बागमतीका सांसदको गुनासो : जनताका मुद्दा संसद्मा उठेपनि सरकारले सुन्दैन
सारांश
- बागमती प्रदेशका सांसदहरूले सरकारले संसदमा उठाएका विषयहरूमा चासो नदिएको गुनासो गरे।
- सांसदहरूले जनताका मुद्दा सदन र समितिमा उठाए पनि सरकारले कार्यान्वयन नगरेकोमा असन्तुष्टि व्यक्त गरे।
- प्रदेशसभा सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै, साना समस्या समाधान गर्दै दीर्घकालीन समस्या समाधान गर्नुपर्ने बताए।
मकवानपुर । बागमती प्रदेशसभाका सांसदहरुले संसद्मा उठेका विषयहरू सरकारले वेवास्ता गर्ने गरेको गुनासो पोखेका छन् । सांसदहरूले संसद्मा राखेका नागरिकका मुद्धाहरुलाई सरकारले चासो नदिएको बताएका हुन् ।
आइतबार हेटौँडामा आयोजित एक कार्यक्रममा प्रदेशसभा सदस्यहरूले नै जनताका मुद्दा सदन र समितिमा पटक–पटक उठाए पनि प्रदेश सरकारले कार्यान्वयनमा चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
सरकारसम्म नागरिकका माग र समस्या पुग्ने अपेक्षा राखेर संसद्को बैठकमा विषय उठाएपनि सरकारले सम्बोधन गर्न नचाहेको भन्दै सांसदहरूले सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले सरकारले आवश्यकताभन्दा पनि पहुँचका आधारमा काम गरेको बताए ।
आफूहरूले सदनमा उठाएका विषयलाई सरकारले कार्यान्वयन नगरेको उनले बताए । संसद्को शून्य समय, विशेष समयमा बोल्ने क्रममा नागरिकका समस्याहरू उठाएपनि कार्यान्वयन तह भने कमजोर रहेको उनको भनाई छ ।
देशमा विद्यमान समस्याहरूको समाधानका लागि गम्भीर र तथ्यमा आधारित छलफल आवश्यक रहेको उनले औँल्याए ।उनका अनुसार यस्तो प्रवृत्ति केवल राजनीतिक दलहरूमा सीमित नरही जनप्रतिनिधि, सरकारी निकाय र अन्य सङ्घसंस्थामा पनि व्याप्त छ । त्यसैले अब सोच्ने तरिका र काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको उनको भनाई छ ।
साना–साना समस्या समाधान गर्दै जान सके मात्रै दीर्घकालीन र ठुला समस्याहरूको समाधान सम्भव हुने उनले बताए । ठुला कुरा गरेर मात्र नहुने, व्यवहारिक काममा सक्रियता आवश्यक रहेको उनले बताए ।
‘जनताले अपेक्षा गरेअनुसार काम गर्न सकेका छैनौँ । हामीले सदनमा नागरिकका समस्या उठाउँछौँ । तर सरकार कार्यान्वयन गर्दैन ।’ उनले भने, ‘स्थानीय तह र प्रदेशमा ‘ओभर स्टाफिङ’को समस्या रहेको र केही शक्तिशाली घरानाले सत्तालाई नै उलटफेर गर्न सक्ने खतरा छ । राजनीतिमा कन्भिन्स गर कि कन्फ्युज पार भन्ने भनाइ प्रचलित छ । सत्य कुरा बुझाउन कठिन हुन्छ, तर भ्रममा पार्दा नागरिकहरू तुरुन्तै सन्तुष्ट देखिन्छन् । जबसम्म सही तथ्य पत्ता लाग्दैन, मानिसहरू अलमलमा परिरहन्छन् ।’
प्रदेशसभा सदस्य भारती पाठकले जनताका सरोकारका विषय उठाउन आफूहरूले कन्जुस्याइँ नगरेको तर सोचेजति काम हुन नसकेको बताइन् । कानुन बन्नु मात्र ठुलो कुरा नभएको भन्दै बनेका कानुनहरू जनमुखी भयो कि भएन भन्ने महत्त्वपूर्ण भएको बताइन् ।
अर्की प्रदेशसभा सदस्य धनेश्वरी प्रजापतिले पार्टीभित्रको गुटबन्दी र सरकार फेरबदलको खेलले प्रदेश सरकारप्रति जनताको विश्वास गुम्दै गएको बताइन् । सरकार आफ्नो कार्यकर्ता व्यवस्थापन र अनुदान वितरणमा मात्र केन्द्रित रहेको उनले बताइन् ।
‘हजारौँ नेपालीको बलिदानबाट आएको गणतन्त्रको जग आज हल्लिरहेको छ । आफ्ना मान्छेलाई जागिर खुवाउने र अनुदान बाँड्ने प्रवृत्ति मौलाएको छ । समानुपातिक सांसद भएकाले बजेट कम दिने गरिएको छ । जताततै बिचौलियाको राज छ । जनताका प्रश्नमा सरकारले चित्तबुझ्दो जवाफसमेत दिन सकेको छैन । यो तितो यथार्थ हामी माझ छ ।’ उनले भनिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले प्रदेश स्थापनाको ८ वर्षसम्म पनि स्थायी संरचना बन्न नसक्दा नागरिकले सास्ती पाएको बताए । उनले स्थायी संरचना निर्माण गरेर नागरिकहरूको हक अधिकारको सुनिश्चितता तथा विकास निर्माणको कामलाई गति दिनुपर्ने बताए ।
गैरसरकारी संस्था महासङ्घ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले सरकारले गैरसरकारी संस्थाहरूलाई उपेक्षा गर्ने गरी कानुन बनाएको आरोप लगाइन् भने राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष गणेशचन्द्र दवाडीले सरकारले आफ्ना समस्या नसुनेको गुनासो गरे ।
कार्यक्रममा अधिकारकर्मी, नागरिक समाज, गैरसरकारी संस्था, सामुदायिक वन, टोल विकास संस्था र सञ्चारकर्मीहरूले एचआईभी सङ्क्रमितका समस्या, सरकारी अस्पतालमा रेबिजको सुईको अभाव जस्ता विषयहरू उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण