धतिलाई प्राथमिकता दिएर राष्ट्रिय कार्यक्रमको रूपमा सुरु गरेको ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम विवादमा तानिएको छ । कार्यक्रम सुरु गरेको एक साता नबित्दै स्वर्णभस्म/स्वर्णकल्प वितरण तत्काल रोक्न माग गरिएको छ ।

  • इम्बोस्ड नम्बर प्लेट

सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’ असोज १ गते देखि अनिवार्य गर्ने भनेसँगै सामाजिक सञ्जालमा समेत आलोचना बढेको छ । कमिसनको खेलमा सरकारले उपभोक्तालाई जबरर्जस्ती गर्न खोजेको भन्दै व्यापक विरोध भएको हो । सवारी लाइसेन्स दिएर बसेका लाखौँ नागरिकलाई समयमा लाइसेन्स दिन नसक्ने सरकारले पूर्वाधारविनै इम्बोस्ड अनिवार्य गर्ने निर्णय गरेसँगै सबैतिर विरोध हुन थालेको छ ।

भदौ ३ गते यातायात व्यवस्था विभागले एउटा सूचना जारी गर्‍यो । सूचनामा आगामी असोज १ गतेदेखि देशभरका सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गर्नुपर्ने जनाइएको थियो ।  

  • प्रधानमन्त्रीको अनिच्छा !

आफ्ना पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई फिर्ता बालाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाए पनि त्यसप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गर्न सकेका छैनन् । 

  • फरक दस्ताबेजको तयारीमा विद्या पक्षधर

एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद कायमै छ । एमालेले केन्द्रीय कमिटीले भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने भन्दै उनको सदस्यता नवीकरण नभएको बताउँदै आएको छ । तर, भण्डारी पक्षधर नेताहरूले उनलाई राजनीति गर्नबाट रोक्न नहुनेमा छन् ।

भण्डारीको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा स्थायी कमिटी सदस्य कर्ण थापा खुलिसकेका छन् भने भण्डारी पनि आफू पछि नहट्ने अडानमा छिन् । भण्डारीको पार्टी सदस्यता नरहने र सक्रिय राजनीति गर्न नपाउने यसअघिको निर्णय विधान महाधिवेशनबाट परिवर्तन गर्नुपर्ने पक्षमा उनी पक्षधर छन् । त्यसैका लागि उनीहरूले अध्यक्षको राजनीतिक प्रतिवेदनको काउन्टरमा अर्को प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् ।

  • तीजको रौनक

हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न बिहानैदेखि महिला श्रद्धालुहरूको भीड लागेको छ । यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको  दीर्घायु कामना गर्दै व्रत बस्छन्  । शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ।

  • राज्य व्यवस्था तथा सुशासन समिति

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्विरोध निर्वाचित भएकी छन् । समिति सभापतिमा उम्मेदवारी दिन सङ्घीय संसद् सचिवालयले तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि मंगलबार निर्विरोध निर्वाचित भएकी हुन् । 

  • बालेन र जवाफदेहिता

स्वतन्त्र उम्मेदवारको रूपमा अभूतपूर्व जनमतसहित राजधानीको मेयर बनेका बालेनको ‘चार्म’ र लोकप्रियता सामाजिक सञ्जालमा अझै उस्तै छ । उनी नेपालमा सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने राजनीतिक व्यक्तित्व हुन् । उनको एउटा स्टाटसले पैदा गर्ने तरंगले नै उनको ‘क्रेज’ कति छ भन्ने प्रमाणित गर्छ ।

  • विवादमा उपसभामुख

उपसभामुख इन्दिरा रानामगर जोडिएको संस्थाले बालमन्दिरबाट लगेको ५ जना बालबालिकाबारे प्रहरीलाई जवाफ पठाएको छ । रानामगर उपसभामुख बन्नुभन्दा पहिले नै २०७२ कार्तिकमा ‘पीए नेपाल’ नामको संस्थामा बालगृहले पठाएको बालबालिका नफर्केको घटना सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्यसबारे चासो राखेको थियो । 

  • इलाका प्रशासन कार्यालय

गृह मन्त्रालयले २३ स्थानमा इलाका प्रशासन कार्यालय थप गर्ने प्रक्रिया अघि बढाएको छ । सेवा प्रवाहलाई थप सहज र सरल बनाउनुका साथै सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न आवश्यक भएको  भन्दै मन्त्रालयले इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप