मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सङ्घीयताको आवधिक समीक्षा गर्ने बेला भयो: उपमहासचिव पुन

बुधबार, १८ भदौ २०८२, ०७ : १६
बुधबार, १८ भदौ २०८२

सारांश

  • माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संघीयता नेपालको राष्ट्रिय आवश्यकता रहेको बताए।
  • उनले तीन तहको सरकारमार्फत जनताको सार्वभौम अधिकार बाँडफाँट गरिएको बताए।
  • संघीयताको सफल कार्यान्वयनका लागि कानुनी आधार, स्पष्ट जिम्मेवारी, समन्वय र वित्तीय स्रोतको व्यवस्थापन आवश्यक रहेको पुनले जोड दिए।

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले सङ्घीयता नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका छन् ।

गृहजिल्ला रोल्पास्थित संघ तथा प्रदेशअन्तर्गतका सरकारी कार्यालयहरूबाट गत आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा मंगलबार पुनले सङ्घीयता तीन तहका सरकारमार्फत जनताका सार्वभौम अधिकार बाँडफाँट गरिएको बताए । ‘तीन तहको सङ्घीय संरचना संविधानले स्वीकार गरिसकेको छ । सार्वभौम सत्ता जनताको हुन्छ । देशका मालिक जनता हुन् । जनताले शासन गर्ने भन्ने कुरा स्वीकार गरेका छौँ’, पुनले भने,  ‘लोकतान्त्रिक व्यवस्था तीन तहमा जनताका सार्वभौम अधिकारहरू बाँडफाँड गरेका छौँ ।’

उनले नेपालमा अवलम्बन गरिएको सङ्घीयता सहकार्यमा आधारित भएको चर्चा गर्दै तीनै तहबिच सहकार्य, समन्वय र स्पष्ट कार्यविभाजन आवश्यक रहेको उल्लेख गरे । संविधानमा व्यवस्था भएअनुसार सङ्घीय अभ्यासहरूको आवधिक समीक्षा गर्ने बेला भएको उनले बताए । 

संघ, प्रदेश र स्थानीय सरकारका कार्यक्षेत्रबारे थप स्पष्टता आवश्यक रहेको धारणा राख्दै उनले संघले स्थानीय तहको अधिकार क्षेत्रमा सशर्त कार्यक्रम चलाउनु संविधानको मर्म विपरीत हुने स्पष्ट गरे । 

सङ्घीयताको सफल कार्यान्वयनका लागि कानुनी आधार, स्पष्ट जिम्मेवारी, समन्वय र वित्तीय स्रोतको व्यवस्थापनमा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । संघले नीति निर्माण, प्रदेशले विकास एजेन्सी र स्थानीय तहले सेवा प्रवाहको काम गर्ने कल्पना संविधानले गरेको भए पनि कार्यान्वयनमा त्रुटि रहेकाले सच्याउनुपर्ने उनको भनाइ थियो । 

पुनले संघीयतामा संघसँग प्रदेश र स्थानीय तहले माग गर्ने विषय मात्र नभई संवैधानिक व्यवस्थाहरूको कार्यान्वयनमार्फत कसरी दिगो र प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सबैले सोच्नुपर्ने औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप