शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रिय जेन–जी ! हामीलाई माफ, आफूलाई मनन गर्नुस्

आइतबार, २९ भदौ २०८२, १३ : ०८
आइतबार, २९ भदौ २०८२

प्रिय जेन–जी, तपाईं उमेर समूहका आधारमा यो देशको सबैभन्दा ठुलो हिस्सा हो । लगभग २९ प्रतिशत साझेदारी छ, सम्पूर्ण जनसङ्ख्यामा । ठुलो सङ्ख्याले ठुलै आँट देखाउनुभयो, ठुलै परिवर्तन ल्याउनुभयो । सलाम छ, यतिको वहाबी आन्दोलन मैले देखेको त के, इतिहासमा सायदै पढेको थिएँ । तपाईंंहरूको त्यो अदम्य साहसको सबैले जयजयकार गरेकै छन् । धेरै सकारात्मक परिणाम आउने अपेक्षा र उत्साह पनि छ । अन्तरिम सरकारको गठन, संसद् विघटन र नयाँ निर्वाचनको घोषणासँगै नयाँ क्षितिजको आधार बनेको महसुस गर्न सकिन्छ । अनेकन् सकारात्मक परिणाममा रोमाञ्चित भएको अनुभव सँगाल्न हत्तारिँदै गर्दा कता–कता मनमा एउटा संशय बाँकी नै रहेको भान हुन्छ । 

जेन–जी, तपाईंहरूले अपेक्षित विजय प्राप्त गरिसक्नुभयो । केही दिनमा नयाँ र स्वर्णिम सुरुवातको पाइला देशले चाल्ने आशा गरेको छु । सपना सजाउने नयाँ आधार बनेको छ । आशैआशामा कतै देश बाह्य शक्तिको नियन्त्रणमा पुग्ने त होइन ? कहिलेकाहीँ आफैँसँग त्रसन्छु, तर सम्हालिन्छु— अहं हुँदैन, मेरो देशको सक्षम पुस्ताले यस्तो जोखिम हुने गरी कुनै कदम जानेर वा नजानेर चाल्दैन । त्यसैले ढुक्क पनि छु । 

दुई दिनसम्म चलेको जेन–जी आन्दोलनमा भएको धनजनको क्षतिको जिम्मेवार सरकार र उसको नालायकीपना नै हो । यो रोक्न सकिथ्यो, सरकारले बेलैमा बुद्घि पुर्‍याएको भए । लामो जीवनका अनेकन् सपना बोकेका र देशको समृद्घिका सबल आधार हुन सक्ने अबोध तर दत्तचित्त युवाले सहादत प्राप्त गर्नुपर्‍यो । राज्यले क्रूरतापूर्वक उनीहरूको हत्या गरेको छ । उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली र हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्छ । 

तपाईंको विराट् आँटले डोर्‍याउँदा एउटा नयाँ मोडमा देश पुगेपछि अन्तरिम सरकार गठन, संसद् विघटन, नयाँ निर्वाचन घोषणा भइसकेको छ । योसँगै संविधान संशोधन समेत आजको एउटा अपरिहार्य आवश्यकता हो । यसमा सबैको एक्यबद्घता पनि देखिन्छ । देशभित्रका सबैशक्ति र आम नागरिक समूहको परामर्श तथा संवादमार्पmत संविधान संशोधन गर्ने प्रक्रियामा अघि बढ्न सक्दा तपाईंहरूको आन्दोलन सार्थक हुने थियो ।

यतिखेर धेरै पक्ष तपाईंहरूको आन्दोलनलाई कमजोर बनाउन र बदनाम गराउन उद्यत् छन् । आम नागरिक चाहना, देशको स्वाधीनता, लोकतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र, संविधानवाद र संवैधानिक सर्वोच्चता, नागरिक सम्प्रभुता तथा सार्वभौमसत्ता जस्ता पक्षमा तपाईंहरूको नाम लिएर कसैले षड्यन्त्र गर्न सक्ने सम्भावनामा जहिल्यै सचेत रहनुपर्छ । 

यस आन्दोलनका क्रममा सार्वजनिक तथा केही निजी सम्पत्तिको विनाश हुनुमा निश्चय नै घुसपैठ भएको अनुमान गर्न सकिन्छ । के थाहा, भोलि कसैले नियतवश तपाईंहरूको नाम भजाएर गलत र राष्ट्र अहित हुने अथवा पहिचान मेटिने खालको मोडमा देशलाई लग्न खोज्छ कि ! त्यसप्रति पनि तपाईंहरु सजग रहनैपर्छ । 

तसर्थ यो आन्दोलन सफल भए पनि सकिएको छैन, तपाईंहरूले निरन्तर खबरदारी गरिरहनुपर्छ । देशमा संविधान बचाएर र संकटकाल लाग्न नदिईकन निकास निकाल्नुभएको छ । उक्त निर्णयहरू अन्तर्राष्ट्रिय रूपमा पनि स्वीकार्य भएको भनेर शुभकामना प्राप्त भइरहेका छन् । तपाईंको आन्दोलनमा राज्यले आत्मसमर्पण गरेको मात्र होइन कि व्यापक नागरिक चाहना (पब्लिक विल) पनि प्रकट भएकाले कहीँ कतै आवश्यकताको सिद्घान्त अनुसार निर्णय गर्न पनि पछि पर्नु हुँदैन । तपाईंको आन्दोलनले सरकार ढालेको छ, त्यसैले आन्दोलनका  हरेक एजेन्डालाई स्थापित गर्ने वैधानिक अधिकार आन्दोलनका नेतृत्वमा निहित रहन्छ । 

केही दिनमा नयाँ र स्वर्णिम सुरुवातको पाइला देशले चाल्ने आशा गरेको छु । सपना सजाउने नयाँ आधार बनेको छ । आशैआशामा कतै देश बाह्य शक्तिको नियन्त्रणमा पुग्ने त होइन ? कहिलेकाहीँ आफैँसँग त्रसन्छु, तर सम्हालिन्छु— अहं हुँदैन, मेरो देशको सक्षम पुस्ताले यस्तो जोखिम हुने गरी कुनै कदम जानेर वा नजानेर चाल्दैन । त्यसैले ढुक्क पनि छु ।


प्रिय जेन–जी, तपाईंहरूको तागतले हरेक पार्टी र तिनका शक्तिमा उन्माद बोक्ने नेतालाई राम्रो सबक सिकाइसकेको छ । तपाईंहरूमा कति शक्ति र सामर्थ्य छ भन्ने यिनले देखिसकेका छन् । तपाईंको अपेक्षा अनुसार शासन गर्न र नागरिकलाई खुसी राख्न सकिएन भने बीभत्स अन्त्य हुनुपर्छ भन्ने यिनले बुझिसकेका छन् । बारम्बार असफल प्रमाणित भएका दजनौँ व्यक्ति त अब सायद राजनीतिबाट संन्यास लिन्छन् होला । तपाईंहरूको अदम्य साहसको बतासले कसिङ्गरललाई झैँ उडाएका कैयौँ अनुहार त अब राष्ट्रिय राजनीतिमा देखा पर्दैनन् कि ! तपाईंहरूको तागत प्रमाणित भइसकेको छ । 

यदाकदा देश नियन्त्रणमा लिन दुई दिन नै काफी रहेछ, १०आँै वर्ष लगाएर पार्टीहरूले के आन्दोलन गरे होलान् भन्ने पनि व्यङ्ग्य सुनिँदै छ । वाह रे वाह, जेन–जी, कसैले गर्न नसकेको अदम्य साहस देखाउनुभयो भनेर प्रशंसाको वहार प्राप्त गरिरहनुभएकै छ । 

अब बाँकी अभिभारा पूरा गर्न र देशलाई नयाँ मार्गमा डोर्‍याउन खबरदारी गर्न कहिल्यै नछोड्नु होला । यो वा त्यो व्यक्तिले नेतृत्व लिनुपर्छ भनेर आफैँ विभाजित नहुनुहोस्, आफूहरूबिच समन्वय नभएको देखेमा अन्य शक्तिले कमजोर आकलन गर्छन् । यो वा त्यो गर भनेर धेरै उपाय पनि नसुझाउनुस् । अबको चुनौती हो— नयाँ निर्वाचन सम्पन्न, सुशासन वा भ्रष्टाचारको अन्त्य । 

अब नागरिकले दुःख नपाउन्, राज्य सदैव नागरिकमैत्री रहोस्, नभए फेरि यही दिन देख्नुपर्नेछ भनेर एउटा टाइम–लाइन दिनुस् । बरु अहिलेका सबै पार्टीबाट एक दर्जनका दरले युवा नेताहरूलाई पनि सार्वजनिक सञ्चारमाध्यममा उभ्याएर तपाईंहरुका एजेन्डामा सहीछाप गर्न लगाउनुस् र त्यसको प्रति आफूहरूले राख्नुस् । 

प्रत्यक्ष निर्वाचित कार्यकारी; राजनीतिमा उमेर, योग्यता र आवृत्तिको सीमाजस्ता दायरा राखेरै नयाँ निर्वाचनमा जान सहमत छौँ भनेर सही गराउनुस् । प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा राजनीतिक शुद्घता धेरै हदसम्म सम्भव हुन्छ । जेन–जी समूह लक्षित गरी पार्टी खोल्नुस्, यिनै दलविरुद्घ आउने चुनाव लड्नुस् । लाग्छ काम आफैँ बन्छ । व्यवस्था नै कमजोर हुन सक्ने जोखिम बोक्ने भुल र सौदाबाजी कृपया नगर्नुस् । 

संविधानलाई संशोधन गरेर अहिलेको व्यवस्थालाई अझै परिष्कृत र स्तरीकृत गर्ने हो । संविधान संशोधनको प्रस्ताव पनि तयार गर्नुस् । जेन–जी पुस्ताका तर्फबाट आफ्नो अपेक्षा र खोजेको परिणाम समेत राखेर स्पष्ट अल्टिमेटम दिनुस् । समाज र सरोकारवालासँग यथाशक्य र यथोचित् सुझाव लिएर अघि बढ्दा जेन–जीको योगदान स्वर्ण अक्षरमा लेखिनेछ । प्रिय जेन–जी ! प्रचार पर्याप्त भयो, सुरुवाती नतिजा पनि आए, अब परिपक्व परिणामको अभ्यास गर्न नचुक्नुस् । 

तपाईंहरूले सानदार आन्दोलन उठाउनुभयो, त्यसको बैठान गर्ने जुनसुकै उपाय अपनाउन तपाईंलाई सर्वाधिकार सुरक्षित छ । हामी र हाम्रो पुस्ताले यो आँट गर्न सकेन, माफी दिनुस्, तर मलाई मन छ, आज हामी तपाईंहरूको साहसमा जति पुलकित छौँ, त्यति नै पुलकित रहन पाउँ आगामी उपलब्धिमा पनि । कृपया कहीँ कतै अलिकति पनि भुल नगरिदिनुस् है । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल
लेखकबाट थप