शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : अबेर कुकरमा सिट्ठी नलगाउन आग्रहदेखि एमालेमा फरक मतको स्वागतसम्म

बिहीबार, १९ भदौ २०८२, २२ : ००
बिहीबार, १९ भदौ २०८२

सारांश

  • सरकारले नेपालको कानुन नमान्ने सामाजिक सञ्जाल बन्द गर्न प्राधिकरणलाई पत्राचार गरेको छ।
  • एमालेको विधान महाधिवेशनमा कर्ण थापाको फरक मत पेश हुने भएको छ भने प्रचण्डले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग एकता हुने बताए।
  • नवनियुक्त आईजीपी खापुङले सकेको राम्रो गर्ने प्रतिबद्धता जनाएका छन्, र फिल्म 'कोसेढुंगा' ले सेन्सर बोर्डको निर्देशन पालना नगरेको विषय उठेको छ।

काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा सधैँझैँ बिहीबार पनि १० बजे १० समाचार लिएर हाजिर भएका छौँ–

१. सामाजिक सञ्जालमाथि एक्सन

नेपालको कानुनलाई चुनौती दिने सामाजिक सञ्जालमाथि सरकारले एक्सन लिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकसहितका २६ सामाजिक सञ्जाल बन्द गर्ने व्यवस्था मिलाउन बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको हो। 

यो पत्राचारसँगै तोकिएका सामाजिक सञ्जाल बन्द गर्ने आवश्यक प्रक्रिया अघि बढेको छ  । तर, यो निर्णयको आलोचना समेत भएको छ ।

२. एमालेमा फरक मतको स्वागत

नेकपा एमालेको शुकबारबाट सुरु हुने विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस हुने भएको छ ।

शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको सांगठानिक प्रस्तावसहित थापाले दर्ता गरेको फरकमतबारे पनि विधान महाधिवेशनमा पेस भएर छलफल गर्ने निर्णय भएको बताए ।

 

३. प्रधानमन्त्रीको चीन भ्रमण

चीनको पाँच दिने भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्वदेश फर्किएसँगै भ्रमणको सफलता वा असफलताबारे बहस भइरहेको छ ।

कतिपयले प्रधानमन्त्री ओलीको चीन भ्रमण प्रचारमुखी भएको टिप्पणी गरिरहेका छन् भने कसैले राष्ट्र र राष्ट्रियताका विषयमा भ्रमण उपलब्धिमूलक रहेको भन्दै प्रशंसा गरेका छन् ।

४. खतिवडा निर्विरोध

संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिमा रामहरि खतिवडा निर्विरोध भएका छन् । सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको बिहीबार २ बजेदेखि ४ बजेसम्मको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो । 

५. प्रचण्डको भनाइ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पार्टीसँग एकता हुने बताएका छन् । बिहीबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले पार्टीको नेकपा एकीकृत समाजवादी र नेकपासँग एकता हुने बताएका हुन् ।

 

६. प्रतिनिधिसभा बैठक

राष्ट्रपति रामचन्द्र पौडेलले सन्देशसहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक) माथि सदनमा पुनर्विचार गरियोस् भने प्रस्ताव बिहीबारको प्रतिनिधिसभामा पेस भएन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रस्तुत गर्ने गरी राखेको कार्यसूची अन्तिम समयमा सभामुख देवराज घिमिरेले अन्तिममा हटाएका हुन् ।

७. उपनिर्वाचन

प्रतिनिधि सभा अन्तर्गत रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनका लागि ठुला दलले उम्मेदवार घोषणा गर्न बाँकी नै छ । यद्यपि केही साना दलले आफ्नो उम्मेदवार घोषणा गरिसकेका छन् । स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्नेहरू र साना दलबाट घोषित उम्मेदवार यतिबेला आफ्नै ढंगले निर्वाचन क्षेत्रमा क्रियाशील भइरहेका छन् ।

८. नयाँ आईजीपी

नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेको राम्रो गर्ने बताएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित दज्र्यानी चिह्न सुशोभन समारोहमा आईजीपी खापुङले भने, ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन ।’

९. प्रहरीको सूचना

नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरु गरेको  अभियानका अनुसार अनावश्यक आवाज उत्पन्न गर्ने गतिविधिमा रोक लगाइने छ।

विशेषगरी, रात्रिकालिन समयमा लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा, जुस पसललगायतका सामग्रीहरूको ठुलो आवाज ननिकाल्न आग्रह गरिएको छ ।

बिहान ५ देखि ७ बजेसम्म अनावश्यक ठुलो आवाजमा कुराकानी गर्ने र मोटरसाइकल वा अन्य सवारी साधनको ठुलो हर्न बजाउने कार्य नगर्न प्रहरीले अनुरोध गरेको छ ।

राति अबेर कुकरमा सिट्ठी नलगाउन र शौचालय फ्लश गर्दा ठुलो आवाज आउन नदिन पनि प्रहरीले अनुरोध गरेको छ ।

१०. कोशेढुंगाको कुरा

हाल प्रदर्शनरत फिल्म ‘कोसेढुंगा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को निर्देशन पालना नगरेको विषय बाहिरिएको छ । यस्तो विषय बाहिरिएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै यस सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पेस गर्न पत्राचार गरेको छ ।

यो पनि...

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप