शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
Live Updates : जेनजीको आक्रोश, ठाउँठाउँमा आगजनी र तोडफोड
Live Updates

LIVE UPDATES : Live Updates : जेनजीको आक्रोश, ठाउँठाउँमा आगजनी र तोडफोड

मङ्गलबार, २४ भदौ २०८२, ११ : २५
Live

सारांश

  • काठमाडौं र बाहिर गरी १९ जनाको मृत्यु भएपछि सरकारको आलोचना भएको छ।
  • प्रधानमन्त्री ओलीको राजीनामा र दोषीमाथि कारबाहीको माग गरिएको छ।
  • गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्, र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइयो।

काठमाडौँ । सोमबारको जेजजी प्रदर्शनमा काठमाडौँ र काठमाडौँबाहिर गरी १९ जनाको मृत्यु भएपछि सरकारको चौतर्फी आलोचना भएको छ । संयमता गुमाउँदै सरकार दमनमा उत्रिएको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा र दोषीमाथि कारबाहीको तीव्र माग भएको छ ।

यही घटनामा गृहमन्त्री रमेश लेखकको राजीनामा आएको छ भने आन्दोलन मत्थर पार्ने प्रयासस्वरुप सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध पनि हटाइएको छ । 

भ्रष्टाचार र बेथितिको विरोधका साथै सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेनजीहरु सडकमा आएका हुन् । 

अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ ।

महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ ।

महासङ्घले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासङ्घले नेपाल सरकारसँग उनीहरूको उपचारको व्यवस्था मिलाउन माग गरेको छ । साथै महासङ्घका सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरुलाई घाइतेहरूको उपचारका लागि सक्दो सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

भरतपुर महानगरपालिकामा कर्फ्यु आदेश जारी

चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार १२ बजेदेखि लागु हुने गरी भरतपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी आदेशअनुसार, अर्को सूचना नआएसम्म भरतपुरका तोकिएका क्षेत्रमा मानिसहरूलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

कर्फ्यु लागेका क्षेत्रहरू निम्न अनुसार छन्:

कांग्रेस पार्टी कार्यालयमा आगजनी

काठमाडौँ । नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी सुरु गरेका छन् । बल्खुबाट अघि बढेको भीडले आगजनी गरेको हो । बल्खु क्षेत्रमा अहिले चर्को आन्दोलन भइरहेको रातोपाटीकर्मीहरुले बताएका छन् । 

congress office todfod (1)congress office todfod (2)congress office todfod (3)congress office todfod (4)congress office todfod (5)congress office todfod (6)

congress party office (1)congress party office (2)congress party office (3)congress party office (4)congress party office (5)congress party office (6)congress party office (7)

कीर्तिपुर नगरपालिकामा आगजनी

काठमाडौँ । प्रदर्शनकारीले कीर्तिपुर नगरपालिका भवनमा आगजनी गरेका छन् ।

मंगलबार आक्रोशित प्रदर्शनकारीले कीर्तिपुरस्थित नगरपालिकाको भवनमा आगजनी गरेका हुन् ।

कर्फ्यु आदेशपछि कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सरकारको दमनविरुद्ध आमनागरिक स्वतस्फूर्त सडकमा आएपछि जारी गरिएको कर्फ्युका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । मंगलबार बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठक स्थगित भएको हो ।

बल्खुमा सेना परिचालन

बिर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी

झापा । झापाको बिर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीहरूले आगजनी गरेका छन् । मंगलबार बिहान प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगो लगाएका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोख्रेलले आगजनीको सूचना पाउनासाथ प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । आन्दोलनकारीले सोमबार मात्रै सोही कार्यालयमा तोडफोड गरेका थिए ।

देशभर चर्किएको ‘जेन–जी’आन्दोलनका क्रममा प्रदर्शनकारीले विभिन्न स्थानमा प्रदर्शन र तोडफोड गरिरहेका छन् । झपाको दमक र बिर्तामोडमा सोमबार रातिदेखि नै तनावपूर्ण स्थिति रहेको र कर्फ्युसमेत लगाइएको थियो । प्रदर्शनकारीले दमक नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनमा पनि आगजनी गरेका थिए ।

बानेश्वरको सिभिल अस्पताल अगाडी प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवन र सिभिल अस्पताल अगाडि बिहानैबाट प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले सरकारी दमनको विरोध गर्दै नारावाजीसहित प्रदर्शन गरेका हुन् ।

542915804_1119406389622882_9023522156815707661_n

जेएनजीहरुले सोमबार गरेको प्रदर्शनमा प्रहरी दमनका क्रममा १७ जनाको ज्यान गएको थियो । प्रदर्शनस्थलमा सुरक्षाकर्मीको उपस्थिति भएपनि उनीहरुलाई रोक्न सकस परिरहेको छ ।

गोङ्गबु, सामाखुसी बसुन्धरा क्षेत्र तनावग्रस्त, तस्बिरहरू

काठमाडौँ । भदौ २३ गतेको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि त्यसको विरोधमा आज बिहानैदेखि काठमाडौँका विभिन्न ठाउँमा प्रदर्शन सुरु भएको छ । सरकारले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाए पनि त्यसको बेवास्ता गर्दै मानिसहरू सडकमा उत्रिएका हुन्।

नयाँ बानेश्वर, जोरपाटी, कलङ्की, बालाजु, बसुन्धरा, गोङ्गबु र सामाखुसी क्षेत्रमा मानिसहरूले स्वतःस्फूर्त रूपमा विरोध प्रदर्शन गरिरहेका छन्।

विशेष गरी गोङ्गबु, सामाखुसी र बसुन्धरा क्षेत्रमा युवाहरूको बाक्लो उपस्थिति रहेको छ। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच विभिन्न स्थानमा झडप भएको छ।

सर्वोच्च अदालतका नियमित पेसी स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले मंगलबारका लागि नियमित पेसी तोकिएका मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।

प्रशासन शाखाबाट मंगलबार विज्ञप्ति जारी गर्दै आजका लागि नियमित पेसी तोकिएका मुद्दाको सुनुवाइ स्थगित भएको जनाइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी भएको कर्फ्यु आदेशका कारण आवागमनमा भएको अवरोधको विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ । 

देश जलिसक्दा गृह मन्त्रालय मौन

काठमाडौँ । जेनजी पुस्ताले सोमबार गरेको आन्दोलनमा प्रहरीले दमन गर्दा काठमाडौँमा १७ र सुनसरीमा दुई जनाको मृत्यु भयो । घाइते भएका सयौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

मंगलबार बिहानैबाट सोमबार भएको नरसंहारविरुद्ध देशका विभिन्न स्थानमा आन्दोलन गरिरहेका छन् । तर, आम नागरिक र देशको शान्ति सुरुक्षाको नेतृत्व गर्ने गृह मन्त्रालय भने चुपचाप छ । 

अहिलेसम्म गृह मन्त्रालयका तर्फबाट न आन्दोलनबारे आधिकारिक विज्ञप्ति जारी भएको छ न त अहिलेसम्म हताहती भएको संख्या र घाइतेको विवरण सार्वजनिक भएको छ ।

युवाहरूको आक्रोशको निशानामा नेताका निवास

काठमाडौँ । दोस्रो दिनको प्रदर्शनमा उत्रिएका युवाहरूले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित प्रदर्शन थालेका छन् । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासनले बिहानैदेखि कर्फ्यु आदेश जारी गरे पनि युवाहरूले कर्फ्युको अवज्ञा गर्दै ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् । 

प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास घेराउ तोडफोड र आगजनी प्रयास गरेका छन् भने सूचना तथा संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको निजी निवास आगजनी र तोडफोड गरेका छन् । 

यस्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास नजिकै बालकोट चोकमा पनि प्रदर्शन भइरहेको छ । उता कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ आसपासमा पनि प्रदर्शन भइरहेका छन् । 

बल्खुमा एकीकृत हुँदै आन्दोलनकारी

निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा तोडफोड

काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । नैकाप स्थित लेखकको घरमा तोडफोड र आगजनी प्रयास भएको प्रदर्शनस्थलमा रहेका पत्रकार रोशन दानीले रातोपाटीलाई बताए ।

 उनले भने, ‘अहिले प्रदर्शनकारीहरूले घरमा तोडफोड गरिरहेका छन् ।’ काठमाडौँको नयाँ बानेश्वर र इटहरीमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि लेखकले सोमबार राजीनामा दिएका थिए । 

प्रदर्शनमा घाइते भएकालाई विराट मेडिकलले नि:शुल्क उपचार गर्ने

विराटनगर । मोरङको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले हालै जेनजीको प्रदर्शनका क्रममा घाइते भएका सबैको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।

अस्पतालले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइते भएका सबै व्यक्तिहरूको उपचार निःशुल्क गर्ने जनाएको हो। साथै, आवश्यक परेका ठाउँमा एम्बुलेन्स सेवालाई पनि थप प्रभावकारी रूपमा उपलब्ध गराउने बताइएको छ।

विज्ञप्तिमा, अस्पतालको आपतकालीन चिकित्सा टोली (ERT) र अन्य आपतकालीन सुविधा जुनसुकै चुनौतीको सामना गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख छ। आपतकालीन अवस्थामा ९७६१००२५३७, ९७६१००२५३२, ०२१-४२२६०१, र ४२३१८२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ।

कर्फ्युका बिच टेकुदेखि कलंकीसम्मै प्रदर्शन, बल्खुको पुलिस बिट तोडफोड

काठमाडौँ । कर्फ्युका बिच जेनजीहरुले काठमाडौँको भित्री क्षेत्रमा पर्ने टेकु, कुलेश्वर, कालीमाटी क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागसहित सोमबार राज्य पक्षबाट भएको हत्यामा संलग्नमाथि कारबाहीको माग गरेका छन् । 

प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् भने राजधानीको बल्खुस्थित प्रहरी बिटमा तोडफोड भएको छ । बल्खु र कालीमाटी क्षेत्रमा व्यापक प्रदर्शन भइरहेको रातोपाटीकर्मीहरुले बताएका छन् । 

विराटनगर महानगरले दियो शोक बिदा

विराटनगर । ‘जेन–जी’ समूहको प्रदर्शनमा ज्यान गुमाएका युवाको शोकमा विराटनगर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

अत्यावश्यक सेवाबाहेक विराटनगर महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको महानगरले जनाएको छ । भ्रष्टाचार अन्त्य, बन्द गरिएका सामाजिक सञ्जाल पुनः सञ्चालन, अभिव्यक्ति तथा प्रकाशन स्वतन्त्रताको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका ‘जेन–जी’ पुस्ताका युवामाथि भएको दमनका कारण १९ होनहार विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति स्तब्ध र मर्माहत बनेको मेयर नागेश कोइरालाद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

महानगरले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचारमा तत्काल ध्यान दिन पनि सरकारसँग अपिल गरेको छ ।

विराटनगरमा पनि कर्फ्यु आदेश जारी

विराटनगर । सोमबार सरकारले गरेको युवाहरूको नरसंहारको विरोधमा मंगलबार बिहानैदेखि जताततै प्रदर्शन हुन थालेपछि विराटनगरमा पनि कर्फ्यु आदेश जारी भएको छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मंगलबार बिहान ११ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।

जिल्लामा विभिन्न समूह र पक्षबाट आ–आफ्ना माग राखी विराटनगर महानगर लगायत जिल्लाका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ। त्यस्ता गतिविधि अप्रिय घटना हुने आशङ्का रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको हो ।

काठमाडौँ महानगरपालिकाद्वारा जेनजीको आन्दोलनमा घाइतेको उपचार र व्यवस्थापन सम्हाल्दै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण अस्पतालमा उपचार, खाना तथा अन्य आवश्यक व्यवस्था मिलाइ रहेको छ। यसका लागि महानगरले व्यवस्थापन टोली, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरिरहेको छ।

महानगरपालिकाले जारी गरेको सूचना अनुसार, विशेषगरी सिभिल अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल,  टिचिङ अस्पताल र केएमसी सिनामंगलमा महानगरको व्यवस्थापन टोली, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी खटिएका छन् । यसका साथै, अन्य स्थानमा सहजीकरणका लागि एक सेन्ट्रल टोली पनि परिचालन गरिएको छ ।

महानगरपालिकाले आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, रगत तथा अन्य लजिस्टिक सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई आह्वान गरेको छ। इच्छुक दाताहरूले निम्न लिङ्कमा रहेको फारम भर्न सक्ने जनाएको छ ।

विपक्षी दलहरूको बैठक रास्वपाले बहिस्कार गरेको हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सहभागी भएन ।

 जेनजी पुस्ताले सोमबार गरेको आन्दोलन हिंसात्मक भएपछि प्रचण्डले बिहान ९ बजे सिंहदरबारमा विपक्षी दलहरूको बैठक बोलाएका थिए । प्रचण्डले बोलाएको हरेक बैठकमा सहभागी हुँदै आएको रास्वपा आजको बैठकमा सहभागी नभएको हो । 

 नेकपा एकीकृत समाजवादी उपमहासचिव मेटमणि चौधरीले रास्वपा सहभागी नभएको बताए । तर रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बहिस्कार गरेको नभई आन्तरिक व्यस्तताका कारण सहभागी नभएको जिकिर गरे । 

सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ बढ्यो, २ लाख १५ हजार नजिक पुग्यो

काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा २ लाख १५ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य ३ हजार १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ पुगेको हो । 

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ४७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको हो । 

हेटौँडा उपमहानगरकी मेयर लामाको राजीनामा माग गर्दै जेनजीको प्रदर्शन

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको राजीनामा माग गर्दै जेन्जी समूहले प्रदर्शन गरेको छ । मेयर लामाको अभिव्यक्ति प्रति असन्तुष्टि व्यक्त गर्दै जेन जी पुस्ताले राजीनामा माग गरेको हाे । मेयर लामाले सोमबार तराई मधेसका विद्यार्थीलाई विभेदपूर्ण अभिव्यक्ति दिएकी थिइन् ।

आक्रोशित युवाहरूले मकवानपुर बहुमुखी क्याम्पस प्राङ्गणमा रहेको स्ववियु र दलका भातृ सङ्गठनका बोर्डहरू समेत तोडफोड गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेका छन् । 

सरकार विरुद्ध नाराबाजीसहित मुख्य नेताहरूको घर घेर्न प्रदर्शनकारी नगर परिक्रमा गरिरहेका छन् । प्रदर्शनकारीहरूलाई सर्वसाधारणले समेत समर्थन रहेको छ ।

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ । जेनजी पुस्ताले सोमबार काठमाडौँ लगायत देशभर गरेको प्रदर्शन हिंसात्मक भएपछि आगामी योजना बनाउन बैठक बोलाएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । 

जेनजी पुस्ताले स्वतःस्फूर्त गरेको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहने तर अहिले नै सडकमा गएर नेतृत्व लिने पक्षमा नरहेको उनले बताए । 

‘भ्रष्टाचार र बेथिति विरुद्ध जेनजी युवाहरूको स्वतःस्फूर्त आन्दोलन हो । यस आन्दोलनमा हाम्रो ऐक्यबद्धता रहन्छ । राजनीति पार्टी भएकाले हामी अहिले नै नेतृत्व गर्ने पक्षमा छैनौँ । आगामी दिनमा कसरी जाने भन्ने विषयमा हामी छलफल गर्छौँ’, उनले भने । 

त्रिवि शिक्षणमा उपचाररत युवामध्ये दुईको अवस्था गम्भीर

काठमाडौँ । जेनजी युवाहरूले गरेको आन्दोलनका क्रममा घाइते भएकामध्ये २५ जना त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

जसमध्ये दुई जना अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्याराले बताए । घाइते भएका मध्ये ६ जनालाई शल्यक्रिया गर्ने तयारी गरिरहेको उनको भनाइ छ । 

जसमा एक जनालाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरिएको छ । 

उपत्यकाको  सुरक्षा व्यवस्थालाई कडा

काठमाडौँ । काठमाडौँ उपत्यकाको  सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको जानकारी दिए ।

जिल्ला सुरक्षा समितिमार्फत समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई भनिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।  जेनजी पुस्ताको सोमबार भएको प्रदर्शनमा झडप समेत थियो ।  उपत्यकाका तीनै जिल्ल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिसकिएको छ । 

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले काठमाडौँलगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरे । उनले यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउन र शान्ति कायम गर्न आग्रह पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया