बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आगामी महिना दक्षिण कोरिया जाने तयारीमा छन् ट्रम्प

आइतबार, २२ भदौ २०८२, १२ : ५९
आइतबार, २२ भदौ २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी महिना दक्षिण कोरियाको भ्रमणमा जाने सम्भावना छ।
  • भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ताको सम्भावना रहेको छ।
  • ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनसँग पनि भेट गर्न सक्ने चर्चा छ।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी महिना दक्षिण कोरियाको भ्रमणमा जाने देखिएको छ । दक्षिण कोरियामा हुने एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनमा भाग लिन ट्रम्प त्यसतर्फ जान सक्ने भन्दै सीएनएनले समाचार छापेको छ । 

यस भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्न सक्ने दाबी पनि मिडिया रिपोर्टमा आइरहेका छन् । तर ह्वाइट हाउसले अहिलेसम्म यसको आधिकारिक घोषणा गरेको छैन । 

सीएनएनले शनिबार ट्रम्प प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । ट्रम्प र उनका शीर्ष सल्लाहकारहरूले एसिया–प्रशान्त आर्थिक सहयोगका व्यापार मन्त्रीहरूको बैठकको लागि तयारी गरिरहेको समाचारमा भनिएको छ । 

अक्टोबरको अन्त्य र नोभेम्बरको सुरुमा ग्योङजुमा हुने एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनलाई ट्रम्प र सीबीचको बैठकको लागि महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।

शिखर सम्मेलनको क्रममा ट्रम्प र सिबीचको द्विपक्षीय बैठकको बारेमा गम्भीर छलफल भइरहेको छ, तर अहिलेसम्म कुनै ठोस योजना नबनाइएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा बताइएको छ । 

मिडिया रिपोर्टका अनुसार, गत महिना सी र ट्रम्पबीच फोन वार्ता भएको थियो, जसमा सिले ट्रम्पलाई आफ्नी श्रीमतीसहित चीन भ्रमण गर्न निम्तो दिएका थिए । ट्रम्पले पनि यसमा सहमति जनाएका थिए ।

तर भ्रमणको कुनै मिति तय गरिएको थिएन । ट्रम्पले दक्षिण कोरियामा उत्तर कोरियाली शासक किम जोङ उनसँग पनि भेट्न सक्ने पनि खबर आएको छ । तर, किम एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनमा भाग लिन्छन् कि लिँदैनन् भन्ने कुरा अझै निश्चित भने भएको छैन । 

गत हप्ता ह्वाइट हाउसको भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले  ट्रम्पलाई एपेक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरेका थिए । सी र किम दुवैसँगको सम्बन्ध तनावपूर्ण रहेको समयमा ट्रम्प दक्षिण कोरिया जाने चर्चा चलिरहेको छ । 

यस महिनाको सुरुमा तियानजिनमा भएको सांघाई सहयोग संगठन शिखर सम्मेलनलाई लिएर वाशिंगटनमा हंगामा भएको थियो । यहाँ  सीले उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए ।

यी बैठकहरूको आलोचना गर्दै ट्रम्पले सीमाथि अमेरिकाविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप