एमालेको भोलि : भण्डारी कि ओली
सत्ताको नेतृत्व गरिरहेको, लोकप्रिय मतमा पहिलो र संसदीय संख्याको आधारमा दोस्रो ठूलो दल हो नेकपा एमाले । यो दलको आगामी नेतृत्व कसले लिने भन्नेमा चर्को होडबाजी चलिरहेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारी एकाएक सक्रिय राजनीतिमा अवतरित भएपछि कार्यकर्ता तहसम्मै बहसमा स्पष्ट विभाजन र फरक बहावहरू निर्माण भएका छन् । पार्टीका उच्च तहका बैठकपछि आसन्न विधान महाधिवेशनमा समेत यो विषयको विवाद बल्झने देखिन्छ ।
उनले सक्रिय राजनीति गर्न मिल्ने वा नमिल्ने भन्ने बहसका बाबजुद संविधान तथा कानुनले स्पष्ट वर्जित गरेको अवस्था छैन । विश्वजगतमा समेत भ्लादिमिर पुटिन राष्ट्रपतिपछि प्रधानमन्त्री भएका छन् । संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पनि वाल्डहाइमले अस्ट्रियामा राष्ट्रपतिको जिम्मेवारी निभाएका थिए ।
भण्डारीले एमालेको नेतृत्व गर्ने चाहनासहित माउ पार्टीमा सक्रियता देखाउन खोज्दा नयाँ आशा/भरोसाका रोमाञ्चक क्षितिज केलाउनेहरू पनि बाक्लै छन् । बाँडिएका र भत्किएका कम्युनिस्टलाई एक बनाएर बलियो वामशक्ति निर्माणसँगै उत्तरी छिमेकको समेत सशक्त विश्वसनीय सहयात्री बन्ने पनि आशा गरिँदै छ ।
लेखक स्यामुएल पी हन्टिङ्टन कृत ‘वेभ्स अफ डेमोक्रेसी’ नामक पुस्तकले सन् १९७० आसपास १० वर्षकै हाराहारीमा संसारभर एकैचोटि लगभग तीन दर्जन बढी देशमा समाजवादी विचारका वामशक्तिको सशक्त उदय भएको देखाउँछ । चीनमा १९२१ र भियतनाममा १९३० आसपास स्थापना भएका कम्युनिस्ट पार्टीहरू हालसम्म एकाकार अनि सर्वशक्तिमान रूपमा छन् । उत्तरकोरिया महाशक्ति अमेरिकालाई चुनौती दिने सामर्थ्य राख्छ । नेपालमा प्रजातन्त्रको अद्भुत उदयको समय २००७ सालको आसपास पुष्पलालको अगुवाइमा कम्युनिस्ट पार्टीको निर्माण भयो, तर विराट विरासत बन्नु सट्टा कम्युनिस्टहरूमा उराठ लाग्ने दलदलको कमजोर धरातल मात्र बन्यो ।
परिणामस्वरूप आज मसाल, मार्सल, एकीकृत, विकेन्द्रित, क्यास, ड्यास, नेकपा, नेकपा डबल, बहुमत, एकीकृत समाजवादीजस्ता नाममा लगभग दुई दर्जन कम्युनिस्ट पार्टीहरू छन् । नेपालमा कम्युनिस्ट पार्टीहरू निश्चित मिसनभन्दा कुनै फेसनमा आधारित भएर खुलेका देखिन्छन् । संसारका केही कम्युनिस्ट शक्तिहरूको लोभलाग्दो कदबिच यहाँको अवस्था भने दयनीय छ ।
कम्युनिस्ट आन्दोलनलाई कुनै कालखण्डमा सशक्त नेतृत्व गरेका बाबुराम भट्टराई, वैद्य, विप्लव, सीपी मैनाली, मोहन विक्रमजस्ता नेताहरू दूरगामी गुमराहमा देखिन्छन् । चोइटिएर तितरबितर छन्, कम्युनिस्टको नाममा विभिन्न खालका कचहरीहरूमा केन्द्रित छन् ।
अरू देशहरूमा समाजवादी भनिने दल एउटै र प्रजातान्त्रिक दलहरू धेरै हुन्छन्, तर हामी अपवाद हौँ । देश, काल र परिस्थिति अनुसार बहुआयामिक सुधारको अवलम्बन गर्दै समाजवादी आकाङ्क्षाको अभ्यास गर्ने देशहरूबाट नयाँ विश्वसंरचना खडा हुँदै छ । चीन र रसियाको मजबुत नेतृत्वले समाजवादी शक्तिहरूलाई सशक्त देखाउँदै छ ।
अति उदारवादी पश्चिमा समाजहरू उष्ण मानवीय विचलन अनि उच्छृङ्खलताले थलिँदै छन्, आर्थिक हिसाबले पनि जर्जर हुँदै छन् । अर्कोतर्फ बलियो दलमा आधारित बलियो राज्यको अभ्यास समृद्धि र सफल राष्ट्र निर्माणको अचुक आधारशिला हुने तथ्य चीनले प्रमाणित गर्दै छ ।
उसैको मार्गचित्रमा भण्डारीको नेतृत्वमा सबल र एकल वामशक्ति निर्माणको आशा गरिएको हुन सक्ने भविष्यवाणी सुन्नलाई त कर्णप्रिय नै लाग्छन् । मदन भण्डारीले बहुदलीय प्रतिस्पर्धा स्विकार्दै जनवाद अभ्यासको सिद्धान्त (जबज)मार्फत नेपालमा कम्युनिस्ट राजनीतिको नयाँ मार्गचित्र निर्माण गरे । विश्व आकर्षण प्राप्त भयो, २०औँ शताब्दीको मार्क्स भनेर सम्बोधित भए ।
अहिले दलमाथिको नैराश्यता र वितृष्णा उच्च छ । सङ्गठित मतदाताभन्दा स्विङ मतदाताको संख्या चार गुणा बढी छ । यस्तोमा ‘मेरिटोक्रेटिक मेघालन्च’को राजनीतिक अभ्यासले मात्र दलको बलियो उपस्थितिलाई सघाउँछ । नभए देशको संसद् अस्थिरता र असमान असङ्गतिको उच्चतम नमुना बन्न सक्छ ।
विद्या भण्डारीले जबजको उन्नत र सुदृढ मार्गचित्रस्वरूप यस्तै केही नयाँ अध्याय एवं अभ्यास ल्याउने भए ठिकै होला, नत्र केवल नेतृत्व मात्र चाहनुले खासै परिवर्तन हुँदैन । राज्यसत्ता, पार्टीसत्ता, जनसत्ता र सडकसत्तामध्ये अघिल्ला दुईवटा कमजोर र अविश्वनीय बन्दै गएको अवस्थामा व्यक्ति गौण विषय हुन्छ ।
यद्यपि ओली अहिलेको राजनीतिका समकालीन शीर्ष पुस्तामा सबैभन्दा करिस्म्याटिक, स्वाध्ययनशील र तार्किक नेता हुन् । जर्ज बर्नार्ड शाले आफ्नो पुस्तक ‘एप्पल कार्ड’ मा भनेका छन्— नेता भनेको कि त उपल्लो तहको खुराफाती र चुगलीबाजी गर्न सक्ने कि त दमदार भाषण गर्न सक्ने हुनुपर्छ । ओली यी दुवै विषयमा उच्च क्षमता र अकाट्य प्रमाणिकता भएका नेता हुन् ।
सांसद अमरेश सिंहले एउटा टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘सरकारमा जहिले र जोसुकै भए पनि सत्तामा सधैँभरि ओली नै हुन्छन् । उनले त्यसरी मानिसहरू नियुक्त गराएका छन् ।’
अरू देशहरूमा समाजवादी भनिने दल एउटै र प्रजातान्त्रिक दलहरू धेरै हुन्छन्, तर हामी अपवाद हौँ । देश, काल र परिस्थिति अनुसार बहुआयामिक सुधारको अवलम्बन गर्दै समाजवादी आकाङ्क्षाको अभ्यास गर्ने देशहरूबाट नयाँ विश्वसंरचना खडा हुँदै छ ।
आफ्नो जीवनकालमा चौथोपटक प्रधानमन्त्री । बहुदलीय व्यवस्थाको पछिल्लो ३५ वर्षमा अलिक लामो समय कुर्सीमा विराजमान हुन पाएका दुईमध्ये एक नेता । राजनीतिका चतुर, अब्बल तर परिपक्व क्याप्टेन । उनीसँगको अनावश्यक टक्करकै कारण माधव नेपाल देश नेपालमा निरिह बने । झलनाथ, घनश्याम, वामदेव तथा भीम रावलहरू बिचरा भए ।
अविछिन्न अस्थिरता र जादुमयी नम्बरको प्रचण्ड हुँकारले भरिएर उड्दै गरेको एउटा बेहोसी तथा दिवालिया बेलुन प्याट्टै फुट्यो । बेलाबेलामा सर्जिकल स्ट्राइक गरेर राजनीतिक वृत्तलाई नै तरंगित पार्ने अद्भुत व्यक्ति हुन् ओली ।
राजतन्त्र फाल्ने हुटहुटीमा गणतन्त्रको लडाइँ लडे पनि आफूलाई चाहिँ राजनेता अनि ‘केपी बा’ भनेर गाइने महिमामण्डनले खासै तृप्त नभएका नेता पनि हुन् । सामाजिक सञ्जालमा उनका ६ लाख बढी अनुगामी छन् ।
देश इतिहासकै उच्च असहज परिस्थितिमा रहेका बेला दोस्रो संविधानसभाको दोस्रो प्रधानमन्त्रीका रूपमा संविधान निर्माणपछि उनले सत्तारोहण थाले । छिमेकी मात्र होइन, स्वदेशीकै समेत चर्को आलोचना, प्रायोजित असहयोग अनि कुटिल कटाक्ष खेपेरै पनि नेपालीको स्वाभिमानलाई उच्च राखे । देशको समुचित प्रगति अनि नागरिक अपेक्षित समृद्धिका योजना सुनाए ।
पूर्व–पश्चिम रेल, पाइपबाट तेलदेखि हावाबाट बिजुली, अनि पाइपबाट ग्यास तथा नेपालका नदीमा पानीजहाजसम्मको कल्पना गरे । उनी एक यस्ता भाग्यमानी प्रधानमन्त्री पनि हुन्, जो जतिपटक सत्तारोहण गरे, त्यति नै पटक नागरिक भावनालाई एकीकृत गर्न केही न केही संवेदनात्मक विषय उठाउन माहिर भए । पहिलोपटक नाकाबन्दीविरुद्ध स्वाभिमान, दोस्रोपटक चुच्चे नक्सा र अहिले संविधान संशोधन ।
ओलीका ती कल्पनाको तत्काल सम्भावना त थिएन होला तर पूरै असम्भव भने थिएनन् । विकास स्वतः हुने पक्ष होइन, कल्पना पनि गर्न सक्नुपर्छ ।
जिन बौद्रियारले ‘द सिमुलाक्रा एन्ड सिमुलेसन’ नामक कृतिमा कल्पनालाई सत्यताभन्दा पनि शक्तिशाली सम्झन्छन् । राइट ब्रदर्सले पनि पहिले कल्पना गरे अनि हवाई जहाज बनाए । अमेरिकाले पहिले चन्द्रमामा मानव अवतरण गर्ने कल्पना गर्यो र पछि निल आर्मस्ट्रङलाई त्यहाँ पठायो । कम्तीमा सपना नै नदेखे कसरी पूरा हुन्छ ?
यही भएर हुन सक्छ, नागरिकले निर्वाचनमार्फत पटक–पटक ओलीका सपनालाई अनुमोदन गर्दै र शक्तिमा सहजता जुटाइदिए । २०५१ मा मनमोहनको नेतृत्वमा बाहेक एमाले पहिलो भएको थिएन । लगभग हैसियत सकिएको पार्टीलाई उनले नेतृत्व सम्हालेपछि २०७४ मा पहिलो स्थान दिलाए ।
भयङ्कर विभाजनबिच २०७९ मा पार्टीको हैसियत खासै डगमगाउन दिएनन् । तसर्थ ओली एक निर्विकल्प, उच्च मनोबल निर्माण गराउने सशक्त नेता भए र अझै छन् । पार्टीसत्ताको आगामी नेतृत्वलाई लिएर बहस सतहमा आएका कारण सबैका आफ्ना सम्भावना, सोच र सत्प्रयास अवश्य होलान् ।
पार्टी कमजोर बन्नु भनेको लोकतान्त्रिक प्रणालीमा कहिल्यै राम्रो होइन । नेतृत्व जसले गरे पनि प्रजातान्त्रिक प्रक्रिया अझ सबल बनोस्, नागरिकका साथै देशले प्रगतिको पथ लिओस् । आफूलाई मात्र होइन, देश र नागरिकलाई पनि जिताउने मार्गचित्र आओस् । भोलि भण्डारी आउन् वा ओली नै रहुन्, तर एमाले अझै बलियो, पत्यारिलो, लोकप्रिय र विश्वासिलो दल बनोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण